close

कोरोना संक्रमित नजिक भए ‘अलर्ट’ गराइने, गुगल र एप्पलको ऐतिहासिक सहकार्य

टेकपाना टेकपाना

चैत २९, २०७६ ७:५

कोरोना संक्रमित नजिक भए ‘अलर्ट’ गराइने, गुगल र एप्पलको ऐतिहासिक सहकार्य

काठमाडौं । विश्वका सदाबहार प्रतिस्पर्धी तथा दिग्गज प्रविधि कम्पनी गूगल र एप्पलले दूर्लभ सहकार्यको थालनी गरेका छन् । दुबै कम्पनीको प्रयासमा नयाँ ब्लुटुथ प्रोटोकोलमा आधारित कन्ट्याक्ट ट्रेसिङ प्रविधिले स्मार्टफोन प्रयोगकर्तालाई संभावित कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको अवस्थामा अलार्म दिनेछ ।

यदि कुनै व्यक्तिमा कोरोना पोजेटिभ देखिएको अवस्थामा विगतमा उक्त व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई सूचना समेत पुग्नेछ । यस्तो अवधि १४ दिन हुने भनिए पनि स्वास्थ्य सम्बन्धी स्थानीय निकायले सेट गर्न सक्नेछन् । 

प्रयोगका लागि प्रयोगकर्ता आफै अग्रसर हुनुपर्ने भए पनि यसले विश्वको ३ अर्बभन्दा बढी अर्थात विश्वको एक तिहाईभन्दा बढी जनसंख्यालाई ट्र्याक गर्नसक्छ । यो प्रविधिले स्वास्थ्य सम्बन्धि सरकारी निकायलाई ब्लुटुथ प्रविधिमार्फत कोरोनाभाइरसको फैलावटलाई ट्र्याक गर्न मद्दत समेत गर्नेछ । 

दुवै कम्पनीले यसका लागि आगामी मे महिनामा एउटा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस तथा एपीआई सार्वजनिक गर्नेछन् । जसले एन्ड्रोइड र आईओएस बीचमा अन्तरसञ्चालन (इन्टरअपरेबिलिटी) लाई सम्भव बनाउनेछ । 

दुवै कम्पनी मिलेर कुनै एप डाउनलोड नगरिकनै अपरेटिङ सिस्टमले ब्लुटुथ प्रविधि मार्फत कोरोना संक्रमणको फैलावटलाई ट्र्याकिङ गर्न सक्ने प्रविधि समेत विकास गर्नेछन् ।  

यो टूल प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राखेर तयार पारिने उनीहरुको भनाई छ । एप्पलका सीईओ टिम कूकले शुक्रबार एट ट्वीट गर्दै “पारदर्शिता” र “सहमति” का साथ यो प्रविधि प्रयोग गरिने बताएका छन् । 

एप्पलले जारी गरेको विज्ञप्तिमा समेत यो प्रविधिका लागि प्रयोगकर्ताको लोकेसन जरुरी नहुने उल्लेख गरेको छ । निकटता पहिचान गर्ने प्रविधि हरेक १५ मिनेटमा परिवर्तन हुने बताइएको छ । ब्लुटुथ मार्फत विस्तारित अवधिमा प्रयोगकर्ताको लोकेसन भने ट्र्याक गरिनेछैन । 

कन्ट्याक्ट ट्र्याकिङ प्रोटोकलका लागि प्रयोगकर्ता स्वयम्‌ले नै रुची देखाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै, गूगलको विज्ञप्तिमा समेत प्रयोगकर्ताको सहमति आवश्यक रहने र यसले व्यक्तिगत पहिचान खुल्ने जानकारी तथा लोकेसन डाटा संकलन नगर्ने स्पष्ट पारेको छ । 

तपाईंको  सम्पर्कमा आएका व्यक्तिहरुको सूची तपाईंको फोनमा हुनेछैन । खास गरेर स्मार्टफोन बजारमा परम्परागत प्रतिद्वन्दीका रुपमा रहेका यी दुई कम्पनीको यस किसिमको सहकार्य यस अघि कहिल्यै भएको थिएन । यस हिसावले पनि यो एउटा ऐतिहासिक कदम हो । 

यो परियोजना कोरोनाभाइरस महामारीसँग जुध्ने सन्दर्भमा एप्पल र गूगल दुबैका लागि यो पछिल्लो प्रयास हो । गूगलले केही दिन अघि मात्र आफ्नो म्यापबाट संकलित प्रयोगकर्ताको आवतजावत गतिविधिको रिपोर्ट सार्वजनिक गरेको थियो । 

जसबाट घरमै बस्न गरिएको आग्रहको पालना भए नभएको अन्दाज गर्न स्वास्थ्य अधिकारीहरूलाई सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको थियो । 

यसैगरी एप्पलले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक फेस सिल्ड (अनुहार छोप्ने ढाल) डिजाइन गर्न तथा उत्पादन गर्न समेत शुरु गरिसकेको छ । त्यस्तै उसले २० करोड सुरक्षात्मक मास्क सहयोग समेत गर्ने घोषणा गरिसकेको छ ।

अर्को प्रविधि कम्पनी अमेजनले आफ्ना कर्मचारीहरूका लागि कोभिड-१९ परीक्षण प्रयोगशाला निर्माण गर्न शुरु गरिसकेको छ।

अहिले कोरोनाभाइरस विश्वभरका प्रायः सबै देशहरु तथा क्षेत्रमा फैलिएको छ । जसका कारण करीब १७ लाख संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या एक लाख २ हजार नाघिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४