close

कारखानाका शैक्षिक सामग्री अब अनलाइनमै निःशूल्क

टेकपाना टेकपाना

चैत १७, २०७६ १२:९

कारखानाका शैक्षिक सामग्री अब अनलाइनमै निःशूल्क

काठमाडौं । सम्पुर्ण विश्व नै कोरोनाभाइरसको महामारीको चपेटामा पर्दा नेपाल समेत लकडाउनबाट गुज्रिरहेको छ । आइतबार मात्रै सरकारले १८ गतेसम्मको लकडाउनको अवस्थालाई थप एक साता लम्ब्याएको छ ।

लकडाउनका कारण बृद्ध-बृद्धा, युवा, बालबालिका, सबै अहिले घरभीत्रै बस्न बाध्य छन् । जसले गर्दा बालबालिकाको पठनपाठन समेत ठप्प बनेको छ। यस्तो अवस्थामा बालबालिकाको पढाईलाई निरन्तरता दिने गरी कारखानाले घरबाटै अनलाइन मार्फत उपयोग गर्न मिल्ने स्रोत सामग्री तयार पारेको छ ।

जसमा भिडियो, लेख, अन्तरवार्ता, अभ्यास सामग्रीहरु रहेका छन् । बालबालिकाहरुको सिकाइ तथा विद्यालय व्यवस्थापन अनि शिक्षकहरुको सहयोगार्थ तयार पारिएको कारखानाले जनाएको छ ।

कारखानाका सीईओ पवित्रबहादुर गौतम भन्छन्, ‘हामीले थुप्रै विज्ञ, श्रोतहरुसंगको सहकार्यमा यी सिकाइ सामग्री जुटाएका छौँ । यो सबै अनलाइन तथा डिजिटल रुपमा नि:शुल्क पाइन्छ ।’ कारखानाका अनलाइन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस् ।

बालबालिकाहरुको सिकाईका अनुभवहरू डिजाइन गर्ने  मेकरस्पेसको रुपमा चिनिने कारखानाले हाल राजधानी काठमाडौं सहित पोखरा, विराटनगर, बुटवल, चितवन लगायत भारत, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा आफ्नो कार्यक्रम विस्तार गरिसकेको छ ।

कारखानाले प्रत्येक साता करीब ६ हजार विद्यार्थीहरूका लागि स्टीम अर्थात साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्टस तथा डिजाइन र म्याथम्याटिक्स कार्यक्रमहरू संचालन गरिरहेको छ ।

पढाई सामग्री (किट) को माध्यमबाट कारखानाले प्रयोगात्मक तथा रमाईलो गरी बालबालिकाहरुलाई पढाउने गर्दछ । स्थानीय स्तरमा नवपर्वर्तनको भावना जगाउने उद्देश्यले सुरु भएको कारखाना अहिले विश्वव्यापी प्रभाव पार्न सक्ने संस्थाको रुपमा उदाइरहेको छ ।

सन् २०१२ सालमा स्थापना भएको यो संस्थाले बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, अभ्यास गराउँदै पढ्न सिकाउने उद्देश्य लिएको छ । 

कोरोनाभाइरसको महामारीको समयमा अनलाइन सामग्रीहरु सबैको लागि नि:शूल्क उपलब्ध गराउने कारखानाको प्रयासमा प्याब्सन र एनप्याब्सनले समेत साथ दिएका छन् । कारखानाका सीईओ गौतम भन्छन्, ‘हामी चाहान्छौं कि घरमै  बस्नु परेको अवस्थामा पनि सिकाईका बाटोहरु तयार हुनुपर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१