close

निःशूल्क अनलाइन कोर्ष अनि अध्ययन सामग्री खोजिरहनु भएको छ ? यसो गर्नुहोस् (भिडियो सहित)

आस्ना पौडेल आस्ना पौडेल

चैत २३, २०७६ १९:३७

निःशूल्क अनलाइन कोर्ष अनि अध्ययन सामग्री खोजिरहनु भएको छ ? यसो गर्नुहोस् (भिडियो सहित)

काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण अहिले नेपाल र विश्वका विभिन्न देश लक डाउनमा छन् ।  यस्तो बेला ससाना बालबालिकादेखि वयस्क मानिस सबै डिजिटल दुनियाँमा रमाउनु स्वभाविकै हो ।

लतको रुपमा विकास भइरहेको यो स्वभावलाई नै उत्पादनशील रुपमा प्रयोग गर्न सक्यौं भने अझ कति राम्रो होला ! यसैका लागि भनेर नेपाली र विदेशी वेबसाइटहरुमा थुप्रै अनलाइन कोर्षहरु निःशूल्क उपलब्ध गराइरहेका छन् ।

विश्वप्रशिद्ध विश्वविद्यालयदेखि युटुव लगायतका माध्यमबाट तपाईंले आफूले चाहेको कोर्ष निःशूल्क अध्ययन गर्न सक्नु हुनेछ।  यहाँ आज हामी तपाईंलाई कोरोना भाइरसका कारण घरमै बस्नुपरिरहेको बेला उपयोगी अध्ययन अनि सिकाइका निःशूल्क माध्यमकाे बारेमा बताउन गइरहेका छौँ ।

१. ई-पुस्तकालय 

ई-पुस्तकालय नामक डिजिटल लाइब्रेरीमा अहिले ७००० भन्दा बढी पुस्तक साथै विभिन्न भिडियो, र अन्य थुप्रै शैक्षिक सामग्रीहरु निःशूल्क रुपमा उपलब्ध छन्। यहाँ साना  बालबालिका देखि वयस्क सबैलाई उपयोगी सामग्रीहरु नेपाली तथा अंग्रेजी दुवै भाषामा राखिएको छ।  

यी सामग्रीहरु ई-पुस्तकालयको वेबसाइटमा राखिएका छन् । वेबसाइट खोल्ने बित्तिकै दायाँ तर्फको माथी कुनामा नेपालको झण्डा भएको स्थानमा गएर नेपाली भाषा छनौट गर्नुहोस् । अब यहाँ रहेको पढ्नुहोस् लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।

यहाँ रहेका विभिन्न विकल्पबाट तपाईं सुन्न, भिडियो हेर्न र अभ्यास गर्न पनि सक्नुहुन्छ । तपाईंलाई कस्तो खालको सामग्री चाहिएको छ, यहाँ बाँया तर्फ रहेको बारबाट सजिलै छनौट गर्न सक्नुहुन्छ । 

२. खान एकेडेमी 

खान एकेडेमी अमेरिकी एनजीओ हो । जसले विभिन्न विषयमा निःशूल्क कोर्षहरु उपलब्ध गराउँदै आएको छ । खान एकेडेमीको वेबसाइटबाट अथवा खान अकेडेमीको युट्युव च्यानलबाट सहजै अनलाईन  कोर्षहरु लिन सक्नु हुन्छ।

विद्यार्थी , सिक्षक र अभिभावक सबैको लागि यहाँ अनेक कोर्ष तथा शैक्षिक सामग्रीहरु उपलब्ध छन् ।  एकेडेमीको वेबसाइटमा गइसकेपछि यहाँ तपाईंले केही सामान्य औपचारिकता पुरा गर्नुपर्ने हुन्छ ।

तपाईं विद्यार्थी, शिक्षक वा अभिभावक के हो, त्यस हिसावले जन्म मिति र ईमेल राखेर साइन अप गर्नुहोस् । यति गरिसकेपछि तपाईंले आफ्नो आवश्यकता अनुसारको कोर्षहरु रोजेर सिक्न सक्नुहुनेछ ।

