close

अत्यावश्यक इन्टरनेट सेवा मर्मतमा हिँडेका सवारीसाधनमा अवरोध

टेकपाना टेकपाना

चैत २२, २०७६ १५:४७

अत्यावश्यक इन्टरनेट सेवा मर्मतमा हिँडेका सवारीसाधनमा अवरोध

काठमाडौं । कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा अत्यावश्यक बाहेकका सवारी साधन प्रयोगमा समेत बन्देज लगाइएको छ ।

सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको रुपमा लिँदै सेवा निरन्तर प्रदान गर्न सेवा प्रदायकलाई आग्रह गरिरहेको छ । तर, इन्टरनेट सेवा प्रदायककै गाडीमा समेत रोक लगाइएको पाइएको छ ।

चैत्र १६ गते बसेको मन्त्रिपरिषदको बैठकले दूरसञ्चार कम्पनीहरुलाई लकडाउनको अवधिमा इन्टरनेट सेवामा २५ प्रतिशत छूट दिने व्यावस्था मिलाउन सेवाप्रदायकलाई निर्देशन दिएको थियो । तर, त्यही सेवा विस्तार र मर्मतमा खटाइएका सवारी साधन गुड्न भने नदिइएको सेवा प्रदायकको गुनासो छ ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानका पूर्व अध्यक्ष तथा भायनेट प्रालिका निर्देशक बिनय बोहोराका अनुसार मर्मतका लागि निस्क‍िएका गाडीलाई रोकेर चालक र कर्मचारीलाई घण्टौंसम्म रोक्ने र अपमान गर्ने गरिएको बताए ।

‘भन्दा अत्यावश्यक सेवा भन्ने, अनि सेवा मर्मतको लागि हिँडेको गाडीलाई रोक्ने प्रवृत्ति देखियो,’ उनले भने, ‘केही स्थानमा पासको व्यवस्था भए पनि कुनै कुनै ठाउँमा प्रहरीले गाडी रोकेर दुःख दिने गरेका छन् ।’

यस्तो घटाना सबै ठाउँमा भने नभएको पनि उनले उल्लेख गरे । त्यस्तै इन्टरनेट सेवाप्रदायक कम्पनी इस्टलिङ्क टेक्नोलोजी प्रालिका प्रमुख सञ्चालन अधिकृत पुष्कर बडालले मर्मतको लागि हिडेको आफ्नो गाडी कलंकी क्षेत्रमा दुई घण्टा रोकेर छाडिएको बताए । ‘इन्टरनेट सेवाको मर्मतको लागि आएको भन्दै आवश्यक कागजपत्र देखाउँदा समेत रोकेर राख्ने गरिएको छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१