close

विश्व राज गर्ने ४४ वर्षे एप्पलको कथा

टेकपाना टेकपाना

चैत २५, २०७६ १९:३८

विश्व राज गर्ने ४४ वर्षे एप्पलको कथा

Photo Source: Kuni/AP

एप्पलले भर्खरै आफ्नो ४४ औं जन्म दिन मनाएको छ । १९९७ मा जब स्टिभ जब्स एप्पलको सीईओको रुपमा आए, त्यतिखेर एप्पल माइक्रोसफ्ट र उसका साझेदारहरुले वर्चश्व कायम गरेको प्रतिस्पर्धात्मक बजारमा भर्खरै खुट्टा टेक्ने प्रयास गर्दै थियो ।

एकताका डेल कम्पनीका संस्थापक माइकल डेलले आफू स्टिभ जब्सको ठाउँमा भएको भए एप्पल कम्पनीलाई बन्द गरेर सबै शेयर होल्डरलाई पैसा फिर्ता गरिदिने बताएका थिए । 

आज हामी तपाईंलाई एप्पलको सुरुवातदेखि उसका अप्ठ्यारा परिस्थिति र भव्य सफलताको दौडलाई खोतल्दै छौं । स्टिभ जब्स र स्टिभ वजनियाक मिलेर १९७६ को अप्रिल १ मा लस अल्टोस, क्यालिफोर्नियामा एप्पल कम्पनी स्थापना गरे ।

steve jobs wozniak
Source: Kimberly White/Reuters

उनीहरुसँगै कम्पनीका अर्का सहसंस्थापक पनि थिएः रोनाल्ड वेनी । जब्सले वेनीलाई व्यावसायिक निर्देशन दिने गरी बोर्डमा ल्याएका थिए । वेनीले पहिलोपटक एप्पलको ब्राण्ड लोगो आफ्नै हातले बनाए । 

तर कम्पनी औपचारिकरुपमा सुरुवात नहुँदै उनले एप्पल कम्पनी छोडे ।। उनले कम्पनीमा रहेको आफ्नो शेयरबापत आठ सय डलरको चेक लिए । 

Ronald Wayne Apple
Source: MediaNews Group/The Mercury News via Getty Images

एप्पलको पहिलो कार्यालय स्टिभ जब्सको ग्यारेजमा स्थापना भएको थियो । एप्पलको पहिलो प्रडक्ट एप्पल फस्ट थियो । यो एउटा मदरबोर्ड, एउटा प्रोसेसर र केही मेमोरीले बनाइएको थियो ।

steve jobs garage
Source: Dino Vournas/AP

सेवाग्राहीले यो उत्पादन खरिद गरेपछि आफैले यसमा किबोर्ड र मनिटर जोड्नु पर्दथ्यो । यसलाई कम्पनीले त्यस समय ६६६.६६ डलरमा बिक्री गरेको थियो । एप्पल फस्ट स्टिभ वजनियाकले बनाएका थिए । उनले सबै किटलाई हातैले बनाएका थिए ।

Apple I computer Apple 1
एप्पल वान कम्प्युटर । Source: Justin Sullivan/Getty Images

त्यो समय स्टिभ जब्सले कम्पनीको व्यवस्थापन तथा सञ्चालनको पाटो सम्हाल्न थाले । पर्सनल कम्प्युटरको बजार फस्टाउने उत्कर्षको समय रहेकाले उनी लगानीकर्ताहरुलाई आकर्षित गर्ने काममा जुटे ।

त्यही बेला जब्सले माइक मर्कुलालाई एप्पलमा ल्याउन सफल भए । एप्पलमा उनी त्यो बेला २ लाख ५० हजारको लगानीका साथ प्रवेश गरेका थिए । यस हिसावले उनले कम्पनीमा एक तिहाई लगानी गरे । 

Mike Markkula
माइक मर्कुला । Source: Paul Sakuma/AP

मर्कुलाकै निर्देशनमा रहेर १९७७ मा एप्पल कम्पनी आधिकारिकरुपमा कर्पोरेट कम्पनीको रुपमा स्थापित भयो । मर्कुलाकै सल्लाहमा कम्पनीको पहिलो सीईओ तथा अध्यक्षको रुपमा माइकल स्कट नामका व्यक्तिलाई कम्पनीमा ल्याइयो ।

