close

डिस्टेन्स लर्निङमा सहजीकरण गर्ने वाकमका डिभाइस

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १६:५७

डिस्टेन्स लर्निङमा सहजीकरण गर्ने वाकमका डिभाइस

काठमाडौं । कोरोनाभाइरसको महामारीले विश्वभर सबैजसो क्षेत्रहरुको सञ्चालन र कार्य प्रणालीमा परिवर्तन ल्याएको छ । यसैबीच शिक्षा क्षेत्रको अध्ययन र अध्यापन विधिमा पनि जबरजस्त किसिमको  परिवर्तन आएको छ ।

लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द हुँदा डिस्टेन्स लर्निङको अवधारणाले समेत व्यापकता पाउन थालेको छ । जसलाई सहजीकरण गर्न अहिले विभिन्न डिजिटल प्लेटफर्म प्रयोगमा आउन थालेका छन् ।

तर ह्वाइट बोर्ड र मार्करको विधिमा टिकेको हाम्रो शैक्षिक अभ्यास यी नवीनतम प्रविधिमा यति चाँडै अभ्यस्त हुन भने सकिरहेको छैन । डिजिटल प्लेटफर्मले मात्र यो परम्परागत शैक्षिक इकोसिस्टमबाट डिस्टेन्स लर्निङको चरणसम्म पुग्न सेतुको काम प्रभावकारी रुपमा गर्न सकिरहेको छैन ।

अब भने शैक्षिक इकोसिस्टमको यो कमीलाई पुरा गर्ने डिभाइसहरु नेपाली बजारमा आइसकेका छन् ।

सुरी इन्टरनेसनलले परम्परागत शैक्षिक विधिमा झैँ डिजिटल प्लेटर्फममा पनि सिकाई र बुझाईलाई सहजीकरण गर्न वाकमको स्क्रिन क्लिपबोर्डहरुसँगै डिजिटल पेन नेपाली बजारमा ल्याएको छ । 

अहिले डिस्टेन्स लर्निङमा जूम, टिम्स, स्काइप जस्ता भिडियो कन्फ्रेन्सिङ एपको प्रयोग भइरहेको छ । स्क्रिन शेयरिङ गरी यसबाट पढाउँदा विद्यार्थीहरुले भिडियो हेर्न र सुन्न सक्छन् ।

सुरी टेक्नोलोजीका सुरेन ढकाल भन्छन्, ‘तर हाम्रो परम्परागत शैलीमा जस्तै गरी बोर्डमा नलेखेसम्म न विद्यार्थी पढेको न त शिक्षकले पढाएको अनुभूत गर्न सक्छन् । यसैको समाधानका लागि भनेरै हामीले डिस्टेन्स लर्निङलाई थप प्रभावकारी बनाउन वाकमको स्क्रिन डिभाइस बजारमा ल्याएका छौं ।’

यी डिभाइसलाई कम्प्युटरको मनिटरको रुपमा प्रयोग गरी त्यसमा वाकमकै डिजिटल पेनले लेखेर स्क्रिन शेयर गरेर पढाउन सकिन्छ । वाकमको यो हार्डवेयर प्रविधि एकदमै सरल र जसले पनि प्रयोग गर्नसक्ने किसिमको छ । 

डिस्टेन्स लर्निङका अलावा अहिले विद्यालहरुले तीन चार लाख लगानी गरेर किनिरहेको स्मार्ट बोर्डलाई यो सानो स्क्रिन क्लिपबोर्डले विस्थापन गर्न सक्छ ।

कक्षामा शिक्षकले यो डिभाइस कनेक्ट गरेर पढाउने र त्यसलाई प्रोजेक्टको माध्यमबाट विद्यार्थीहरुलाई देखाउन सक्छन् । शिक्षकले फेस टु फेस आँखा जुधाएर यसबाट विद्यार्थीलाई पढाउन सक्छन् । 

अर्को कुरा भनेको यो डिभाइसमा इन्स्ट्रक्टरले कन्टेन्ट क्रिएसन पनि गर्नसक्छन् । ‘शिक्षकहरुलाई आफूले पढाएको कुरा युट्युवमा हाल्न मन लाग्न सक्छ । त्यस्तो अवस्थामा डिभाइसमा भएको भ्वाइस रेकर्डर प्रयोग गरी स्क्रिनमा डिजिटल पेनले लेख्दै रेकर्ड गर्दै पढाउन सक्छन् । त्यसलाई सेभ गरेर पछि युट्युवमा राख्न पनि मिल्छ,’ ढकाल भन्छन् । 

यस अलावा कुनै पनि संस्था वा कार्यालयमा प्रिजेन्टेसन दिँदा रिमोट बाटै चलाउन मिल्छ । यसमा तपाईंले प्रिजेन्टेसन डिस्प्ले गराएर डिजिटल पेनको माध्ययमबाट स्लाइडहरु परिवर्तन गर्नुका साथै अन द स्पट छुटेका कुराहरु थप गरेर प्रिजेन्टेसन दिन सक्नुहुन्छ ।

