close

किन १५ तारिखमै काटिन्छ पोस्टपेडको ब्यालेन्स ?

टेकपाना टेकपाना

बैशाख ६, २०७७ १७:४९

किन १५ तारिखमै काटिन्छ पोस्टपेडको ब्यालेन्स ?

काठमाडौं । आफूलाई जानकारी नै नदिई गत बुधबार राति एकाएक पोस्टपेडको ब्यालेन्स काटिएपछि सामाजिक सञ्जालमा नेपाल टेलिकमका प्रयोगकर्ताले गुनासो पोखे । टेलिकमका पोष्टपेड प्रयोगकर्ताले गर्ने यो गुनासो पहिलो पटक सुनिएको भने होइन ।

तर किन सधैं यस्तो भइरहन्छ ?

नेपाल टेलिकमले हरेक १५ तारिखमा पोस्टपेडको बिलिङ गर्छ । अर्थात् सोही दिन पोस्टपेड प्रयोगकर्ताको महिनाभरको खर्च निकालिन्छ ।

पोस्टपेड प्रयोगकर्ताका लागि हरेक महिना न्यूनतम ब्यालेन्स तोकिएको हुन्छ, जसलाई रेन्टल भनिन्छ । टेलिकमका प्रयोगकर्ताका लागि दुई वटा रेन्टल सुविधा छन् ।

एउटा मासिक तीन सय र अर्को नौ सय रुपैयाँको । आफूले गर्ने खर्च अनुसार यस्तो रेन्टल छनोट गर्न सकिन्छ । पोस्टपेड प्रयोगकर्ताले सोही रेन्टल ब्यालेन्सबाट पोस्टपेड प्याकसहित फोन, एसएमएस तथा डेटा प्रयोग गर्न सक्छन् ।

यसबाहेक अन्य प्याक खरिद गर्नुपरे थप चार्ज लाग्छ । यसरी पोस्टपेड प्रयोगकर्ताले महिनाभर गरेको खर्चको हिसाब भने अर्को महिना तिर्नुपर्ने हुन्छ । जसको हिसाब १५ तारिखमा निस्किन्छ ।

हिसाब हुँदाको दिन अघिल्लो महिना रेन्टल ब्यालेन्ससहित प्रयोग भएको थप चार्जबापतको पैसा पोस्टपेडमा बाँकी रहेको ब्यालेन्सबाट वा त्यसपछि रिचार्ज गरिसकेपछिको ब्यालेन्सबाट काटिन्छ । ब्यालेन्स नै नभएको अवस्थामा कल बार हुन्छ ।

ब्यालेन्स भएका प्रयोगकर्ताबाट १५ तारिख राति टेलिकमले ब्यालेन्स काट्छ भने नभएकाको हकमा रिचार्ज गरेपछि । पोस्टपेड प्रयोगबापत न्युनतम रेन्टल तिर्नुपर्ने भएकोले सो रकमसमेत जोडिँदा एकैपटक ब्यालेन्स धेरै काटिएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४