close

कोरोना ट्र्याकिङ सहित डाक्टरको परामर्श दिने एप, सरकारलाई निःशूल्क प्रयोग गर्न दिइने

टेकपाना टेकपाना

चैत २७, २०७६ १३:११

कोरोना ट्र्याकिङ सहित डाक्टरको परामर्श दिने एप, सरकारलाई निःशूल्क प्रयोग गर्न दिइने

काठमाडौं । रामलक्ष्मण इन्नोभेसन प्रालिले कोभिड-१९ (कोरोना भाइरस) का संक्रमित ट्र्याकिङ सहित डाक्टरको परामर्श दिने एप तथा सफ्टवेर विकास गरेका छन् । कम्पनीको ९ जना प्राविधिक सहितको टिमले करीब एक महिना लामो प्रयासमा एकीकृत र अन्तरकृयात्मक प्रणालीको विकास गरिएको हो । 

एपबाट बिरामीले प्रविष्ठ गरेका आफ्ना स्वास्थ्य समस्याका विषयमा विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचारको जानकारी प्राप्त गर्न सक्नेछन् ।

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहँदा नेपाल समेत विगत दुई सातादेखि लकडाउनमा छ । कोभिड- १९ संक्रमितको संख्या ९ जना पुगिसकेको नेपाल महामारीको दोश्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा कोरोनाको संक्रमण फैलिन नदिन विभिन्न क्षेत्रबाट अनेक प्रयासहरु जारी छन् ।

यसैक्रममा रामलक्ष्मण इनोभेसन्स प्रालिले नेपालमा कोरोनाको संत्रास सुरु भएदेखि थालेको प्रयासले यतिखेर मूर्त रुप लिएको छ । लकडाउनको समयमा घरमै बसेका तथा सेल्फ क्वारेन्टाइनमा रहेका सर्वसाधारण र अस्पताल भर्ना भएका बिरामीहरुले घरबाटै विज्ञ चिकित्सकसँग आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने र त्यसको दैनिक विवरण हेर्न तथा मुल्यांकन सकिने सहितको कन्ट्याक्ट ट्र्याकिङको रीक्ततालाई पुर्ति गर्न मोबाइल तथा कम्प्युटर सफ्टवेयरको विकास गरिरहेको हो  । 

मोबाइल एपमार्फत डाटा प्रविष्ठ गर्ने, रिपोर्ट तथा वेबमा आधारित लिंक मार्फत विस्तृत रिपोर्ट (चाहेको ढाँचामा) तयार गर्न सकिन्छ । ‘आजको विषम परिस्थितीमा हामी आफैंले आआफ्नो क्षेत्रबाट के योगदान गर्न सकिन्छ, भनेर सोच्ने बेला हो,’ रामलक्ष्मणले भनेका छन्, ‘त्यसैले हामी हाम्रोतर्फबाट सरकार, गैरसरकारी निकाय, अन्य सम्बन्धित स्वयंसेवी संस्था आदिमा उपयोग गर्न मिल्ने गरी यो एप र सफ्टवेयर  बनाएका छौँ । जुन निःशुल्क उपलब्ध गराउन चाहन्छौं ।’

एप तथा सफ्टवेयरका लागि कम्पनीको प्राविधिक टिमले आवश्यक सहयोग समेत उपलब्ध गराउनेछ । रामलक्ष्मण इन्नोभेसनले तयार पारेकाे कोभिड-१९ ट्र्याकिङ एप तथा सफ्टवेयरमा हालसम्म विकास भएका केही विशेष फिचर समेत समावेश गरिएको छ । 

यस्ता छन् फिचरः

लकडाउनमा बसेका आम सर्व साधारणहरुसँग विज्ञ चिकित्सक र सरकारी अधिकारीलाई जोड्ने यो एप तथा सफ्टवेयरबाट बिरामीहरुले आफ्नो लोकेसन,  यात्रा विवरण, डाक्टरसँग परामर्श, कोरोनासँग सम्बन्धित विवरण तथा सरकारले जारी गरेका सूचनाहरु प्राप्त गर्न सक्छन् । 

यसैगरी डाक्टरहरुले  बिरामीको पुरानो दैनिक विवरण प्राप्त गरी प्राथमिकता क्रम अनुसार नामावली हेर्न सक्छन् ।   बिरामीले भरेको विवरणका आधारमा सल्लाह प्रदान गर्न सकिने यो एपबाटै संदिग्ध बिरामीको विवरण सकारले तोकेका अस्पताल तथा स्वास्थ्य संस्थामा दिन समेत सकिन्छ । 

सरकारी अधिकारीहरुले यो एप तथा सफ्टवेयरबाट आफ्नो स्थानीय तहअनुसार लकडाउनमा बसेका, संक्रमित लगायतका व्यक्तिहरुको विवरण प्राप्त गर्न सक्छन् । नक्शाबाटै संक्रमित व्यक्तिलाई ट्रेस गर्न सकिने लगायत फिचर यसमा समावेश गरिएको छ । एप नेपाली र अंग्रेजी दुवै भाषामा प्रयोग गर्न मिल्छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१