close

कोरोना ट्रयाकिङ गर्न सरकारले माग्यो प्रयोगकर्ताको सिम र मोबाइलको जानकारी

टेकपाना टेकपाना

चैत २८, २०७६ १२:१९

कोरोना ट्रयाकिङ गर्न सरकारले माग्यो प्रयोगकर्ताको सिम र मोबाइलको जानकारी

काठमाडौं । सरकारले कोरोना भाइरसका संभावित संक्रमित ट्र्याकिङका लागि दूरसञ्चार सेवा प्रदायकसँग चैत महिनाको सिम र मोबाइलको जानकारी मागेको छ । विदेशबाट आएका र सीमाबाट नेपाल भित्रिएकाहरुको पहिचानको लागि भन्दै चैतमा एक्टिभ गरिएका सिम र मोबाइलको जानकारी उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई भनिएको हो ।

सरकारले कोभिड-१९ विरुद्धको काम गर्न गठन गरेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत उक्त जानकारी उपलब्ध गराउन प्राधिकरणलाई पत्र पठाएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले उक्त तथ्याङ्कमार्फत कोभिड-१९ को संक्रमण फैलिन नदिनका लागि मोबाइल फोन मार्फत ट्रयाकिङ गर्ने योजना बनाइएको जानकारी दिए ।

खनालका अनुसार पत्रमा मार्च १५ अर्थात चैत २ गतेदेखि नेपालमा एक्टिभ गरिएका सिम कार्डहरुको नम्बर र मोबाइलको जानकारी उपलब्ध गराउन भनिएको छ । उक्त पत्रका आधारमा प्राधिकरणले सेवा प्रदायकसँग तथ्याङ्क संकलनको प्रक्रिया पनि अघि बढाइसकेको छ ।

जसमध्ये नेपाल टेलिकमले तथ्याङ्क उपब्ध गराइसकेको छ भने एनसेल र स्मार्ट टेलिकमलेले शुक्रबारसम्म उपलब्ध गराउने अध्यक्ष खनालले बताए ।

‘हामीले सेवा प्रदायकलाई कानूनअनुसार दिन मिल्ने जानकारी उपलब्ध गराउन भनेका छौं । त्यसमध्ये टेलिकमले उपलब्ध गराइसकेको छ,’ उनले भने, ‘एनसेलबाट तथ्याङ्क आएसँगै हामी सीसीएमसीलाई उपलब्ध गराउने छौं ।’

यो तथ्याङ्कको आधारमा चैत महिनामा हवाई तथा स्थलमार्गबाट नेपाल भित्रिएका व्यक्तिहरुको विवरण संकलन गर्न र कोभिड–१९ को संभावित संक्रमित पत्ता लगाएर ट्र्याकिङ गर्न सहज हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४