close

अहिलेसम्मकै ऐतिहासिक भूमिका दर्साइरहेको दूरसञ्चार सेवा

टेकपाना टेकपाना

चैत २०, २०७६ १९:५३

अहिलेसम्मकै ऐतिहासिक भूमिका दर्साइरहेको दूरसञ्चार सेवा

काठमाडौं । कोभिड-१९ अर्थात कोरोनाभाइरसको अप्रत्याशित चुनौतीहरुको सामना गर्न आफ्ना सेवाग्राहीलाई सहयोग पुर्‍याउन अहिले विश्वभरका मोबाइल सेवाप्रदायकहरुले ठूलो योगदान दिइरहेका छन् ।

व्यक्ति , व्यवसायिक संस्था तथा सरकारलाई बलियो तथा सुरक्षित कनेक्टिभिटीको सुविधा दिइरहँदा पनि यो क्षेत्रले कहिल्यै यति धेरै महत्व पाएको थिएन । 

मोबाइल सेवाप्रदायकहरु अहिलेको डिजिटल युगमा नैतिक तथा उत्तरदायी ढङ्गबाट काम गर्ने अग्रणी संस्थाको रुपमा स्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (एसडीजी) प्रति प्रतिवद्ध रहेर काम गर्ने पहिलो क्षेत्र बनेको छ, मोबाइल सेवा उद्योग ।

कोभिड-१९ माथिको रेस्पोन्सको अर्थ एसडीजीको तेस्रो बुँदा असल स्वास्थ्य मात्र होइन, यसबाट परेको व्यापक असरलाई सम्बोधन गर्नु पनि हो ।

विश्वका धेरै मुलुकहरुले लकडाउनको सामना गरिरहेको अवस्थामा आफन्तहरुसँग सम्पर्कमा रहन, व्यवसायीहरुले आफ्ना सेवाग्राहीहरुसँग सम्पर्क कायम गर्न मोबाइल नै एउटा भरपर्दो माध्यम बनेको छ । 

अहिले विश्वभरका मोबाइल सेवाप्रदायकहरु सक्रिय अवस्थामा छन् । अहिलेको यो चुनौतीपुर्ण घडीमा सेवाप्रदायकहरु सेवाग्राही तथा सरकारबीचको पुल बनेर आफ्ना महत्वपूर्ण सेवाहरु निरन्तर दिइरहेका छन् । 

उनीहरु पनि अहिले कोभिड-१९ भाइरसको संक्रमणलाई कसरी रोक्न सकिन्छ र आफ्नो बिग डेटालाई यसको निरीक्षणमा कसरी प्रयोग गर्न सकिन्छ भनेर काम गरिरहेका छन् । मोबाइल सेवाप्रदायकहरुले विभिन्न क्षेत्रमा अहिले काम गरिरहेका छन् ।

१. नेटवर्क स्थिरताको सुनिश्चितता गर्ने 

लकडाउनको समयमा अनलाइनजन्य क्रियाकलापमा भारी मात्रामा वृद्धि हुँदा अहिले मोबाइल नेटवर्कमा पनि अवरोध उत्पन्न हुने अवस्था आइरहेको छ । नेपालमा नेपाल टेलिकम र एनसेल जस्ता ठूला कम्पनीको नेटवर्कमा ४० प्रतिशतसम्म डेटा ट्राफिक बढेको छ ।

नेपालमा मात्रै नभएर अन्य मुलुकहरुको अवस्था समेत करीब यस्तै छ । यस्तो अवस्थामा सेवाप्रदायकहरु आफ्नो क्षमता बढाउने प्रयासमा समेत छन् । अमेरिका जस्तो बजारमा टेलिकम कम्पनीलाई प्रयोगमा नरहेको फ्रिक्वेन्सी दिइएको छ । 

२. महत्वपूर्ण जानकारीहरुको प्रसार

जनतालाई महामारीको बारेमा हरपल जानकारी दिन अहिले सेवाप्रदायकहरु सरकार तथा विभिन्न निकायहरुसँग सहकार्य गर्दैछन् ।

