close

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै गायब !

टेकपाना टेकपाना

चैत २७, २०७६ २३:२८

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै गायब !

काठमाडौं । प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै डिलिट भएको पाइएको छ । बिहीबार बेलुकी आठबजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको भेरिफाइड फेसबुक पेज नै देखिन छाडेको हो ।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शुक्रबार र शनिबार सर्वसाधारणहरु उपत्यकाबाट बाहिरी जिल्लामा जाने मार्ग खोल्ने निर्णय गरेको भन्दै पोस्ट गरिएको थियो ।

तर त्यसको केही समयपछि साेही पोस्ट अपडेट गर्दै स्थानीय र प्रदेश सरकारले मान्यता नदिएकाले निर्णय फिर्ता भएको उल्लेख गरिएको थियो ।

तर, उच्च स्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यस्तो कुनै निर्णय नै नभएको भन्दै सञ्चार माध्यमहरुले लेखेको समाचारको खण्डन गर्दै फेसबुकमा पोस्ट गरे । दुवै सरकारी भनाईहरु आपसमा बाझिएपछि सञ्चारमाध्यम र सामाजिक सञ्चालमा सरकारको चर्को आलोचना भइरहेको छ ।

विभिन्न कारणले रोकिएका नागरिकहरुलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको भन्दै सञ्चार माध्यममा प्रसारित समाचारको खण्डनमा गृह मन्त्रालयले समेत प्रेस विज्ञप्ति जारी गरेको छ ।

उपत्यकामा रहेका सर्वसाधारणलाई बाहिर जान दिने निर्णयमा डेढ घण्टा समेत नटिक्नु सरकारको अपरिपक्वता भएको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री कार्यालयको फेसबुक पेजबाट उक्त पोस्ट हटाइएको थियो । तर त्यसको केही समयपछि करीब दुई हजार लाइक रहेको उक्त फेसबुक पेज नै गायब भएको हो ।

फेसबुकमा गायब प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४