३. क्लास सेन्ट्रल 

हार्वर्ड, ब्राउन, कोलम्बिया, कोर्नेल लगायतका विश्वप्रसिद्ध विश्वविद्यालयहरुका अनलाइन कोर्षहरु पनि तपाईंले सजिलै पढ्न सक्नुहुन्छ । त्यसका लागि क्लास सेन्ट्रलको वेबसाइटमा जानुहोस् । अनि आफूले चाहेको बिषयको कोर्ष खोजेर पढ्नुहोस् ।  

४. फेट 

फेटको वेबसाइटमार्फत तपाईंले विज्ञान र गणित जस्ता विषयहरु खेल खेले झैँ गरी पढ्न सक्नुहुन्छ । यसका लागि वेबसाइटमा रहेको फिजिक्स, केमेस्ट्री, अर्थ साइन्स, म्याथ र बायाेलोजी मध्ये कुनै विषय रोजेर निःशूल्क पढ्न्न सक्नुहुन्छ । 

५. सीके टेल्भ

सीके ट्वेल्भ वेबसाइटबाट तपाईंले म्याथ, साइन्स, फोटोग्राफी, विभिन्न देशहरु आदिको बारेमा स्मार्ट तरिकाले पढ्न सक्नुहुन्छ। यसको लागि सीके ट्वेल्भको वेबसाइटमा जानुहोस् ।  अब यहाँबाट तपाईंले चाहेको विषय रोज्नुहोस् र पढ्नुहोस् ।  

६. ब्रिटिस काउन्सिल 

ब्रिटिस काउन्सिलको वेबसाईटबाट पनि तपाईंले विभिन्न कोर्षहरुका पाठ्य पुस्तक, ई-बूक, म्यागेजिन, हास्य, उपन्यास, आयल्स आदिको अध्यययन गर्न सक्नुहुन्छ । तर यो वेबसाइट एडल्ट अर्थात १८ बर्ष भन्दामाथिका वयस्कहरुका लागि हो ।

यसमा पढ्नका लागि तपाईंले मेम्बरशिपका लागि अप्लाई गर्नुपर्ने हुन्छ । मेम्बर भइसके पछि तपाईंले करीब १ बर्षसम्म निःशूल्क रुपमा विभिन्न पुस्तकहरु पढ्न सक्नुहुन्छ । 

यसबाट अध्ययन गर्न ब्रिटिस काउन्सिलको वेबसाइटमा जानुहोस अनि यहाँ रहेको बिकेम अ मेम्बरमा थिच्नुहोस। यहाँ दिइएको फारम भरेर सबमिट गरेपछि तपाईंले आजको मितिदेखि एक वर्षसम्म फ्रीमा आफूले चाहेका किताबहरु पढ्न पाउनु हुनेछ।  

७. कुलल्याब्स 

कुल टेक्नो ल्याव एण्ड रिसर्च सेन्टरले विद्यार्थी र शिक्षकका लागि सन् २०१२ मा यो डिजिटल प्लेटफर्म बनाएको हो।  स्कूल र कलेजका लागि यसमा नोट तथा अन्य शैक्षिक सामग्रीहरु राखिएको छ। कुलल्याब्समा पढ्नको लागि यसको वेबसाइटमा जानुहोस् ।

यहाँ सर्च बारमा आफैले सर्च गरेर अथवा यहाँ तल दिइएका विकल्पहरु मध्ये कुनै एक छनौट गरेर निःशूल्क पढ्न सक्नुहुन्छ। साथै युट्युवमा कुलल्याब्स स्मार्ट स्कूल सर्च गरेर भिडियो हेर्दै सिक्न पनि सक्नुहुन्छ ।  

८.डियरवाक लर्निंग सेन्टर 

डियर वाक लर्निङ सेन्टर एउटा नेपाली शैक्षिक संस्था हो । यहाँ कक्षा ४ देखि १२ सम्मका पाठ्यक्रमहरु भिडियो मार्फत निःशूल्क पढ्ने सुविधा छ ।

