close

सेवा शूल्क नउठेपछि सरकारबाट राहत खोज्दै इन्टरनेट सेवाप्रदायक

टेकपाना टेकपाना

चैत २९, २०७६ १२:३

सेवा शूल्क नउठेपछि सरकारबाट राहत खोज्दै इन्टरनेट सेवाप्रदायक

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सरकारसँग राहत प्याकेज माग गरेको छ । कोरोनाभाइरसका कारण सम्पूर्ण भौतिक तथा आर्थिक कृयाकलाप ठप्प भएपछि घरायसी ग्राहकहरुबाट असुल हुने सेवा शूल्कमा ७० प्रतिशतभन्दा बढीको कमी र खर्च बढेको भन्दै संघले सरकारसँग राहत प्याकेज माग गरेको हो ।

आइस्पानले राहतका लागि बुधबार नै नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत पत्रमार्फत आग्रह गरिसकेको छ । ‘६० देखि ७० प्रतिशत भन्दा बढि सेवा शूल्क उठ्न सकेको छैन,’ पत्रमा लेखिएको छ, ‘जसले गर्दा तरलता अभाव भएको छ ।

हामीलाई नियमीत दायीत्व व्यहोर्न समेत समस्या सिर्जना भइरहेको छ । नियमित सक्रिय रुपमा इन्टरनेटको प्रयोग गर्ने ग्राहकको संख्या यस अवधिमा लगभग १० प्रतिशतले घटेका कारण कम्पनीहरुको आयमा गिरावट आएको छ ।’

यो समयमा आफूहरुले ग्राहकहरुबाट भुक्तानी नलिएरै इन्टरनेट सेवा निरन्तरता दिइरहेको सेवाप्रदायकले बताएका छन् । स्वभावतः यसले कम्पनीको लागत बढाएको छ । अर्कोतर्फ पर्यटन, हवाई सेवा, मनोरञ्जन तथा वैदेशीक रोजगारी लगायतका क्षेत्र ठप्प हुँदा समेत त्यसको असर इन्टरनेट सेवाप्रदायकहरुलाई परेको छ ।

निश्चित रुपमा कोरोना भाइरसको महामारीको दीर्घकालिन असर पर्नेछ । लगानी तथा सेवा सुचारु राख्नुपर्ने तर आम्दानी नहुने अवस्था मात्रै नभएर प्रदान गरिसकेको सेवाको रकम समेत भुक्तानी हुन नहुने चिन्ता सेवाप्रदायकले व्यक्त गरेका छन् ।

‘साथै विदेशी मुद्राको भाउ बढ्दा अन्तराष्ट्रिय भुक्तानीमा वृद्धि भएको छ । त्यति मात्र नभएर हाल नियमित उडानहरु बन्द भएको अवस्थामा पारवहन खर्चमा समेत दोब्बर बृद्धि हुन पुगेको छ,’ पत्रमा लेखिएको छ,

‘अत्यावश्यक सेवाको गुणस्तर कायम गर्न दिनरात खटिने कामदार कर्मचारीलाई पनि सरकाले बीमाको व्यवस्था गरिदिनुपर्नेमा त्यसतर्फ ध्यान गएको छैन ।

त्यसैले यस्तोमा नेपालका निजी क्षेत्रका उद्यमहरुको रक्षाको लागि भविष्यमा नेपाल सरकारले चाल्ने कदमहरुमा सेवाप्रदायक उपर समेत उचित विचार पुर्‍याई राहत प्याकेजको घोषणा गरियोस् भनी यो निवेदन गरेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४