close

वर्ल्डलिंकले बढायो २५% ब्याण्डविथ, इन्टरनेट स्लोको समस्या कम हुने

टेकपाना टेकपाना

चैत १९, २०७६ १९:३५

वर्ल्डलिंकले बढायो २५% ब्याण्डविथ, इन्टरनेट स्लोको समस्या कम हुने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सिस्टम अपग्रेड गर्दै ब्याण्डविथ समेत थप गरेको छ । कम्पनीले यसअघि खपत हुँदै आएकोमा २५ प्रतिशत ब्याण्डविथ थप गरेको हो ।

कम्पनीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन सुरु भएसँगै इन्टरनेटको ब्याण्डविथ खपत दिउँसोको समय नियमितभन्दा ५० प्रतिशतले बढेको छ । रातको समयमा समेत २५ प्रतिशतले इन्टरनेट खपत वृद्धि भएको छ ।

यस्तो अवस्थामा ग्राहकबाट इन्टरनेट स्लो हुने गुनासो बढेको थियो । थप गरिएको ब्याण्डविले आफ्ना ग्राहकको समस्या केही हदसम्म कम हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

‘लकडाउन सुरुभएसँग हामीसँग बाँकी रहेको १० प्रतिशत ब्याण्डविथ पनि खपत भइसकेको थियो,’ वर्ल्डलिंकले भनेको छ, ‘त्यति गर्दा पनि धान्न नसक्ने अवस्था सिर्जना भए पछि हामीले बुधबारदेखि २५ प्रतिशत ब्याण्डविथ थप गरेका छौं ।’

अब भने तत्काल ब्याण्डविथ थप गर्ने अवस्था नरहेको विषयमा समेत कम्पनीले स्पष्ट पारेको छ । ‘हालसम्म हामीले जहाँबाट ब्याण्डविथ ल्याइरहेका थियोँ, त्यहाँ यतिसम्मका लागि मात्रै सहज प्रक्रिया थियो,’ वर्ल्डलिंकले भनेको छ, ‘यदि यो भन्दा पनि बढी थप गर्न परेको अवस्थामा सीमा क्षेत्रबाटै काम गर्नु पर्ने हुन्छ । त्यो अहिलेको समयमा सम्भव छैन ।’

कम्पनीले नेटवर्क चुस्त राख्न अब अपग्रेडसँगै निष्पक्ष उपयोगको नीतिमा समेत कडाइ गरिने जनाएको छ । यसको अर्थ अनलिमिटेड इन्टरनेट सेवा दुरुपयोग गर्ने ग्राहकको लागि इन्टरनेट सुस्त हुनेछ भने स्वस्थ रुपमा प्रयोग गर्नेलाई भने केही सहजता मिल्नेछ ।

शेयर्ड ब्याण्डविथमा यदि कोही टोरेन्टबाट फिल्म डाउनलोड गरेको गर्यै गर्ने अनि कोही इन्टरनेट नै चलाउन नपाउने भन्ने हुँदैन । त्यसैसैले सबैलाई समानता प्रदान गर्न निष्पक्ष उपयोगको नितिलाई कडाइका साथ लागु गर्न खोजिएको हो । यसो गर्दा ५ प्रतिशत ग्राहकमा यसको प्रभाव पर्न जाने कम्पनीले जनाएको छ ।

सेवा प्रदायकले बेला बेला इन्टरनेट प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्न आग्रह गर्दै आएका छन् । अहिले थप भएको ब्याण्डविथले हालसम्मको परिस्थितीलाई थेग्न सक्ने वर्ल्डलिंकको अनुमान छ ।

अहिलेको भन्दा विषम परिस्थिती सिर्जनमा भएको खण्डमा सेवा प्रदायकले थेग्न सक्ने अवस्था नहुने भन्दै उसले इन्टरनेटको दुरुपयोग नगर्न पुनः आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१