यसका लागि डियर वाकको वेबसाइटमा जानुहोस्।  अनि यहाँ चूज योर क्लासमा गएर आफ्नो कक्षा छनौट गर्नुहोस् । त्यसपछि आफूले चाहेको विषयमा क्लिक गर्नुहोस् र आनन्दसँग पढ्नुहोस् । 

९. ईडीएक्स 

ईडीएक्समा तपाईंले विश्व प्रशिद्ध विश्वविद्यालयहरुबाट अनलाइन कोर्ष लिन सक्नुहुन्छ । यहाँ कोर्ष सुरु हुने निश्चित समय हुन्छ। दिइएको समयसीमा सकिनु अघि नै आफूले लिन चाहेको कोर्षमा भर्ना भएर कोर्ष पुरा गरेर सर्टिफिकेट समेत प्राप्त गर्न सक्नुहुन्छ । 

यहाँ सःशूल्क र निःशूल्क दुवै किसिमका कोर्षहरु उपलब्ध छन् । ईडीएक्सबाट पढ्न यसको वेबसाइटमा जानुहोस् । यहाँ बाँया तर्फ रहेको कोर्ष बटनमा थिच्नुहोस् ।  त्यसपछि आफूले चाहेको विषय अनुसारको कोर्ष छनौट गर्नुहोस् ।

कोर्ष निःशूल्क रुपमा उपलब्ध छ कि छैन भनेर यहाँ दाँयातर्फ हेर्न सक्नुहुन्छ। यसमा रहेका धेरैजसो कोर्षहरुमा सर्टिफिकेट लिनका लागि मात्रै पैसा लाग्ने किसिमका हुन्छन् । कोर्ष चित्त बुझेको खण्डमा ईडीएक्समा अकाउण्ट बनाएर सहजै भर्ना हुन सकिन्छ ।  

१०. मिडास ईक्लास 

मिडास ईक्लास प्रयोग गर्न तपाईं सुरुमा यसको वेबसाइटमा जानुहोस् । अनि तल स्क्रोल गर्नुहोस् । यहाँ रहेको ज्वाइन मिडास ईक्लासमा क्लिक गर्नुहोस् । अनि यहाँ  मोबाइल नम्बर राखेर सबमिट गर्नुहोस् । यहाँ रहेको डाइलग बक्समा ओके गर्नुहोस् ।

अब तपाईंको फोनमा आएको ओटीपी कोड भरेर सबमिट बटन दबाउनुहोस् । अब यहाँ तपाईंले आफ्नो ईंमेल आईडी, नाम , थर , र आमा, बुबाको नाम थर भरेर सबमिट गर्नुहोस् । अब त्यहाँ रहेको आफ्नो क्लास अथवा कोर्ष छान्नुहोस् । 

त्यसपछि आफ्नो ठेगाना भरेर सबमिट गर्नुहोस् । कुन विषय पढ्न चाहनुहुन्छ, त्यो पनि छान्नुहोस् । अब तपाईंले यहाँ एनिमेटेड भिडियो, ट्युटोरियल, क्वीज, परीकक्षाको प्रश्नका साथै शिक्षकलाई प्रश्न सोध्न पनि पाउनु हुनेछ।

यसका साथै एनिमेटेड भिडियो, ट्युटोरियल क्लासमा थिच्नुभयो भने तपाईंले भिडियो हेर्दै पढ्ने सुविधा पाउन सक्नुहुनेछ ।  

११. युट्युव 

युट्युवबाट पनि तपाईंले निःशूल्क रुपमा आफूले चाहेका कुनै पनि विषयमा अध्ययन गर्न सक्नु हुन्छ । यसका लागि गूगलमा गएर सोझै आफूले चाहेको कोर्ष सर्च गरेर पढ्न सक्नु हुन्छ। 

साथै युट्युवमा क्य्राश कोर्ष, एस्याप साइन्स, भिसस, द न्यु बोस्टन लगायतका अन्य अरु यस्ता थुप्रै च्यानलहरु छन्, जसबाट तपाईंले सजिलै पढ्न सक्नु हुन्छ। साथै युट्युव लर्निङमा गएर विभिन्न कोर्षहरु रोजेर पढ्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१