विश्वभर पेपरलेस संस्था वा कार्यालय निर्माण गर्ने वाकमको यो उद्देश्य यही प्रविधिबाट पुरा हुँदै गएकाे छ । यसकारण पनि यो प्रविधि लकडाउन जस्तो समयमा डिस्टेन्स लर्निङका लागि मात्र नभएर अरु समयको लागि पनि एकदमै उपयोगी हुने अपेक्षा गर्न सकिन्छ ।

सुरी टेक्नोलोजीले लामो समयदेखि पेपरलेस कार्य प्रणालीका लागि उपकरणहरु उपलब्ध गराउने काम गर्दै आइरहेको छ । कोरोनाभाइरसको संक्रमण फैलिएपछि विश्वका ठूला विश्वविद्यालयहरुले पनि डिस्टेन्स लर्निङका लागि अहिले वाकमका डिभाइस प्रयोग गर्न थालेका छन् ।

चार महिना अघि जापानको वाकम कम्पनीको आधिकारिक वितरकको रुपमा सुरीले तिनै उपकरणहरु नेपाल भित्राउन थालेको हो । अहिले भारतको इन्दिरा गान्धी विश्वविद्यालयमा पनि वाकमका डिभाइसको प्रयोग भइरहेको छ ।

यस्तै भारतकै सबैभन्दा ठूलो आईटी संस्था आईआईटीमा पनि यो प्रविधि प्रयोग भइरहेको छ । यस्तै अमेरिकी संस्थाहरुले पनि यसलाई अपनाउन थालेक छन् । 

अहिले सुरी टेक्नोलोजीसँग सिमित डिभाइसहरु मात्र छन् । अर्डर गरेको १५ दिनपछि मात्र यो डिभाइसहरु डेलिभरी हुने ढकालले बताए । 

अहिले कोरोना कारण आयातमा समस्या हुँदा सुरी टेक्नोलोजीसँग करिब ६० युनिट डिभाइसहरु मात्र स्टकमा छन् । यी डिभाइसहरु जापानबाट सिंगापुरहुँदै नेपाल आउने गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण लकडाउनको समय लम्बिदै जाँदा विद्यालयहरुलाई तयारीको अवस्थामा रहन र बालबालिकाको पढाईलाई निरन्तरता दिन यी डिभाइरहरु अत्यावश्यक हुन ढकाल बताउँछन् । 

यसको मूल्य मोडल र साइज अनुसार फरक छ । नेपालमा निर्माणकर्ता कम्पनीकै प्राथमिकताका आधारमा १०, १३ , १६ र २४ इञ्च साइजका मोडेलहरु उपलब्ध छन् । ८० हजारदेखि चार लाख रुपैयाँसम्मका डिभाइसहरु हाल नेपालमा आइसकेका छन् ।

वाकमको यो स्क्रिन डिभाइस एउटा मनिटर मात्र हो । यसमा प्रोसेसरहरु केही पनि छैनन् । यसलाई सीपीयूमा कनेक्ट गरेर मनिटर जस्तो गरी प्रयोग गर्नुपर्ने हुन्छ ।

मनिटरमा माउस भएजस्तै यसमा पेन हुन्छ । जसको सहायताले स्क्रिनमा सबै काम गर्न सकिन्छ । स्क्रिन शेयरिङको मद्दतले अध्ययन अध्यापन गराउन सकिन्छ । 

नेपालका डिजाइनर, कार्टुनिष्ठहरुले वर्षौंदेखि यसको प्रयोग गरिरहेका छन् । तर अहिलेको अवस्थामा यसको प्रयोजनमा विविधिकरण आएको छ ।  

वाकम सुरुवाती समयमा व्यावसायीक प्रयोगजनका लागि बजारमा आएको थियो । तर अहिले शैक्षिक प्रयोजनमा पनि प्रयोग हुन थालेको छ ।  

‘यो नयाँ प्रविधि होइन, तर यसबारे धेरै मानिसहरुलाई भने थाहा थिएन । पढाउने शिक्षकदेखि पढ्ने बालबालिकाहरुले पनि यसलाई कुनै जटिल प्रविधिको रुपमा लिइरहेका छन् ।

तर यो कुनै जटिल प्रविधि होइन । यो सामान्य प्रविधि हो र यो निकै प्रभावकारी छ भन्ने कुराको जानकारी दिन अहिले हामी व्यावसायीकभन्दा पनि जनचेतनाको चरणमा काम गरिरहेका छौं,’ ढकाल भन्छन् ।  

विश्वभर वाकमको प्रविधिको वारेन्टी एक वर्षको हुने गरेको छ । तर नेपालमा पहिलोपटक ल्याएका कारण अहिले यसको वारेन्टी तीन वर्षको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४