देशकै ठूलो टेलिकम कम्पनी नेपाल टेलिकमले पनि आफ्नो रिङटनमा कोरोना सम्बन्धि विभिन्न सचेतना सन्देश फैलाइरहेको छ । यस्तै झूठो समाचार रोक्न पनि कम्पनीहरु आफ्नो नेटवर्कबाट सचेतना फैलाइरहेका छन् ।

२. महत्वपूर्ण सेवाहरुलाई कनेक्ट गराउँदैछ

अहिलेको विश्व स्वास्थ्य संकटको अवस्थामा सेवाप्रदायकहरुले स्वास्थ्य केन्द्र, अस्पताल तथा सरकारी निकायजस्ता महत्वपुर्ण निकायहरुबीच सञ्चार स्थापना गरेर ठूलो सहयोग पुर्‍याइरहेका छन् ।

टेलिमेडिसिन, ई-हेल्थ, ई-कन्सल्टेसन जस्ता सेवाहरु मोबाइल सेवाले गर्दा नै सम्भव भएको छ । कनेक्टिभिटीको भर्चुअल गुणले गर्दा रोग प्रसार हुन नदिने गरी सञ्चार स्थापित गर्न सजिलो भएको छ । 

३. वित्तीय संकटमा सहयोग 

स्वास्थ्य तथा वित्तीय संकटले एकैसमय गाँजेको अवस्थामा अत्यावश्यक सञ्चार सेवामा सबैको पहुँच पुर्‍याउन सेवाप्रदायकहरुले वित्तीय सहयोग पनि दिइरहेका छन् ।

नेपालका मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकम तथा एनसेलले आफ्ना ग्राहकलाई ५० देखि १२० प्रतिशतसम्म रिचार्ज बोनस तथा विभिन्न डेटा प्याकहरुमा सहुलियत दिइरहेका छन् ।

त्यस अलावा सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल टेलिकमले १२ करोड, एनसेलले १० करोड र नियामक दूरसञ्चार प्राधिकरणले १५ करोड सहयोग दिएका छन् ।

यसबीच इन्टरनेट सेवा प्रदायकहरुले पनि विभिन्न छूट सुविधा दिइरहेका छन् । यस्तै तरलताको समस्या बेहोरीरहेका साना बिक्रेताहरुसँग समेत कम्पनीहरुले काम गरिरहेका छन् ।

४. घरबाट काम गर्न सहयोग 

मोबाइल सेवाप्रदायकहरुले कनेक्सन सुनिश्चित गरिदिदाँ अहिले घरबाट काम गर्न सबैलाई सहज भएको छ । सेवाप्रदायकहरुले प्रडक्टिभिटी टूलदेखि विभिन्न कन्फ्रेन्स कलिङ सफ्टवेयरको माध्यमबाट घरबाटै काम सम्भव बनाउन सहयोग गरेका छन् ।

५. मोबाइल बिग डेटाको पावरलाई प्रयोग गर्दैछ 

मोबाइलको बिग डेटा एनालिटिक्स तथा एआईले आजको समयमा यो महामारीलाई निगरानी गर्न र रोक्न ठूलो भूमिका खेलिरहेको छ । कोभिड-१९ लाई रोक्न तथा यसको उपचारका लागि अहिले धेरै परियोजनाहरु यही बिग डेटाको सहयोगबाट अगाडि बढाउन सक्ने अवस्था छ । 

समग्रमा भन्नु पर्दा आजको दिनमा जति मोबाइल सेवाप्रदायक उद्योगको महत्व विश्व जनसमुदाय र विश्व अर्थतन्त्रले कहिल्यै पनि बुझेको थिएन । कनेक्टिभिटीको शक्तिले आम मानिस, उद्योग तथा समाजले प्रगति गर्न र महामारीसँग जुध्न सम्भव भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१