close

फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा दाङ र सुर्खेतबाट २ जना पक्राउ

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १२:३२

फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा दाङ र सुर्खेतबाट २ जना पक्राउ


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा प्रहरीले दाङ र सुर्खेतबाट गरी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका, १४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपाने र वीरेन्द्रनगर नगरपालिका, ८ कालिञ्चोक बस्ने ३६ वर्षीय धर्मराज आचार्य रहेका छन् ।

उनीहरु दुबैजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । न्यौपानेले फेसबुक स्टाटसमा दाङमा पनि कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको भन्दै तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरी जनमानसमा डर फैलाउने काम गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यसैगरी सुर्खेतका धर्मराज आचार्यलाई समेत सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोग लागेको छ । उनले फेसबुक स्टाटसमा सुर्खेतमा ए जना कोरोना संक्रमित व्यक्ति देखिएको भन्दै तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाएर जनमानसमा डर त्रास फैलाउने काम गरेको प्रहरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले आचार्यलालाई पक्राउ गरेको हो । स्थानीय प्रहरीले दुवै अभियुक्तको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय अन्तर्गतको प्रहरी महानिरीक्षको सचिवालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४