त्यस समय जब्स एकदमै कलिलो उमेरको र सीईओको रुपमा काम गर्न आवश्यक विशेषताको अपुग भएको ठहर गरिएको थियो । १९७७ मा कम्पनीले एप्पल सेकेण्ड कम्प्युटर ल्याएको थियो । स्टिभ वजनियाकले डिजाइन गरेको उक्त पर्सनल कम्प्युटले विश्वभर तूफान नै ल्याइदियो ।

Apple II computer
Source: Eric Risberg/AP

एप्पल सेकेण्डमा एउटा किलर एप भिसिकाल्क थियो । यो एउटा ग्राउण्ड ब्रेकिङ स्प्रिडसिट सफ्टवेयर थियो, जसले एप्पलको कम्प्युटरलाई त्यो बेला बजार लिड गरिरहेका ट्याण्डी र कोमोडर जस्ता कम्पनीका कम्प्युटरलाई पनि माथ दिएर अगाडि जाने बल प्रदान गरेको थियो ।

भिसिकाल्ककै कारण एप्पलले आफ्नो एप्पल सेकेण्ड कम्प्युटर आफ्ना विजनेस ग्राहकहरुलाई समेत बिक्री गर्न सफल भयो । १९७८ मा एप्पलको आफ्नै कार्यालय बन्यो । उसका आफ्नै कर्मचारी थिए । साथै एप्पल सेकेण्डको प्रडक्ट लाइनमा उसले काम गर्न थालेको थियो । 

Apple production line
एप्पल कम्प्युटर प्लाण्टमा एप्पल सेकेन्ड सी की बोर्ड । Source: Bettmann/CORBIS/Bettmann Archive

जेरोक्स पीएआरसी ल्याब आफ्ना प्राविधिक सफलताहरुका लागि विश्वभर नै चर्चित छ । यही प्रयोगशालामा लेजर प्रिन्टर, माउस र इथरनेट नेटवर्किङ बनेका हुन् । १९७९ मा एप्पलका इन्जिनियरहरुले पीएआरसी क्याम्पसमा तीन दिन भ्रमण गर्ने अवसर पाए ।

Xerox PARC
Source: Xerox/Getty Images

त्यो बेला पीएआरसीले एप्पलको एक लाख कित्ता शेयर १० डलर प्रति गोटाको हिसावले किन्ने सम्झौतामा उक्त भ्रमणको आयोजना भएको थियो । १९८० एप्पल कम्पनीले एप्पल थर्ड सार्वजनिक गर्‍यो । यो एउटा विजनेस फोकस कम्प्युटर थियो ।

आईबीएम र माइक्रोसफ्टका कम्प्युटरहरुसँग प्रतिस्पर्धा गर्न यो कम्प्युटर सार्वजनिक गरिएको थियो । तर यो कम्प्युटर छोटो समयका लागि मात्र बजारमा आएको थियो । त्यस समय जेरोक्स पीएआरसीले विभिन्न दिशाबाट सोच्न सक्ने क्षमता रहेको चाल स्टिभ जब्सले पाएका थिए ।

Apple III computer
Source: SSPL/Getty Image

जेरोक्स पीएआरसीले त्यही बेला जब्सलाई कम्प्युटिङको भविष्य ग्राफिकल युजर इन्टरफेस जीयुआईमा रहेको कुरा अन्दाज गर्न सघायो । आज हामी त्यही जीयूआई प्रयोग गरिरहेका छौं ।

त्यसपश्चात जब्सले एप्पलको नयाँ पुस्ताको कम्प्युटर लिसामा जीयूआई राख्ने कार्यको नेतृत्व लिए । तर कम्पनीभित्र आन्तरिक प्रतिस्पर्धाका कारण उनी परियोजनाबाट बाहिरिए । लिसा १९८३ मा सार्वजनिक भएको थियो ।

steve jobs young lisa computer 1983
१९८३ मा लिसा कम्प्युटरको साथमा स्टिभ जब्स । Source: ed Thai/The LIFE Picture Collection/Getty Images

