close

प्राधिकरणको स्पष्टीकरणः आईटी ल्याबको खरीद कार्यमा कुनै अनियमितता छैन

टेकपाना टेकपाना

चैत २८, २०७६ १५:३

प्राधिकरणको स्पष्टीकरणः आईटी ल्याबको खरीद कार्यमा कुनै अनियमितता छैन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आईटी ल्याब स्थापनामा कुनै पनि किसिमको अनियमितता नभएको बताएको छ । नियामकले शुक्रबार विज्ञप्ति जारी गर्दै आईटी ल्याबमा अनियमितताको विषयमा प्रकाशित समाचारको खण्डन गर्दै स्पष्टीकरण दिएको हो ।

‘विगत केही दिनदेखि केही दैनिक पत्रिका तथा अनलाइन मिडियाहरुले सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यमा अनियमितता भएको भनी संप्रेषण गरेको समाचार प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकारको सूचना प्रविधि नीति, २०७२ वमोजिम शिक्षा क्षेत्रमा सूचना प्रविधिको उपयोग गरी डिजिटल नेपालको अभियान तथा नेपाल सरकारले लिएको दिगो विकासका लक्ष्यहरु प्राप्ति गर्न समेत टेवा पुग्ने अभिप्रायका साथ.. परियोजना अगाडि बढाइएको हो ।’

प्राधिकरणको साढे तीन अर्ब रुपैयाँ बजेटमार्फत आईटी ल्याब स्थापना गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रयोगशाला स्थापना तथा ब्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ तयार पारेको थियो ।

जसअनुसार १००० वटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन गर्न प्राधिकरणले प्रचलित कानून वमोजिम नियमानुसार खरिद प्रकृया अपनाई सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्य अघि बढाइएको प्राधिकरणको दाबी छ ।

तर परियोजनाका लागि म्याक्स इन्टरनेशनल र ओम्नी समूहको जेभीलाई ठेक्का दिन मिलेमतोमा स्पेसिफिकेसन बनाइएको र सार्वजनिक खरीद प्रकृया समेत मिचेको समाचार टेकपानाले गत असोजमै प्रकाशित गरेको थियो ।

http://45.32.118.189/2019/2097/?fbclid=IwAR3SKuOHtGB55vVq2rlXpI2z6eNxhFSuk0iIJEx75xbcEPHH_N_omqyXWfo
आईटी ल्याब स्थापनामा भएको अनियमितता सम्बन्धमा टेकपानाले असोजमा प्रकाशित गरेको समाचार

राज्यका सातवटै प्रदेशका ७७ जिल्ला तथा ७५३ वटै स्थानीय निकायमा सूचना प्रविधि प्रयोगशाला स्थापना, व्यवस्थापन, ढुवानी, मर्मत तथा तालिम समेत प्रदान गर्ने गरी कार्य गर्न खरिद ऐन तथा प्राधिकरणको खरिद विनियमावलीको अधिनमा रही सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको मापदण्डअनुसार बोलपत्रदाताको योग्यता निर्धारण गरिएको प्राधिकरणको स्पष्टोक्ती छ ।

http://45.32.118.189/2019/2471/?fbclid=IwAR2898pfsY1xmSBsZa2mV8gUW9jcOd553QX1yduq6rhRTZSR7cFchmsPhx0

तोकिएको गाइडलाइन्समा आधारित रही वोलपत्रदाताको न्यूनतम योग्यता निर्धारण गरी अधिकतम वोलपत्रदाता सहभागी हुने गरी राष्ट्रिय स्तरमा वोलपत्र आह्वान गरिएको भन्दै प्राधिकरणले आफ्नो बचाउ गरेको छ ।

प्रस्तावित कम्प्युटर डेल न्यु भस्ट्रो ३६७१ डेक्सटप, नवौं पुस्ताको इन्टेल कोर आईसेभेन ९७०० स्पेसिफिकेसनमा आधारित रहेको र उक्त कम्युटरको मूल्य निर्माताको वेबसाइटमा समेत प्रस्ट रहेको भन्दै प्राधिकरणले खरिद कार्यको शिलशिलामा अनियमितता भएको भन्दै प्रकाशित समाचारलाई तिरञ्जितको संज्ञा दिएको छ ।

http://45.32.118.189/2019/3518/?fbclid=IwAR1MSdSP4EUYi-yj42eO7nmdIUyEo6PotYPsSqdUnR3hPKTYaWBjvQAt3Bo
आफ्नै कार्यविधि मिचेर आईटी ल्याब मिचेर तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बाँस्कोटाको गृह जिल्लामा बजेट ओइर्‍याइएको विषयमा टेकपानाले प्रकाशित गरेको समाचार

‘समाचारमा कुनै सत्यता नरहेको र पूर्णतः तथ्यहीन, निराधार, नियोजित, भ्रमपूर्ण तथा कपोकल्पित रहेको व्यहोरा स्पष्ट पार्दै यसको प्राधिकरण पूर्णतः खण्डन गर्दछ,’ उसले भनेको छ, तसर्थ त्यस किसिमको भ्रामक समाचार सम्प्रेषण नगरी सम्बन्धित पक्ष गम्भिर भई सत्यतथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न समेत प्राधिकरण हार्दिक अनुरोध गर्दछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४