close

साइबर हमलाबाट लिक भएका विवरण दूरुपयोग गर्दै ‘फ्रड कल’ र ‘एसएमएस’

टेकपाना टेकपाना

बैशाख १, २०७७ २०:३

साइबर हमलाबाट लिक भएका विवरण दूरुपयोग गर्दै ‘फ्रड कल’ र ‘एसएमएस’

काठमाडौं । श्रृङ्खलावद्ध साइबर आक्रमणबाट बाहिरिएका व्यक्तिगत विवरण दूरुपयोग भएको पाइएको छ । फूडमाण्डु र भायनेटमा भएको साइबर आक्रमणपछि ह्याकरले सार्वजनिक गरेका मोबाइल नम्बरहरुमा फ्रड कल र एसएमएस आउन थालेको हो ।

+४४४४७२४३२५५८, ३३६५१७०४८१५७, +३३३३४१२९५९९८ लगायतका नम्बरबाट प्रयोगकर्तालाई कल आउने गरेको छ । तर कल रिसिभ गर्ने वित्तिकै काटिने गरेको पीडितहरुले बताएका छन् । फ्रड कल तथा एसएमएस आएका प्रायः नम्बरहरुमा भायनेटबाट बाहिरिएकाहरु छन् ।

यसअघि नै भाइबर अकाउण्ट एक्टिभ गरिएका मोबाइल नम्बरहरुमा समेत थुप्रैपटक एक्टिभेसन कोड आउने गरेको छ । साइबर सुरक्षा जानकारहरुले त्यस्ता कल तथा एसएमएस बेवास्ता गर्नु नै उत्तम विकल्प भएको बताएका छन् ।

‘यदि तपाईंले भाइबर एक्टिभ गर्न कुनै रिक्वेस्ट गर्नुभएको छैन भने त्यस्ता कोडहरु प्रयोग नगर्नुहोस्,’ साइबर विज्ञ सचिन ठकुरी प्रयोगकर्तालाई सुझाव दिँदै भन्छन् । एसएमएस तथा ईमेल मार्फत त्यस्ता कुनै लिङ्क आएका छन्, भने पनि त्यसलाई खोल्ने काम नगर्न उनको आग्रह छ ।

त्यस्तो लिंक क्लिक गर्दा फिशिङ हुनसक्ने भएकाले त्यसबाट तपाईंको अकाउण्ट समेत ह्याकरको हातमा जान सक्छ । त्यस्ता नम्बरहरु आफै ब्लक गर्न, टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, पासवर्ड परिवर्तन गर्न र एउटै पासवर्ड धेरै ठाउँमा प्रयोग नगर्न समेत ठकुरीको सुझाव छ । ‘हैरानै भएको अवस्थामा प्रहरीमा रिपोर्ट गर्न पनि सक्नुहुन्छ,’ उनी भन्छन् ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले त्यस किसिमको कल तथा एसएमएस प्राप्त भएको विषयमा प्रयोगकर्ताबाट हालसम्म कुनै गुनासो प्राप्त नभएको बताए ।

‘यदि त्यस्ता कलहरु आएका छन् भने ती वाङ्गिरी कल हुनसक्छन्,’ उनले भने, ‘यस्ता कलहरु उठाउन नपाउँदै काटिने र कल ब्याक गर्दा मोबाइलको ब्यालेन्स रित्तिन सक्ने हुन्छ । यस्ता अस्वभाविक कलहरु आएको थाहा हुने बित्तिकै हामी नेटवर्कबाटै ब्लक गर्दै आएका छौँ ।’

त्यसो त केही दिन अघि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर हमलापछि बाहिरिएका विवरण कसैले प्रयोग गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको थियो । तर, सूचना सार्वजनिक भएको केही दिन नवित्दै दुरुपयोग हुन सुरु भएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस विषयमा भर्खरै मात्र थाहा हुन आएको भन्दै दुरुपयोग गर्ने व्यक्तिको पहिचान गर्न छानविन अगाडि बढाउने बताए । ‘कुनै व्यक्तिको व्यक्तिगत विवरण कसैले पनि दुरुपयोग गर्न पाउँदैन,’ उनले भने, ‘हामीले सचेत गराइसकेको अवस्थामा पनि दुरुपयोग भएको सुन्नमा आएको छ । अब ट्रेस गरेर त्यस्तो व्यक्तिको पहिचान गरी छानविन तथा कारबाहीका लागि सीआईबीमा लेखेर पठाउछौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४