जुन त्यस समय एकदमै चर्चाको विषय बनेको थियो । तर महंगो मूल्य र पर्याप्त सफ्टवेयर सपोर्ट नभएका कारण यसको बिक्री एकदमै घातक भयो ।

जब्सले एप्पलको दोस्रो परियोजनामा संलग्न हुने मौका पाए । उक्त परियोजना एप्पलको त्यस समयसम्मको सबैभन्दा धेरै युजर फ्रेण्ड्ली कम्प्युटर एप्पलको मेसिनटोस बनाउने थियो । ग्राफिक डिजाइन प्रोफेसनलहरु माझ यो निकै चर्चित पनि रह्यो । यो अझै पनि धेरै महंगो छ ।

१९८३ मा एप्पल कम्पनीको मेसिनटोस सार्वजनिक भयो र त्यही समय एप्पलमा जोन स्कुली नयाँ सीईओको रुपमा प्रवेश गरे । स्कुलीले पेप्सी कम्पनीको सबैभन्दा कान्छो सीईओको भूमिका निर्वाह गरिसकेका थिए ।

Steve Jobs
१९८४ मा एप्पल कम्प्युटर बोर्ड अध्यक्षको रुपमा स्टिभ जब्स र मेसिन्टोस कम्प्युटर । Source: AP Photo/Paul Sakuma

जब्सले स्कुलीलाई तपाईं जीवभर चीनी र पानी बेचेर बस्न चाहनुहुन्छ वा मसँग आएर विश्वलाई परिवर्तन गर्न चाहानुहुन्छ भन्ने प्रश्न राखेर उनलाई एप्पलमा ल्याएका थिए ।

१९८४ मा एप्पलको पहिलो टीभी व्यवसायिक रुपमा रिलिज भयो । रिड्ले स्कोटले उक्त विज्ञापनको निर्देशन गरेका थिए । त्यस समय कम्पनीले १५ लाख डलरमा उक्त विज्ञापन गराएको थियो । विज्ञापनको नाम नै १९८४ दिइएको थियो ।

स्टिभ जब्स र बिल गेट्सबीच त्यही समय तनाव चुलिएको थियो । माइक्रोसफ्टले मेसिनटोसका लागि सफ्टवेयर बनाउन कडा मेहेनत गरिरहेको थियो ।

माइक्रोसफ्टले आफू पनि विण्डोज नामको ग्राफिकल युजर इन्टरफेसमा काम गरिरहेको खुलासा गर्‍यो । जसका कारण एप्पलको त्यो योजना १९८३ मा एकाएक विफल भयो । मेसिनटोसको विक्री व्यापक भएको थियो । तर पनि उसले आईबीएमको वर्चस्वलाई भने ढाल्न सकेन ।

यसले गर्दा मेसिनटस ग्रुपका प्रमुख जब्स, जो आफ्नै तरिकाले काम गर्न चाहन्थे र सीईओ स्कुली जो लिसाको घातक व्यापार र मेसिनटोस प्रतिको निराशापछि भावी प्रडक्टमा कडा भिजनका साथ काम गर्ने चाहन्थे, दुवैबीच मतभेद उत्पन्न हुन थाल्यो ।

एप्पलको बोर्डले जब्सलाई नियन्त्रण गर्नस्कुलीलाई निर्देशन दियो । १९८५ मा अवस्था चरम विन्दुमा पुग्यो । त्यसपछि जब्सले कू गर्दै स्कुलीलाई बहिर्गमन गरे । तर एप्पलको बोर्डले स्कुलीको पक्ष लिदैँ जब्सलाई उनको व्यवस्थापकीय जिम्मेवारीबाट हटायो ।

