close

रिचार्ज गरेकै दिन ५०० रुपैयाँ सक्नुपर्ने एनसेलको कस्तो अफर ? नियामक नै भन्छ लुट भयो

टेकपाना टेकपाना

चैत १३, २०७६ १८:४७

रिचार्ज गरेकै दिन ५०० रुपैयाँ सक्नुपर्ने एनसेलको कस्तो अफर ? नियामक नै भन्छ लुट भयो

काठमाडौं । मंगलबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई रिचार्ज बराबरै रकम बोनस दिन निर्देशन दियो । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण मुलुक नै लकडाउन भएको समयमा प्रयोगकर्ताको सहजताका लागि नियामकले सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको थियो ।

असहज परिस्थितिमा सहजता प्रदान गर्ने उद्देश्यका साथ दिइएको निर्देशनमा एनसेलले पनि अफर ल्यायो । संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत भन्दै कम्पनीले ल्याएको उक्त अफर भने सेवाग्राहीलाई निल्नु न ओकल्नु भएको छ ।

प्राधिकरणले निर्देशन दिएको भोलिपल्ट एनसेलले रिचार्जमा ५० प्रतिशतसम्म बोनस दिने योजना ल्यायो । जब कि नियामकले रिचार्ज बराबरकै बोनस दिन निर्देशन दिएको थियो ।

कम्पनीले प्राधिकरणको उक्त निर्देशन लत्याउँदै ५० प्रतिशत बोनस दिने निर्णय गर्‍यो । आधा मात्रै बोनस दिएर नियामकको निर्देशन उलंघन गरेको एनसेलले हजार रुपै‌ंया रिचार्ज गर्दा प्राप्त हुने पाँच सय बोनस १८ घण्टमै सक्नु पर्ने बताएको छ ।

कम्पनीले ल्याएको योजना अन्तर्गत उसका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सकिन्छ । प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिन्छ ।

जस्तै यो योजना अन्तर्गत यदि तपाईंले ५० रुपैंया रिचार्ज गर्नुभयो भने बोनस स्वरुप २५ रुपैयाँ पाउनुहुनेछ भने १००० रुपैंया रिचार्ज गर्दा ५०० रुपैयाँ । तर, त्यस्तो बोनस रकम भने सोही दिनको मध्य रातीसम्ममात्र मान्य हुने कम्पनीले जनाएको छ ।

यदि तपाईंले बिहान उठ्ने बित्तिकै अर्थात ६ बजे एक हजार रुपैयाँ रिचार्ज गर्नुभयो भने तपाईंसँग उक्त बोनस प्रयोग गर्ने समय १८ घण्टा मात्रै हुनेछ । तर यदि तपाईंले बेलुका ६ बजे मोबाइल रिचार्ज गर्नु भयो भने त झन् ६ घण्टामै पाँच सय रुपैयाँ सक्नुपर्नेछ ।

सेवाग्राहिको सहजतको लागि ल्याइएको यो अफर लुट सरह नै भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । उनले भने, ‘हामी एनसेल लगायत सेवा प्रदायकले ल्याएको अफरको विषयमा थप अध्ययन गर्ने तयारीमा छौं । यो विषयमा चाँडै कदम चाल्दैछौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६