close

ह्याप्पी बर्थडे मोबाइल फोन !

टेकपाना टेकपाना

चैत २१, २०७६ १२:४३

ह्याप्पी बर्थडे मोबाइल फोन !

काठमाडौं । न्यूयोर्कको सडकमा निस्केर जब मार्टिन कुपरले न्यू जर्सीमा रहेको बेल ल्याब्सको मुख्यालयमा फोन गरे । त्यससँगै रचियो एउटा इतिहास । कुपरको छोटो समयको त्यो वार्तालापले निश्चित ठाउँमा बसेर तारजडित प्रविधिमार्फत टेलिफोन गर्नुपर्ने बाध्यतालाई एकदमै नयाँ र अचम्मको विकल्प दियो ।

आफूसँगै लिएर जहाँबाट पनि कल गर्न सकिने मोबाइल फोनको पहिलो र सफल परीक्षण भएको थियो, त्यो दिन । त्यो दिन, अर्थात १९७३ अप्रिल ३ । आजभन्दा ठीक ४७ वर्ष अगाडि ।

मोबाइल फोनको परीक्षणमै प्रतिस्पर्धा गरिरहेको बेल ल्याब्समा पहिलो फोन गरेर कुपरले आफ्नो सफलता सुनाएका थिए । उनले त्यतिबेला ठ्याक्कै फोनमा के कुरा गरे, त्यो त यकिन छैन । तर आफूले गरेको फोनको आवाज त्यहाँसम्म पुगे नपुुगे बारे उनले जानकारी लिएको अनुमान गरिन्छ ।

कुपरले त्यतिबेला ९ सय मेगाहर्जको बेस स्टेसन नजिकै रहेर फोन गरेका थिए । उक्त फोन थियो मोटोरोलाको डाइनाट्याक ८००० एक्स । त्यहि फोनबाट सुरु भयो व्यावसायिक मोबाइल फोनको इतिहास । आज फोन भनेकै मोबाइल फोनको रुपमा स्थापित छ ।

मोबाइल फोन अब सम्पर्कका लागि मात्र रहेन । विश्वका हरेक सूचना अहिले यहि मोबाइल फोनबाटै प्राप्त गर्न सकिन्छ । पहिलो पटक मोबाइल फोनको परीक्षण भएयता विश्वमा अनेक ब्रान्डमा मोबाइल फोन आए ।

विश्वभर अहिले अर्बौंको संख्यामा मोबाइल फोन छन् । मोबाइल फोनमा पनि स्मार्टफोनको वर्चस्व बढी छ । हरेक पटक नयाँ मोडल सार्वजनिक गर्दा थप सुविधा राख्ने होडबाजी विश्वकै चर्चित कम्पनीबीच जारी छ ।

मोबाइल फोनले मानिसलाई वास्तवमै चलायमान बनाएको छ । सञ्चार र सूचना सम्पर्क धेरै सजिलो बनाएको छ । यो अहिले आधारभूत आवश्यकताकै रुपमा स्थापित छ । मानिसको जीवन प्रणाली नै यसले फेरिदिएको छ । ह्याप्पी बर्थडे मोबाइल फोन !

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१