दृढ स्वभावले भरिपूर्ण जब्सले एप्पल कम्पनी छोडेर अर्को कम्प्युटर कम्पनी नेक्स्टको स्थापना गरे । जहाँ उनको पूर्ण नियन्त्रण थियो । त्यही बेला वजनियाकले पनि कम्पनी गलत दिशातिर गईरहेको भन्दै आफ्नो अधिकांश शेयर विक्री गरेर कम्पनी छाडे ।

steve jobs
४ अप्रिल १९९१ मा स्टिभ जब्स र उनको नेक्स्ट कम्प्युटर इन्क। Source: AP Images

जब्स बाहिरिएसँगै एप्पल कम्पनीमा अब स्कुली खुल्ला भए । सुरुवातमा सबै कुरा राम्रै थियो । एप्पलले आफ्नो पहिलो पावर बूक ल्यापटप र सिस्टम सेभेन अपरेटिङ सिस्टम ल्यायो । सिस्टम सेभेनले मेसिनटोस ओपरेटिङ सिस्टममा कलर थप गर्‍यो ।

John Sculley Apple Computer
Source: Associated Press

त्यसपश्चात २००१ मा रिलिज भएको ओए एक्सको अपडेटमै एप्पल कम्पनी झुण्डिरह्यो । १९९० मा एप्पल नयाँ बजारभित्र रुमल्लियो । उसले राम्रो प्रदर्शन गर्न सकेन । ९० को दशकमा एप्पलले सबैभन्दा ठूलो प्रडक्ट असफलताको सामना गर्नुपर्‍यो ।

जुन १९९३ को न्युटन म्यासेज प्याड थियो । यो स्कुलीको अवधारणामा आधारित प्रडक्ट थियो । यसले पर्सनल डिजिटल असिस्टेन्टहरुका लागि बजार सिर्जना गरेको थियो । यसको मूल्य ७०० डलर थियो । तर यसले नोट लिने र कन्ट्याक्ट ट्रयाक गर्ने काम मात्र गर्दथ्यो ।

Apple Newton
Source: SSPL/Getty Images

तर स्कुलीको सबैभन्दा ठूलो र लामो समयसम्मको गल्ती भनेको उनले डोमिनेन्ट इन्टेल प्रोसेसर आर्टिटेक्चरको साटो ब्राण्ड न्यु आईबीएम मोटोरोला पावर पीसी माइक्रो प्रोसेसरमा सिस्टम सेभेन ल्याउन धेरै समय र धेरै पैसा खर्च गरे ।

अधिकांश सफ्टवेयरहरु इन्टेल प्रोसेसर लेखिएका थिए र यो वर्षैपिच्छे सस्तो हुँदै गइरहेको थियो ।त्यही समय माइक्रोसफ्टको प्रभाव फैलिरहेको थियो । म्याकले महंगो कम्प्युटरमा उत्कृष्ट, तर सिमित सफ्टवेयरहरु दिइरहेको थियो ।

त्यसबेला माइक्रोसफ्टले सस्तो र कमोडिटी कम्प्युटरहरुमा विण्डोज ३.० बिक्री गरिरहेको थियो ।एप्पल बोर्डले त्यो बेला कयौं गलत निर्णयहरु गरिसकेको थियो । जसमा पावर पीसीमा जाने जस्तो महंगो निर्णयदेखि धेरै हाई प्रोफाइल असफलता पनि भोगिसकेको थियो ।

एप्पलले १९९३ मा आफ्नो पहिलो चौमासिकको कमाई नै गुमाउनु पर्‍यो । त्यसपश्चात सीईओ स्कुलीले राजीनामा दिए । माइकल स्पिण्डलर नयाँ सीईओको रुपमा एप्पलमा आए । उनी जर्मन नागरिक थिए र एप्पलमा १९८० देखि जोडिएका थिए ।

स्कुलीको पावर पीसीमा सिफ्ट हुने ठूलो गल्तीले स्पिण्डलरको कार्यकाललाई पनि पछ्याइरह्यो । १९९४ मा पावर पीसीमा रन भएको पहिलो मेसिनटोस सार्वजनिक भयो । तर माइक्रोसफ्टको उडान उचाइमा पुग्दै जाँदा एप्पलको व्यवसायको नक्सा ओरालो लाग्दै थियो ।

