close

बिग डेटा र एआईको त्यो ‘फ्यूजन’, जसले चीनमा रोक्यो कोरोनाको नयाँ संक्रमण

टेकपाना टेकपाना

चैत २३, २०७६ १८:५६

बिग डेटा र एआईको त्यो ‘फ्यूजन’, जसले चीनमा रोक्यो कोरोनाको नयाँ संक्रमण

काठमाडौं । विश्वभर नै महाव्याधिको रुपमा फैलिएको कोरोना भाइरस चीनबाट उत्पन्न भयो र अहिलेको परिस्थितिका लागि धेरै हदसम्म पनि चीन जिम्मेवार छ । कोभिड १९ महामारीको बारेमा विश्वसमक्ष जानकारी पुर्याउन ढिलाई गरेको, संक्रमण र मृत्यु संख्यालाई लुकाएको कारणले यो संक्रमण फैलिएको आरोप पनि चीनमाथी लाग्ने गरेको छ ।

चीनले यसको भरपाई वुहानका साहसी फिजिसियन डाक्टर ली वेनलियाङको परिवारसँग क्षमा मागेर गर्न चाह्यो । जसले कोरोना संक्रमणको खतराको बारेमा जानकारी त दिएका थिए तर उनको चेतावनीलाई राज्यले वेवास्ता गर्दा उनी लगायत चीनमा यो भाइरसका कारण हजारौंले ज्यान गुमाउनु पर्यो ।

सुरुवातमा जस्तो सुकै गलत काम गरेपनि चीनले आफ्नो भूललाई छिटै सुधार भने गरेको छ । यो सुधारको पछाडि उच्चतम प्रविधिको प्रयोग मुख्य आधार बन्यो । चीनले संक्रमण रोक्न फोन ट्रयाकिङ, क्वारेन्टाइनलाई नियमन गर्ने एप्स र अन्य प्रविधिगत उपाय प्रयोग गर्यो जुन एकदमै प्रभावकारी पनि साबित भयो । यसबाट सुरुवातमा विनाशतर्फ गईरहेको चीनमा अहिले कोरोनाको नयाँ संक्रमण देखिने क्रम कम छ ।

कोरोना भाइरस विरुद्धको लडाईंमा अहिले चीनको हाईटेक विधिको एकदमै धेरै चर्चा चलेको छ । अस्पतालमा रोबोटले खाना पुर्याउँदैछ । अनुहार पहिचान गर्न सक्ने क्यामेराले मानिसको तापमान मापन गर्दैछ र ड्रोनले लकडाउनलाई सुनिश्चित गर्दैछ ।

तर चीनमा अहिले एउटा अदृश्य प्रविधि पनि प्रयोगमा आएको छ, जुन एकदमै विवादित छ । यो चीनको विवादास्पद डेटा सर्भिलेन्स सिस्टम हो । यो सिस्टमले मानिसलाई अनलाइन र अफलाइन दुवै मोडमा ट्रयाक गर्न सक्छ ।

कम्युनिष्ट प्रशासनले दशकौं समय लगाएर बनाएको यो डेटा सर्भिलेन्स सिस्टम अहिले महामारीको समयमा एकदमै प्रभावकारी सावित भएको छ । यो सिस्टमलाई लिएर विश्वले चीनको धेरै आलोचना पनि गरेको छ । तर अहिले यो महामारीको स्थितिमा विश्वले यो प्रविधिलाई धेरै आशापूर्ण नजरले हेरिरहेको छ ।

दक्षिण कोरियामा पनि यसको प्रयोग भएको छ । इरान, इजरायल, सिंगापूर, ताइवान र रसियाजस्ता मुलुक पनि डेटा प्रयोग गरेर महामारी नियन्त्रण गर्न चिनियाँ प्रविधिको प्रयोग गरिरहेको छ ।

यस्तो छ चीनको डेटा सर्भिलेन्स सिस्टमको प्रविधि चीनको यो सर्भिलेन्स सिस्टम नेशनल आईडी कार्डबाट सुरु हुन्छ । चीनमा हरेक कामका लागि यो आईडीको आवश्यकता पर्छ । तपाईले फोन किन्दादेखि कुन एप प्रयोग गर्नुहुन्छ सबै जानकारी यो नेश्नल आइडी कार्डसँग आएर जोडिन्छ ।

लकडाउन गरिएको क्षेत्रमा मानिसको फोनको लोकेसनको आधारमा उनीहरुको आवतजावतमाथि निगरानी राखिएको छ । सबैतिर कफ्र्यु जारी गरिएको छ । यदि कोही व्यक्ति कोरोनाबाट संक्रमित छ भने उसलाई बाँकी मानिसबाट अलग्याएर राखिन्छ र त्यस्तो व्यक्तिले आफ्नो निर्धा्रित घेराभन्दा बाहिर निस्कने प्रयास गर्यो भने निगरानी गरिरहेका अधिकारीमाझ अलर्ट पुग्छ ।

फोन डेटाले पछिल्लो दुई हप्तामा संक्रमित व्यक्ति कहाँकहाँ पुगेको थियो भन्ने कुरा पनि पत्तो लगाउन सकिन्छ । मानिस र कम्प्युटर डेटाको आधारमा संक्रमितले क कसलाई संक्रमण सारेको छ भन्ने कुरा पनि पत्तो लगाउन सकिन्छ ।

यदि संक्रमित व्याक्तिले रेलको यात्रा गरेको छ भने त्यसमा यात्रा गर्ने खतरामा रहेका सबैलाई म्यासेज मार्फत सचेत रहन जानकारी गराईन्छ । हरेक व्यक्तिलाई उसलाई हुने खतराको आधारमा एउटा विशेष रंगको क्युआर कोड जारी गरिन्छ । यसमा हरियोले कुनै खत्रा नभएको संकेत गर्छ, पहेलो रंगले संक्रमणको सम्भावित क्षेत्रभित्र रहेको संकेत गर्छ र रातो रंगले कोरोना भाइरस पोजिटिभ संक्रमित बुझाउँछ ।

