close

डिजिटल बजारमा उपभोक्ताको सुरक्षा कसरी गर्ने ?

टेकपाना टेकपाना

चैत २५, २०७६ १६:१६

डिजिटल बजारमा उपभोक्ताको सुरक्षा कसरी गर्ने ?

सेक्युरिटी अर्थात सुरक्षा आफैमा कुनै फिल्ड होस् वा संस्था, यसको महत्व र अर्थ फरक हुँदैन, एउटै हुन्छ । यसलाई अपडेट गर्ने र काम गर्ने तरिकाहरु चाहिँ फरक हुन सक्छन् ।

यहाँ म डिजिटल उपभोक्तावादमा सरोकारवालाहरु, उनीहरुका लागि हुनसक्ने चुनौति वा जोखिम लगायतका विषयमा केही आफ्ना विचारहरु राख्न चाहन्छु ।

कोरोना भाइरसका कारण डिजिटल कारोबार बढेको समाचारहरु आइरहेका छन् । यस्तो अवस्थामा डिजिटल कारोबार सुरक्षित बनाउनेतर्फ सबै सरोकारवालाहरुले उत्तिकै चनाखो हुन जरुरी छ ।

डिजिटल बजारको चक्र

कुनै पनि डिजिटल कारोबार एउटा साइकल अर्थात चक्रको रुपमा चल्छ । सुरुमा ग्राहकहरु फेसबुक, लिंकडिन, ट्वीटर वा अरु कुनै वेबसाइटमार्फत उत्पादनको विषयमा थाहा पाउँछन् ।

निश्चित सामग्रीको डेमो देखेर उनीहरुमा प्रभाव पर्छ । अनि त्यस्तो उत्पादन वा सामान खरीद गर्छन् । सामान किनिसकेपछि, त्यसलाई उपभोग गरेको मान्नुपर्ने हुन्छ ।

त्यससँगै भुक्तानीको कुरा आउँछ । सँगसँगै ग्राहक सेवा तथा सम्पर्कका कुराहरु पनि जोडिन्छन् । यस बाहेक उपभोक्ताबाट मौखिक रुपमा त्यस्तो वस्तुको प्रवद्र्धन हुने काम पनि हुन्छ ।

सरोकारवाला पक्ष

डिजिटल बजारलाई सुरक्षित बनाउने र उपभोक्ताको अधिकार संरक्षण गर्ने कुरा गर्दा यसमा सरोकारवालाहरुको विषयमा चर्चा गर्नु एकदमै अपरिहार्य हुन्छ ।

डिजिटल वस्तु तथा सामग्री उपभोग गर्ने ग्राहकहरु, त्यस्ता सामग्री उपलब्ध गराउने सेवाप्रदायकहरु, समुदाय, कानूनसँग सम्वद्ध निकायहरु लगायतलाई सरोकारवालाको रुपमा लिन सकिन्छ ।

सेक्युरिटीको दृष्ट्रिकोणबाट हेर्दा डिजिटल उपभोक्तावादमा ग्राहको सुरक्षाको कुरा मात्रै हुँदैन, यसमा उपभोक्तालाई सूचना र सेवा उपलब्ध गराउने सेवा प्रदायकहरु, उपभोक्ता रहेको र सेवाप्रदायक रहेको समुदाय, कानून हेर्ने निकायहरु, कानूनी संयन्त्र तयार पार्ने नियामकहरु सबैको विषय आउँछ ।

यी सबै सरोकारवालाहरुको पक्षमा डिजिटल सेक्युरिटीको हिसावले के के हुनुपर्छ भन्ने कुरा चाहिँ महत्वपुर्ण छ ।

उपभोक्ता सचेतना

अहिले हाम्रो सरोकारको विषय चाहिँ डिजिटल सूचना तथा सेवाको जुन उपभोग छ, त्यसलाई कसरी सुरक्षित राख्ने भन्ने नै हो । उपभोक्ताको पक्ष हेर्दा खेरी अहिलेसम्म के छ भने, उनीहरु प्रविधिमा डुलिरहेको वा निर्भर भएको तर सुरक्षाको विषयमा चाहिँ कम सचेत रहेको देखिन्छ ।

त्यसैले यहाँनिर डिजिटल उपभोक्तामा सेक्युरिटी फर्स्ट (सुरक्षा पहिलो शर्त) हुनुपर्छ । यसका लागि सचेतना, समाधानका विकल्पहरु उपलब्ध गराउन र प्रचलित अभ्यासमा जोड दिन आवश्यक छ ।

अनलाइन तथा डिजिटल उपभोक्तावादमा ग्राहकहरु झुक्किने र गलत प्रलोभनमा पर्ने समस्या धेरै मात्रामा देखिने गरेको छ । त्यसमा पनि सचेतना अपनाउन जरुरी छ ।

ग्राहकहरुलाई सही समयमा उचित सूचना उपलब्ध गराउन सकियो भने बढी सुरक्षित बनाउन सकिने र पछि गएर उपभोगको अनुभवमा पनि अभिवृद्धि गर्न सकिने हुन्छ ।

