close

घरमा कुनै सहयोगी नभएका वयोवृद्ध ग्राहकलाई निरन्तर इन्टरनेट : आइस्पान

टेकपाना टेकपाना

बैशाख ७, २०७७ ११:४१

घरमा कुनै सहयोगी नभएका वयोवृद्ध ग्राहकलाई निरन्तर इन्टरनेट : आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले लकडाउनको समयमा घरमा कुनै सहयोगी नभएका वृद्ध ग्राहकलाई निरन्तर इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ । संघले शारीरिक रुपमा असक्त र वृद्धवृद्धा बाहेकका सबै ग्राहकलाई सेवा सुचारु राख्न डिजिटल भुक्तानी प्रयोग गर्न सुझाव दिएको छ ।

संघले यस अघि नेपाल दूसञ्चार प्राधिकरणले जारी गरेको सूचनाको जवाफमा वृद्धवृद्धाको हकमा इन्टरनेट सेवा सुचारु राख्न सकिने र अन्य ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्ने जानकारी गराएको हो ।

प्राधिकरणले शुक्रबार मात्रै लकडाउन समयमा शूल्क तिर्न नसकेको अवस्थामा पनि बिना कुनै इन्टरनेट लाइन नकाट्न भन्दै सेवाप्रदायकलाई निर्देशन दिएको थियो । सँगसँगै प्रयोगकर्तालाई डिजिटल पेमेन्टको प्रयोग गरी पैसा तिर्न समेत नियामकको आग्रह थियो ।

त्यसैको जवाफ स्वरुप आइस्पानले पठाएको पत्रमा लेखिएको छ, ‘प्राधिकरणबाट आएको निर्देशनलाई आत्मासाथ गर्दै सेवा प्रदायकहरुले शारीरिक हिसाबले पूर्णरुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका वृद्ध घरायसी ग्राहकहरुका हकमा सूचनामा उल्लेख भए सरह नै बिना भुक्तानी सेवाको निरन्तरता गरिरहेको कुरा अवगत गराउन चाहन्छौं ।’

‘संस्थाहरुको समार्थ्यले भ्याउनेसम्म हामीले गर्दै आएका छौं,’ पत्रमा लेखिएको छ, ‘एकातिर ग्राहकबाट उठ्नुपर्ने सेवाको भुक्तानी उठ्न सकेको छैन । अर्कोतर्फ आयात गरेको ब्याण्डविथको मूल्य तिर्नुपर्ने वाध्यता छ ।

त्यतिमात्रै नभएर दिनरात खटिएका कर्मचारीलाई तलव भुक्तानी दिन समेत समस्या भएको छ । यस्तोमा घरमा कुनै सहयोगी नभएका वृद्ध ग्राहकहरुका हकमा बाहेक अन्य ग्राहकलाई डिजिटल भुक्तानीका माध्यमबाट इन्टरनेट सेवाको समयमै भुक्तानी गरी सेवा सुचारु गर्न अनुरोध गर्दछौं ।’

‘वृद्धवृद्धा ग्राहक पहिचानको लागि आफूहरु सिस्टम बनाउने प्रयासमा रहेको आइस्पानका अध्यक्ष भोजराज भट्ट बताउँछन् । उनी भन्छन्, ‘त्यसो भएन भने ग्राहकले सम्बन्धित संस्थामा फोन गरी जानकारी गराउन सकिने व्यवस्था पनि गर्न सकिन्छ । हामीले पहिचान गरिसकेका कतिपय बृद्ध ग्राहकलाई सेवा उपलब्ध गराउन थालिसकेका छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४