तर चिनियाँ सरकारको इन्फोर्समेन्ट टिम बिना यो सर्भिलेन्स सिस्टमले काम गर्न सक्दैन । प्रहरी र स्वयंमसेवक हरेक अपार्टमेन्टको बाहिर तैनाथ छन् । पाँच हप्ताको अवधिमा चीन हजारौं कोरोना संक्रमणको मामिलाबाट शून्यमा झरेको छ । तर जुन मुलुकमा कोरोना संक्रमणलाई रोक्न यो सिस्टमको प्रयोग भईरहेको छ त्यहाँका मानिस भविष्यलाई लिएर चिन्तित भने छन् ।

ती देशमा यो मास सर्भिलेन्स प्रणालीले लन्च गर्न अघि त्यहाँको सरकार र सार्वजनिक स्वास्थ्यका प्राध्यापक यो प्रणालीले प्रभावकारीरुपमा यो संकटको सामाधान गर्ने कुराको सुनिश्चितता गर्नुपर्ने बताउँछन् । अहिलेको समयमा प्रविधिले मानिसको गोपनियतालाई संकटको स्थितिमा पुर्याएको आरोप लाग्दै आईरहेको छ ।

यसबीच चीनभित्र बनेका स्मार्टफोन एप्सले पनि यो संक्रमणलाई रोक्नमा हदैसम्मको भूमिका निर्वाह गरेका छन् । सिन्ह्वा समाचार संस्थाका अनुसार चीनको ई कमर्श जाइन्ट कम्पनी अलिबाबाले गत फेब्रुअरी १५ मा एउटा स्मार्टफोनमा आधारित एप स्काईनेट एकै हप्तामा सयओटा चिनियाँ सहरमा लन्च गरेको थियो ।

राज्य परिषदको प्रशासनले अलिबाबा र अलि पेलाई नेशनल आईडीको प्लेटफर्ममा स्वास्थ्य सम्बन्धि जानकारी संकलन गरी कोरोना प्रसार रोक्न कोड सिस्टम बनाउन सहकार्यको लागि आह्वान गरेको थियो । यसरी स्काईनेट एप देशभर फैलिएर गयो र यो एप नै महामारी रोकथामको स्ट्याण्डर्ड बन्यो ।

क्लाउडमा आधारित हेल्थ केयर सोल्युसन

ह्वावे जस्ता चिनियाँ जाइन्ट कम्पनीले हेल्थ केयरका लागि एआईमा आधारित एप्लिकेसन बनाउन वर्षौं मेहेनत गर्यो । २०१७ मा उसले डच इलेक्ट्रोनिक्स कम्पनी फिलिप्ससँग चीनकालागि नयाँ क्लाउडमा आधारित हेल्थकेयर सोलुसन बनाउन जोइन्ट भेन्चरमा हस्ताक्षर गर्यो ।

यस्ता डिजिटल प्रविधिमा आधारित हेल्थ केयर सुविधाले कम समयमा नै रोगको पहिचान गरेर तथ्यमा आधारित विश्लेषण सहित संक्रमणको सम्भावित पूर्वानुमान गर्छ । ह्वावे र फिलिप्सको यो सामुहिक परियोजनाको परिक्षण पूरा भईसकेको छ ।

यो उपक्रमले अब क्लाउड र मेसिन लर्निङमा आधारित रहेर अतुलनीय गति र पहुँचका साथ हेल्थकेयर प्रणालीलाई डिजिटलाइज गर्दै अवरोध उत्पन्न गराउने तयारी गरिरहेको छ । मेडिकल डेटा र यसलाई तोडमोड गर्नसक्ने क्षमता दिएर चीन विश्वभरीका प्रमुख फर्मास्युटिकल कम्पनीको लागि एउटा चुम्बक बनेको छ ।

कोभिड १९ को महामारीसँग यसलाई रोक्न चीनले उच्चतम प्रयोग गरेको प्रविधिले उसको शक्तिलाई विश्वसामू छर्लङ्ग बनाएको छ । यसको नजिता हाम्रो सामू छ । मध्य मार्चसम्म आईपुुग्दा चीनमा संक्रमण दर शून्यमा झरेको छ ।

चीनले वितेको एक दशकमा स्वास्थ क्षेत्रमा बिग डेटा, आर्टिफिसियल इन्टेलिजेन्स र अन्य आईटी संसाधनमा व्यापक लगानी गरेको कारण नै उसले कोभिड १९ सँग यसरी लड्न सकेको हो । चिनियाँ डेटा वैज्ञानिकले स्मार्टफोनको आधारमा मिल्ने लोकेसन डेटा र कोभिड १९ को फरेन्सिक परिक्षणको परिणामको आधारमा प्राप्त स्वास्थ जानकारीलाई एकिकृत गरेर एक अर्ब ४० करोड जनसंख्या भएको मुलुकमा संक्रमणलाई घटाए ।

कोभिड १९ का परिक्षण परिणाम कतिपय अवस्थामा त्रुटीपूर्ण हुन्छन् । तर स्वास्थ्य प्रशासनले व्यापक स्तरमा शारीरिक तापमान, मुटुको गति र ब्लक अक्सिजन स्तरको रियल टाइम सेम्पल जानकारी पाउने हो भने उनीहरुले संक्रमणको खतरालाई धेरै हदसम्म तथ्यको नजिक रहेर विश्लेषण गर्न सक्छन् ।

एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१