close

क्वारेन्टाइन स्थलहरुमा इन्टरनेट पुर्‍याउँदै वर्ल्डलिङ्क

टेकपाना टेकपाना

चैत २६, २०७६ १६:४८

क्वारेन्टाइन स्थलहरुमा इन्टरनेट पुर्‍याउँदै वर्ल्डलिङ्क

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडव्यान्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले क्वारेन्टाइन स्थलहरुमा इन्टरनेट सेवा पुर्‍याउन सुरु गरेको छ । कोभिड-१९ अर्थात कोरोना भाइरस देखा परेका बिरामीहरुको सम्पर्कमा रहेका मानिसहरु राखिने क्वारेन्टाइन स्थलहरुमा कम्पनीले तीब्र गतिको इन्टरनेट दिन थालेको हो ।

केहो क्वारेन्टाइन स्थलमा इन्टरनेट सेवा प्रदान गर्न सफल भइसकेको भन्दै कम्पनीले आवश्यक परेको खण्डमा अन्य स्थलमा समेत इन्टरनेट सेवा प्रदान गर्न आफूहरु तयार रहेको जनाएको छ । इन्टरनेट सेवाका कारण क्वारेन्टाइनमा समय विताउन र खबर तथा अपडेट प्राप्त गर्ने कार्यमा सहजीकरण हुने कम्पनीको विश्वास छ । ।

वर्ल्डलिंकले अहिलेको विषम् परिस्थितिमा समेत भरपर्दो सेवा सुविधा उपलब्ध गराई देश र जनतालाई सेवा पुर्‍याउने कार्यमा कम्पनी निरन्तर रुपमा लागि परेको उल्लेख गरेको छ ।

अहिले कोभिड–१९ को महामारीका कारण समग्र विश्वले कठिन परिस्थितिको सामना गरिरहेको छ । यस्तो बेला नेपालमा पनि यसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ ।

सबै जना घरमै बस्न बाध्य अहिलेको परिस्थितिमा दैनिक कार्य घरबाटै सञ्चालन गर्ने, समाचारहरु सुन्ने तथा हेर्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने तथा मनोरञ्जन गर्ने अनि समय व्यतित गर्ने माध्यमको रुपमा इन्टरनेटको अत्यधिक प्रयोग भइरहेको छ ।

अनलाइन बैकिङ, अनलाइन एजुकेसन, कर्पोरेट काम, अनलाइन मेडिकल परामर्श जस्ता चुनौतिपूर्ण कार्यहरु समेत अहिलेको समयमा इन्टरनेटकै कारण सम्भव भइरहेका छन् । इन्टरनेट खपत बढेसँगै व्याण्डविथमा समस्या आइरहेको सेवाप्रदायहरुले बताउँदै आएका छन् । जसका कारण आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा प्रवाह गर्न केही असहज परिस्थिति सिर्जना भएको उनीहरुको भनाई छ ।

त्यसका बावजूद वर्ल्डलिंकले भने लकडाउनको समयमा समेत अत्यावश्यक सेवा भरपर्दो किसिमले प्रवाह गर्न देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने व्यवस्था मिलाएको छ ।

आइसोलेटेड समूहको स्थापना गरेको कम्पनीले महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीहरुका परिवार तथा आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी शाखा कार्यालयहरुमै उनीहरुका लागि खान बस्नको व्यवस्था मिलाएको छ ।

कम्पनीले फिल्ड सपोर्टमा खटिने कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै समय समयमा स्वास्थ्य जाँच गराउनुका साथै उनीहरुका लागि पीपीई सेट र पर्याप्त मात्रामा सेफ्टी किटको प्रबन्ध समेत मिलाएको जानकारी दिएको छ ।

‘टिमको महत्वपूर्ण सहयोगबाट प्रमुख प्राथमिकतामा रहेका आउटेजहरु ह्याण्डल गर्ने, सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटमा आएका विविध समस्याहरु समाधान गर्न सफल भइरहेका छौँ,’ कम्पनीले भनेको छ, ‘कम्पनीको यस किसिमको प्रयासको ग्राहकहरुबाट समेत प्रसंशा प्राप्त भइरहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१