close

फोर्ब्सको सूचीमा ५ जना नेपाली युवा उद्यमी

टेकपाना टेकपाना

चैत २०, २०७६ ९:५०

फोर्ब्सको सूचीमा ५ जना नेपाली युवा उद्यमी

काठमाडौं । नेपाली ६ जना युवा फोर्ब्स एसियाको ३० वर्ष मुनीको सूचीमा पर्न सफल भएका छन् । फूडमारियोका रोहित तिवारी, प्याड टु गोका सुभांगी राणा तथा जेसलिना राणा, अर्बन गर्लका निकिता आचार्य तथा किरण तिम्सिना र गल्फ खेलाडी प्रतिमा शेर्पा फोर्ब्सको सूचीमा अटाएका हुन् ।

अनलाइनबाट खाना तथा खाजा डेलिभरी गर्ने स्टार्टअप फूडमारियोका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोहित तिवारी फोर्ब्सको सामाजिक उद्यमी अन्तर्गत थर्टी अन्डर थर्टी एसियामा पर्न सफल भएका छन् ।

फोर्ब्सले बिहीबारमात्रै उक्त लिस्ट सार्वजनिक गरेको छ । लिस्टमा तिवारी ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया अर्थात एसियाका ३० वर्ष मुनीका ३० जना ‘सामाजिक उद्यमी’ भित्र पर्न सफल भएका हुन् ।

व्यवसायमार्फत आफ्नो क्षेत्रमा रहेको समस्या समाधान गर्दै लाभ उठाउनेहरुको लिस्टमा उनि २७ औं नम्बरमा रहेका छन् । फूडमारियोले घरका सेफले बनाएको खाना तथा खाजा अनलाइन अर्डरको माध्यमबाट ग्राहकहरुमाझ पुर्‍याउने काम गर्दै आएको छ ।

फूडमारियो घरको भान्सामा काम गर्ने महिलादेखि विद्यार्थीहरुका लागि उनीहरुले बनाएको खाना तथा खाजा बिक्री गरेर आम्दानी गर्ने माध्यम बनेको छ । हाल फूडमारियोमा सयभन्दाबढी घरका सेफले खाना तथा खाजा तयार पारिरहेका छन् भने अहिलेसम्म १० लाख भन्दा बढी ग्राहक यसमा जोडिएका छन् ।

यसैगरी अर्बन गर्लका संस्थापक द्वय निकिता आचार्य र किरण तिम्सिना रिटेल तथा कमर्स विधा अन्तर्गतको ३० जना युवा उद्यमीको सूचीमा पर्न सफल हुन् । सन् २०१२ मा २०० डलर लगानीबाट सुरु भएको यो संस्था नेपालको सुरुवाती समयको ईकमर्स स्टार्टअपमा गनिन्छ ।

वेबसाइटबाट गरगहना, टीसर्ट, पानीका बोतल बिक्री गर्नेगरी सुरु भएको अर्बन गर्ल पछिल्लो समय मेकअप, घरायसी साजसज्जा, इलेक्ट्रोनिक्स लगायतका सामान समेत बिक्री गर्न थालेको छ । काठमाडौं र पोखरामा सेवा दिइरहेको यो कम्पनीमा हाल ५० जनाभन्दा बढीले रोजगार पाएका छन् ।

सन् २०१६ देखि केक समेत समावेश गरेको अर्बन गर्लले त्यसका निम्ति श्रवण शक्ति गुमाएका दुई जना महिलालाई समेत काममा लगाएको छ ।

त्यस्तै प्याड टु गोका सहसंस्थापक मध्ये सुभाङ्गी इन्जिनियर हुन भने जेसलिना मानव अधिकार कानून व्यवसायी । उनीहरु दुवै जना मिलेर सन् २०१८ मा अन्धविश्वास चिर्दै महिनावारी स्वास्थ्यमा केन्द्रीत व्यवसाय थाले । प्याड टु गोले अहिले चार वटा प्रदेशमा स्यानेटरी प्याडका ८० ओटा भेन्डलिङ मेसिन राखेको छ ।

स्कूल, अस्पताल, सिनेमा हल, बैंक तथा कार्यालयहरुमा राखिएका यस्ता मेसिनले २०० जना महिलालाई स्यानेटरी प्याड उपलब्ध गराउन सक्छ ।

विभिन्न वर्कसपमार्फत रजश्वलासम्बन्धि अन्धविश्वास हटाउन समेत लागिरहेको प्याड टु गो सस्तो रुपमा स्यानेटरी प्याड तयार पार्न उत्पादकसँग मिलेर काम गरिरहेको छ । यो स्टार्टअप सामाजिक उद्यमशिलता विधा अन्तर्गत फोर्ब्सको सूचीमा अटाएको हो ।

स्वीजरल्याण्डमा आयोजित अगुआसन कार्यक्रममा प्रथम पुरस्कार समेत पाएको यो संस्थाले इन्सेड र फेसबुकले सिंगापुरमा आयोजना गरेको एसियाका महिलाहरुले नेतृत्व गरेका स्टार्टअपहरुबीचको पिच प्रतिस्पर्धामा दोश्रो भएको थियो ।

प्रतिमा भने नेपालकै पहिलो महिला गल्फर हुन् । सान्टा बार्बारा सिटी कलेजमा अध्ययनरत उनी नेपाललाई प्रतिनिधित्व गर्ने गरी पहिलो व्यवसायिक महिला गल्फर खेलाडी बन्ने कोसिसमा लागिपरेकी छिन् ।

उनी मनोरञ्जन तथा खेलकुद विधा अन्तर्गत फोर्ब्सको सूचीमा अटाएकी हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१