अनि ग्राहकहरु चाहिँ सेवाका शर्त, गोपनीयता नीति, सामान फिर्ता तथा क्षतिपुर्ति सम्बन्धि व्यवस्था, आफ्नो अधिकार लगायतका विषयमा कम सचेत रहेको देखिन्छ । यस्ता विषयमा हामीले बढी भन्दा बढी ग्राहकहरु सचेत र जागरुक बनाउन जरुरी देखिन्छ ।

यसो गर्न सकियो भने ग्राहकहरुको क्षेत्रमा हुने जोखिम कम गर्न र उनीहरुको अधिकारलाई केही हदसम्म रक्षा गर्न सकिन्छ ।

व्यवसायीको दायीत्व र जिम्मेवारी

यसैगरी सेवाप्रदायहरुले पनि सही उत्पादन, सही सेवा र सही सूचना दिन जरुरी छ । कतिपय मामिलाहरुमा के देखिएको छ भने, सूचना एउटा हुन्छ, उत्पादन अर्कै हुन्छ, अनि सेवा र सुविधा अर्कै हुन्छ ।

त्यसैले यहाँनिर सेक्युरिटी कन्ट्रोल र प्रोटोकलको पालना गर्नु अत्यन्तै महत्वपुर्ण छ । नेपालमा केही हदसम्म सेक्युरिटी कन्ट्रोल र प्रोटोकल आत्मसाथ गरेको त देखिन्छ ।

तर, सर्टिफिकेसन लिने प्रचलन भने निकै कम छ । त्यसैले व्यवसायीहरुले पनि आफ्नो सेक्युरिटीको सर्टिफिकेसनहरु बनाउने काम गर्नसके अझै राम्रो हुन्छ ।

व्यवसायीहरुले स्वच्छ व्यवसायिक अभ्यासमा ध्यान दिन आवश्यक छ । सम्झौतापत्र कसरी बनाउने, तथ्याङ्क संरक्षणका लागि कुन नियमन पालना गरिएको छ भन्ने कुराहरु पनि प्रस्ट हुनुपर्छ ।

नियमन

अहिले युरोपको जनरल डेटा प्रोटेक्सन रेगुलेसन–जीडीपीआर (सामान्य तथ्याङ्क संरक्षण सम्बन्धि नियम) तथ्याङ्क सुरक्षा र संरक्षणका हिसावले विश्वभर प्रशिद्ध अभ्यास मानिन्छ । नेपालमा त्यसैलाई पछ्याउँदा पनि फरक पर्दैन ।

अनि ग्राहकलाई दिएको उत्पादन तथा सामग्रीलाई मर्मत गर्ने, साँटफेर गर्ने, पैसा फिर्ता दिने, रद्द गर्ने, क्षतिपुर्ति दिने, वारेन्टी दिने जस्ता काम हरु गरेको छ कि छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । यस्ता कुराहरुले ग्राहकको सुरक्षालाई धेरै हदसम्म समेट्न सक्छन् ।

कतिपय व्यावसायहरु कानूनी प्रबन्ध वा व्यवस्था थाहै नपाएर सुरु गरिएका पनि हुन्छन् । उपभोक्ता हीत संरक्षण ऐन बनिसकेको छ । त्यसैले व्यवसायीहरुले कानूनी प्रवधान थाहा पाउने र त्यसलाई पालना गर्ने कुरामा ध्यान दिन जरुरी छ ।

अन्य सरोकारवालाको भूमिका

समग्र रुपमा व्यवसायिक समुदायले ग्राहकको हीतमा केन्द्रीत भएर काम गर्न सक्छन् । नेपालमा सर्ट (कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम) को काम गर्ने संघसंस्थाहरु पनि छन् ।

यस्ता संस्थाहरुले कुनै गम्भीर किसिमका समस्याहरु आएमा व्यावसायिक प्लेटफर्महरुलाई सहयोग उपलब्ध गराउन सक्छन् । यसका साथै व्यवसायीहरुका समुदायले स्वयम् जोखिम कम गर्ने सञ्जाल तयार पार्ने, असल अभ्यासहरु बाँड्ने कामहरु गर्न सक्छन् ।

यसैगरी कानून सम्वद्ध निकायहरुले सूचना प्रविधिसँग सम्बन्धित कानूनहरुलाई कसरी व्याख्या गर्ने, नजीरहरु कसरी स्थापित गर्ने, लगायतका अभ्यासहरु पनि अपनाउन एकदमै आवश्यक छ ।

विवाद समाधानको नयाँ सहायता प्रणाली बनाउन सकियो भने डिजिटल उपभोक्ता अधिकारका समस्याहरु चाँडो भन्दा चाँडो हल गर्न सकिन्छ । अर्कोतर्फ आवश्यक नियम कानूनहरु तयार गर्ने विषयमा समेत नियमनकारी निकायहरु सक्रिय हुन जरुरी छ ।

समग्रमा उपभोक्ता, व्यवसायीहरु, समुदाय, कानूनी संयन्त्र र नियामक सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट सुरक्षामा ध्यान दिन सके मात्रै डिजिटल उपभोक्तावाद सुरक्षित हुनसक्छ ।

लेखक पराजुली आईटी कन्सल्ट्यान्ट तथा रिस्क स्पेसलिस्ट हुन्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१