स्पिण्डलरको कार्यकालमा आईबीएम, सन माइक्रोसिस्टम र फिलिप्स जस्ता कम्पनीको स्वामित्व खरिद गर्ने कुरा भएका थिए । तर त्यो असफल भएपछि एप्पलको बोर्डले १९९६ मा स्पिण्डलरलाई हटाउँदै गिल एमिलियोलाई सीईओ नियुक्त गर्‍यो ।

एमिलियोको कार्यकाल पनि समस्याग्रस्त नै रह्यो । उनको कार्यकालमा एप्पलले आफ्नो आयमा बाह्र वर्षसम्मकै सबैभन्दा ठूलो मार खेप्नु पर्‍यो । एमिलियोले १९९७ मा स्टिभ जब्सलाई एप्पलमा फिर्ता ल्याउन उनको कम्पनी नेक्स्ट कम्प्युटरलाई ४२ करोड २० लाख डलरमा खरिद गर्‍यो ।

Steve Jobs Next
Source: Dick Drew/AP

त्यही वर्षको जुलाई ४ मा जब्सले बोर्डरुम कू गरेर आफूलाई कम्पनीको सीइओ बनाउन एप्पलको बोर्डलाई तयार बनाए । एप्पलले उनलाई अन्तरिम सीईओको रुपमा चयन गर्‍यो र त्यसको एकहप्ता पछि एमिलियोले राजीनामा दिए ।

१९९७ मा एप्पलले चर्चित थिंक डिफरेन्ट एड अभियान सञ्चालन गर्‍यो । जसमा चर्चित कलाकार, वैज्ञानिक तथा संगीतकारहरु पनि सहभागी भए । जब्सको नेतृत्वमा कम्पनीले माइक्रोसफ्टसँग राम्रो सम्बन्ध स्थापित गर्‍यो । माइक्रोसफ्टले १९९७ मा एप्पल सिर्कामा १५ करोड डलरको लगानी गर्‍यो ।

Apple think different
Source: Gilles Mingasson/Liaison/Getty Images

यो हार्डवेयर र सफ्टवेयरको समय थियो । जब्सले जोनी इभको नेतृत्वमा आईम्याकको डिजाइन गराए । यो १९९८ मा रिलिज भएको अल ईन वान कम्प्युटर थियो । जब्सले सन् २००० मा सिस्टम सेभेनलाई विस्थापन गर्दै नेक्स्ट कम्प्युटरको अपरेटिङ सिस्टममा आधारित म्याक ओएस एक्स ल्याए ।

२००६ मा एप्पल अन्ततः इन्टेलमा आधारित सिस्टम आर्किटेक्चरमा सिफ्ट भयो । एप्पलले २००० को दशमा दुईओटा एकदमै प्रभावशाली प्रडक्टहरु उत्पादन गर्‍यो । २००१ मा आईपोड, जसले एमपी थ्री प्लेयरको बजारलाई विस्थापन गरेर म्युजिक सुन्ने हाम्रो बानीमै परिवर्तन ल्याइदियो ।

ipod steve jobs john mayer 2004
जोन मेयर, स्टिभ जब्स र आईपोड । Source: Justin Sullivan/Getty Images

एप्पलले आईपोडसँगै एप्पलको लोगो भएको इयर बड पनि सार्वजनिक गर्‍यो । तर एप्पलको एकमात्र सबैभन्दा ठूलो उपलब्धी २००७ सालमा भयो । जब उसले आईफोन विश्व बजारमा ल्यायो ।

Steve Jobs
Source: Alessia Pierdomenico / Reuters

जब यो प्रडक्ट बजारमा आयो, तब मानिसहरु अमेरिकाको स्टोरबाहिर यसलाई लिन कुर्न थाले ।२०११ मा जब्सको निधनपछि आएका सीईओ टिम कुकको नेतृत्वमा एप्पलले १७ भन्दा धेरै मोडेलहरु रिलिज गरिसकेको छ । अहिले एप्पल खर्बौं डलरको कम्पनी भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१