टप फाइभ इन्टरनेट कम्पनीः ग्राहक बृद्धिमा वर्ल्डलिंक अगाडि, पुछारमा टेलिकम

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदाय कम्पनीको रुपमा रहेको वर्ल्डलिंक ग्राहक वृद्धिमा समेत सबैभन्दा अगाडि देखिएको छ । विगत एक वर्षको अवधिमा कम्पनीले ९६ हजार ८३७ नयाँ कनेक्सन जोड्न सफल देखिएको हो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रकाशित गरेको प्रतिवेदन अनुसार गएको पुस मसान्तसम्ममा वर्ल्डलिंकले आफ्नो कूल ग्राहक संख्या तीन लाख ६३ हजार ५७२ पुर्याएको छ ।
तर इन्टरनेट सेवामा दोश्रो ठूलो कम्पनीको रुपमा रहेकाे नेपाल टेलिकम भने नयाँ ग्राहक बनाउने मामिलामा पुछारमा देखिएको छ । मूख्य पाँच कम्पनीमा टेलिकमले गएको एक वर्षमा सबैभन्दा थोरै अर्थात २९ हजार ७० वटा मात्रै नयाँ ग्राहक बनाउन सकेको हो ।
इन्टरनेट सेवाप्रदायक | २०७५ पुससम्म | नयाँ कनेक्सन | हालसम्मको कूल |
वर्ल्डलिंक | २६६,७३५ | ९६८३७ | ३६३,५७२ |
नेपाल टेलिकम | २१०१८८ | २९०७० | २३९,२५८ |
सुबिसु | ६३,९५८ | ३८०१५ | १०१,९७३ |
भायनेट | ६२,३४८ | ३२८७० | ९५,२१८ |
क्लासिक टेक | ४४,१९३ | ३७३२२ | ८१,५१५ |
इन्टरनेट कनेक्सन |
नयाँ ग्राहक थप्ने मामिलामा सुबिसु केबल नेट प्राली दोश्रो स्थानमा छ । तेश्रो ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीकाे रुपमा रहेको सुबिसुले एकै वर्षमा ३८ हजार १५ नयाँ कनेक्सन जोड्न सफल भएको छ । हाल उसको कुल ग्राहक संख्या एक लाख एक हजार ९७३ पुगेको छ ।
यसैगरी क्लासिक टेक तेस्रो धेरै ग्राहक बृद्धि गर्ने इन्टरनेट सेवाप्रदायकको रुपमा देखा परेको छ । उसले एक वर्षको अवधिमा झन्डै दोब्बर (३७ हजार ३२२) नयाँ कनेक्सन कायम गर्दै कूल ग्राहक संख्या ८१ हजार ५१५ पुर्याएको छ ।
त्यस्तै अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले ३२ हजार ८७० नयाँ ग्राहकका साथ आफ्नो कूल ग्राहक आधार ९५ हजार २१८ पुर्याउन सफल देखिएको छ ।
हालसम्म इन्टरनेट तथा ईमेल सेवाका लागि १२५ अनुमतिपत्र जारी भएकोमा नियामकले भने केवल ३९ सेवाप्रदायकको मात्रै ग्राहक विवरण संकलन गरेको छ ।
जसअनुसार हालसम्म (पुस मसान्तसम्म) कूल कूल इन्टरनेट कनेक्सन लाइन १० लाख १९ हजार ३२८ पुगेको छ । जसअनुसार प्रति कनेक्सन एक घर परिवारको आधारमा करीब ५० लाख जनसंख्यामा फिक्स्ड लाइन इन्टरनेटको पहुँच पुगेको देखिन्छ ।