close

अनलाइनमै निःशूल्क कोरोनाको परामर्श दिने च्याटबोट

टेकपाना टेकपाना

चैत २४, २०७६ १५:५०

अनलाइनमै निःशूल्क कोरोनाको परामर्श दिने च्याटबोट

काठमाडौं । कोरोना भाइरसको महामारीको संक्रमण फैलिन नदिन सरकारले मुलुकभर लकडाउन लागु गरेको छ । जसका कारण उद्योग, कल कारखाना, शैक्षिक संस्था, कार्यालय सबै बन्द छन् ।

देशका प्रायः  स्थानमा अस्पताल र डाक्टरहरुको ओपीडी पनि बन्द भएको अवस्था छ । नियमित चेकजाँच तथा स्वास्थ्यसँग सम्बन्धित विषको परामर्शका लागि डाक्टरहरुको पहुँच उपलब्ध छैन ।

अर्कोतर्फ इन्टरनेटमा सूचनाको बाढी छ । सामान्य रुघा खोकी, ज्वरोका कारण मानिसहरुमा चिन्ता र डर उत्पन्न गराइरहेको छ ।

यस्तो अवस्थामा सही चिकित्सकीय जानकारी प्रदान गर्न तथा आम जनतालाई टेलीमेडिसिन परामर्श प्रदान गर्न टीडीओ नेपालले छुट्टै वेब पोर्टल सुरु गरेको छ । वेबपोर्टलमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस । 

डेस्कटप, ट्याब्लेट र मोबाइलमा प्रयोग गर्न सकिने यो वेबपोर्टलबाट प्रयोगकर्ताहरुले ज्वरो, रुघा, खोकी र कोभिड-१९ सम्बन्धी लक्षणहरु आदिको विषयमा निःशूल्क परामर्श र निर्देशन प्राप्त गर्न सकिन्छ ।

यति मात्र नभएर च्याटबोटमा आधारित यो सेवाले कोभिड-१९ को सम्भाव्यता जाँच गर्न समेत सघाउने दाबी गरिएको छ ।

यसमार्फत प्रयोगकर्ताले हेल्पलाइन नम्बरहरु, कोभिड-१९ को परीक्षण केन्द्रहरुको ठेगानाका साथै कोभिड-१९ बारे बारम्बार सोधिने प्रश्नहरु र तिनीहरुको उत्तर समेत दिन्छ । टीडिओ नेपाल एउटा अनलाइन मोबाइल स्वास्य सेवा हो ।

यसरी गर्नुहोस् प्रयोग

सुरुमा नेपाल फाइट कोरोनाको वेबसाइट खोल्नुहोस् । अब त्यहाँ रहेको ‘लक्षण जाँचकर्ता’ मा क्लिक गर्नुहोस् र सोधिएका प्रश्नहरुको जवाफ दिनुहोस् ।

सबै प्रश्नको जवाफका आधारमा तपाईंले कोभिड-१९  परिक्षणको लागि अस्पताल जानुपर्छ कि पर्दैन भनेर परामर्श प्राप्त गर्न सक्नुहुन्छ । 

च्याटबोट आधारित प्रश्न र उत्तर डब्लुएचओ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरुले प्रकाशन गरेका निर्देशिका अनुरुप निर्माण गरिएको टीडीओ नेपालले जनाएको छ । 

लक्षण जाँचका अलावा त्यसको मुनीतिर रहेको विकल्पबाट कोभिड-१९ जाँच केन्द्रहरु, म्यासेञ्जर मार्फत सोझै डाक्टरहरुसँग परामर्श, बारम्बार सोधिने प्रश्नहरु र अत्यावश्यक टेलिफोन सम्पर्क नम्बरहरु समेत प्राप्त गर्न सकिन्छ । 

टिडीओ नेपालले गत हप्ता मात्रै रुघा, खोकी, ज्वरो र कोभिड-१९ सम्बन्धी विषयमा ३००० बिरामीहरुको जिज्ञासा समाधान गरेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१