close

अब उधारोमा एनसेलको डेटा र एसएमएस प्याक

टेकपाना टेकपाना

चैत २९, २०७६ १९:५२

अब उधारोमा एनसेलको डेटा र एसएमएस प्याक

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले आफ्ना ग्राहकलार्ई शनिबार (चैत्र २९) देखि लागु हुने गरी नयाँ योजना ल्याएको हो ।

जसअन्तर्गत ग्राहकले डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि तिर्ने गरी खरीद गर्न सक्नेछन् । महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्व नै त्रसित भइरहेको परिस्थिती र देश लकडाउनमा रहेको अवस्था छ ।

जसले गर्दा सहज रुपमा आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न आफ्ना ग्राहकले व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्ने भन्दै एनसेलले यो योजना ल्याएको हो

डेटा र एसएमएस सेवा प्याकका रुपमा लिएर तोकिएको शूल्क पछि तिर्न मिल्ने यो पहिलो अफर भएको कम्पनीको दाबी छ । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहित २० रुपैयाँमा उधारो खरीद गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले आफूसँग शून्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवा प्राप्त गर्न सक्छन् । यो प्याक अन्तर्गत पाइने डेटा र एसएमएस भोल्युम सुचारु भए पछिको ५ दिनको लागि मान्य रहने बताइएको छ ।

आफ्नो आवश्यकता अनुसार कम्पनीका ग्राहकले छुट्टै एसएमएस सेवा मात्र रहेको प्याक पनि लिन सक्छन् । लोनमै २५० वटा एसएमएस रहेको प्याक कर सहित १० सुचारु गर्न सकिन्छ । यो प्याक समेत सुचारु गरेको ५ दिनसम्म प्रयोग गर्न मिल्नेछ ।

एनसेलका सेवाग्राहीले *९९८८*७७# डायल गरी लोनमा आफ्नो आवश्यकता अनुसार डेटा र एसएमएसको बण्डल प्याक वा एसएमएस प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यी प्याक उधारोमा प्राप्त गर्नेछन् । आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शूल्क स्वतः काटिने कम्पनीको भनाई छ । यसमा थप कुनै शूल्क भने लाग्नेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४