close

चीनमा २ करोडभन्दा बढी मोबाइल प्रयोगकर्ता घट्नुको रहश्य के हो ?

टेकपाना टेकपाना

चैत २०, २०७६ १७:४२

चीनमा २ करोडभन्दा बढी मोबाइल प्रयोगकर्ता घट्नुको रहश्य के हो ?

एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण चालू वर्षको पहिलो दुई महिनामा चिनियाँ दूरसञ्चार कम्पनीहरुले दुई करोड १० लाख प्रयोगकर्ता गुमाएका छन् । विशेषगरी फेब्रुअरीमा महामारीलाई रोेक्न चिनियाँ सरकारले चालेका कदमका कारण एक करोड ९४ लाख प्रयोगकर्ता घटेका थिए ।  

चीनमा दूरसञ्चार सेवाका कूल सब्सक्राइबर संख्या एक अर्ब ५८ करोड रहेको छ । चीनले कोरोना महामारीका कारण गुमाएका यी प्रयोगकर्ताको संख्या उसको समग्र सब्स्क्राइबर संख्याका आधारमा न्यून हो । 

तर वितेको एक दशकको आँकडा हेर्दा यो नै उसका लागि सबैभन्दा ठूलो सब्स्क्राइबर गिरावट हो ।चीनको मूख्य टेलिकम कम्पनी चाइना मोबाइलले जनवरी र फेब्रुअरीमा ८० लाख सब्स्क्राइबर गुमाएको थियो ।

त्यसयता उसको प्रयोगकर्ताको कूल संख्या ९४ करोड २० लाख रहेको छ । यस्तै अर्को तेस्रो ठूलो टेलिकम कम्पनी चाइना युनिकमले आफ्ना कूल ३१ करोड ७ लाख प्रयोगकर्तामा ७७ लाख ८० हजार गुमाएसकेको छ ।  

एक टेलिकम कम्पनीका अधिकारी कोरोना महामारीको अवधिमा फिजिकल भौतिक माध्यमहरु राम्रोसँग सञ्चालन नभएको बताउँछन् । यस अलावा कम्पनीहरुको स्रोतका अनुसार सेवाग्राहीहरुले आफ्नो मिति सकिएका अस्थाई सिम कार्डलाई फ्याँक्ने कारणले पनि सब्सक्राइबर्स संख्या घटेको हो । 

साथै देशव्यापी रुपमा सरकारले नम्बर पोर्टेबिलिटी अर्थात् टेलिकम कम्पनीको नेटवर्क परिवर्तन गर्न मिल्ने गरी बनाइदिएको सहजताका कारण दुई सिम प्रयोग गर्नेको संख्या घटेको बताइन्छ । 

तर देशमा आर्थिक तथा सामाजिक गतिविधिहरु बढ्दै जाने क्रममा यो संख्या पनि बढेर जाने सेवाप्रदायकहरुको विश्वास छ । 

तर केही पश्चिमा तथा भारतीय सञ्चार माध्यमहरुले भने कोरोना भाइरसका कारण चीनमा थुप्रै संख्यामा मानिसहरुको मृत्यु भएको र वास्तविक आँकडा त्यहाँको सरकारले लुकाएको दाबी गर्दै आएका छन् ।

त्यसै दाबीसँग जोडेर उनीहरुले मोबाइल प्रयोगकर्ताको संख्या घटेको सन्दर्भलाई विश्लषण गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१