close

नेपालमै तयार भयो भेन्टिलेटर

रन्जन कोइराला रन्जन कोइराला

चैत २४, २०७६ ११:७

नेपालमै तयार भयो भेन्टिलेटर

काठमाडौं । कोरोनाभाइरस अहिले विश्व महामारिको रुपमा फैलिएको छ । जसको प्रतिफल हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौं यसबाट संक्रमित भएका छन् ।

कोरोनाभाइरसको प्रभावलाई रोक्न विश्व लागिपरेको छ । विश्वका स्वास्थ्य संस्थाहरु र त्यसमा आवद्ध चिकित्सक र अनुसन्धानकर्ताहरु अध्ययन अनुसन्धानमा जुटिरहेका छन् ।

तर पनि अझै यसको कुनै समाधान पत्ता लागिसकेको छैन । जसले गर्दा स्वास्थ्य संस्थाहरुलाई बिरामीको चाप थेग्न मुस्किल भइरहेको छ ।

यसको एउटा उदाहरण हो इटाली । इटालीका अस्पतालमा भेन्टिलेटरको अभाव हुँदा बिरामीको अवस्था हेरेर कुन बिरामीलाई भेन्टिलेटरमा राख्ने भनेर छनोट गर्नुपर्ने अवस्था आएको छ । अहिले विश्वव्यापी रुपमा भेन्टिलेटरको अभाव सिर्जना भएको छ ।

आशा गरौं, इटालीको जस्तो अवस्था नेपालमा नआओस् । हामी अहिले पहिलो चरणमा छौं । तर भोलि इटालीकै अवस्था यहाँ नआउला भन्न सकिन्न ।

इटाली जस्तो विकसित देशले भोगेको यो अवस्था नेपालमा सिर्जना भएको खण्डमा के होला ? यहाँ त यस्ता धेरै अस्पताल छन्, जहाँ भेन्टीलेटर छैन ।

कतिपय अस्पतालमा भएका भेन्टीलेटर बिग्रिएर थन्किएको छ । तर, यसैबिच नेपाली युवा समूहले भेन्टिलेटर निर्माण गरेको छ ।

‘हामीले भेन्टिलेटर निर्माणको पहिलो चरण पार गरेका छौं । अर्थात डेमो तयार भएको छ,’ म्युटेक्स टेक प्रालिका प्रमुख कार्यकारी अधिकृत सुशान्त दाहाल भन्छन्, ‘हामीले बनाएको भेन्टिलेटर अस्पतालमा भएका ठूला र कार्यक्षमता बढी भएका भेन्टिलेटरलाई प्रतिस्थापन गर्ने भेन्टिलेटर भने होइन । यो सानो क्षमताको भेन्टिलेटर हो । आवश्यक परेको खण्डमा पछि यसलाई बढी क्षमतामा विकास गर्न गर्न पनि सकिन्छ । तर हाल एउटा व्यक्तिलाई भेन्टिलेटरको आवश्यकता परेको खण्डमा यसले काम गरोस् भनेर हामीले निर्माण गरेका हौं ।’

इटालीमा जस्तै अवस्था सिर्जना भएको खण्डमा डक्टरले बिरामी छनोट गर्नुपर्ने अवस्था आउन नदिन आफूहरुले कोभिड–१९ लाई लक्षित गरेर भेन्टिलेटर तयार पारेको सुशान्त दाहाल बताउँछन् । यसले हालको अवस्थामा सिर्जित अभावलाई कम गर्न मद्दत गर्ने उनको विश्वास छ ।

दाहाल भन्छन्, ‘हामीले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजिले तयार पारेको डिजाइनलाई परिस्कृत गर्दै यो भेन्टिलेटर तयार पारेका हौं ।’

यसमा दाहालसँगै, ड्रोनेपालका हार्डवेयर इन्जिनियर प्रमुख कपालिक खनालको भूमिका पनि उत्तिकै छ । उनिहरु दुई जनाको टिमले दिनरात नभनी यो भेन्टिलेटर तयार पारेका हुन् ।

भेन्टिलेटर बनाउनु पूर्व उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्विकृती समेत लिएका थिए । ‘अवश्य पनि व्यक्तिगत रुपमा बनाउनु र सरकारबाट स्वीकृति लिएर बनाउनुमा फरक हुन्छ,’ दाहाल भन्छन्, ‘त्यसैले यो भेन्टिलेटरको निर्माण पूर्णतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगबाट बनेको हो ।’

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएको र आफ्नो विधाभन्दा भिन्न विषय भएकाले आफूहरुले निकै समय उपलब्ध भेन्टिलेटरको बारेमा अध्ययन गर्नुपरेको उनीहरुको भनाई छ । ‘त्यसैले पनि यो सम्भव भएको हो,’ दाहालले भने । उक्त भेन्टिलेटर आइतबार बीर अस्पतालको ट्रमा सेन्टरका डाक्टरहरुलाई देखाइएको थियो ।

Image may contain: 5 people, people standing, table and indoor

सेन्टरले पहिलो चरणका लागि आवश्यक लगभग सम्पूर्ण कुरा रहेको भन्दै अर्को चरणको लागि आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको दाहालले बताए । अबको चरण भनेको यसलाई अझ परिस्कृत गरेर एउटा सानो र उपयोगी उत्पादनको रुपमा विकास गर्नु हो ।

‘हामीले एउटा नमूना बनाएका छौं,’ उनले भने, ‘भेन्टिलेटर नै नभएको स्थानमा सहज पहुँचका लागि ठूलो मात्रामा यसको उत्पादन गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारसँगको समन्वय अत्यावश्यक छ र यो सम्भव पनि छ ।’

अर्कोतर्फ, अहिलेको समयमा ठूलो लगानी गरेर भेन्टिलेटर खरिद गरेर हरेक अस्पतालमा आवश्यक मात्रामा पुर्‍याउन सम्भव पनि छैन । किनभने ठूला खालका भेन्टिलेटर खरीद गर्ने हो भने अहिले २५ देखी ३८ लाखसम्म पर्छ । तर, दाहाल र खनालको टिमले उक्त रकमको २ देखि ३ प्रतिशत मूल्यमा भेन्टिलेटर तयार पारेको हो ।

खनाल भन्छन्, ‘अझ मास उत्पादनमा जाने हो भने यसको लागत झन् थोरै पर्न जान्छ ।’ अहिले बनिसकेको भेन्टिलेटरमा अझ थप रिसर्च गरेर मात्र मास उत्पादनमा जाने उनीहरुको योजना छ । याे भेन्टिलेटर आवश्यक पर्दा जहाँ पनि बाेकेर लैजान सकिने किसिमको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१