close

के हो कन्ट्याक्ट ट्रेसिङ ?

टेकपाना टेकपाना

बैशाख ७, २०७७ १६:५०

के हो कन्ट्याक्ट ट्रेसिङ ?

काठमाडौं । कोरोनाभाइरसको प्रसारलाई रोक्न अहम् भूमिका खेलिरहेको एउटा प्रविधि हो कन्ट्याक्ट ट्र्याकिङ अर्थात कन्ट्याक्ट ट्रेसिङ। तर यसलाई कसले सञ्चालन गर्छ, कसरी गर्छ भन्ने विषयलाई लिएर अहिले विश्वमा एक प्रकारको चिन्ताको वातावरण किन छाएको छ ।

यो विषय सबैलाई थाहा नहुनसक्छ । छोटकरीमा भन्नुपर्दा कन्ट्याक्ट ट्रेसिङले संक्रमित वा उच्च जोखिममा भएका व्यक्तिहरुलाई पत्ता लगाउने काम गर्छ ।

यसले त्यस्ता व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न र के गर्ने के वा नगर्ने भन्ने कुराको निगरानी र निर्देशन दिन्छ । यो एउटा प्रमाणीत प्रविधि हो । अहिले स्मार्टफोन सबैको हातहातमा हुने हुँदा यसको उपयोगिता र प्रभावकारिता थप बढेको छ ।

तर गोपनीयताको विषयलाई लिएर भने जनमानस र समग्र प्रविधि क्षेत्रमा अनेक प्रश्न व्याप्त छन् ।कन्ट्याक्ट ट्रेसिङ विभिन्न स्वरुपमा हुन्छ । जब कुनै व्यक्ति संक्रमित हुन्छ भने अघिल्लो हप्तादेखिका उसका सम्पर्कमा रहेका व्यक्तिहरु बारे सोधिन्छ । 

संक्रमितलाई सोधेकै आधारमा एउटा कन्ट्याक्ट लिस्ट बन्नसक्छ । जब ती कन्ट्याक्ट सूचीका मानिसहरुको पनि कन्ट्याक्टमा आएका व्यक्तिहरुको सूची बन्छ, तब संक्रमितहरुको एउटा नेटवर्क नै तयार हुनपुग्छ ।

यसले धेरैजनालाई संक्रमित हुनबाट बचाउनुका साथै स्रोतसाधनहरुको प्रभावकारी बाँडफाँड गर्नमा पनि सहयोग पुग्छ । तर कुनै पनि व्यक्तिको हरक्षणको क्रियाकलाप र अन्तरक्रियामाथि निगरानी हुनु आफैमा निकै ठूलो खतराको घण्टी हो ।

तर कुनै पनि डेटा संकलनकर्ताले तपाईंको गतिविधि र रुचीको निगरानी राखेर तपाईंको सहमति र जानकारी बिना नै तपाईंलाई विभिन्न विज्ञापनको निशाना बनाउन सक्छ ।

ब्लुटुथको शक्ती

सबै आधुनिक फोनहरुले सेल टावर, वाईफाई राउटरसँग डेटा एक्सचेन्ज गर्न वायरलेस रेडियोको प्रयोग गर्छन् । यसरी आफ्नो वरीपरी भएका जुनसुकै डिभाइसहरु जोडिन आइपुग्ने हुँदा यो सुरक्षित माध्यम भने होइन ।

वाईफाईको सिग्नल सयदेखि दुई सय फीटसम्म पुग्नसक्छ भने सेलफोनको सिंग्नल अझ धेरै टाढासम्म पुग्नसक्छ । डिजाइनतः राम्रो कनेक्सनको लागि ब्लुटुथको रेन्ज तीस फिटभन्दा कम मानिन्छ ।

smartphone, hand, keep, send, received on, wave, technology ...

तर ब्लुटुथको डिजाइनकै कारण यो लगातार सम्पर्क विच्छेद हुँदै विभिन्न अन्य ब्लुटुथ इनेबल डिभाइससँग कनेक्ट हुन पुग्छ । तपाईंको नजिक हुँदै गुज्रिने हरेक डिभाइसँग छोटो समयका लागि तपाईको ब्लुटुथ चिपले सम्पर्क स्थापित गर्छ ।

यदि डिभाइस रिकग्नाइज नभएको खण्डमा त्यो डिलिट हुन्छ । तर एकछिन अनुमान गर्नुहोस् त, त्यो डिलिट भएन भने कस्तो जोखिम उत्पन्न हुनसक्छ ?

विश्वभर प्रयोगमा आइरहेको कन्ट्याक्ट ट्रेसिङ प्रविधिले तपाईंको फोनमा भएको जस्तो किसिमको ब्लुटुथ सिग्नललाई प्रयोग गरिरहेको छ भन्ने कुरा तपाईंलाई पक्कै पनि थाहा भएकै हुनुपर्छ ।

तर यसमा फरक के छ भने यो सिस्टमा प्रयोग भएको ब्लुटुथले आफूले सम्पर्क स्थापित गरेको कुनै पनि डिभाइसलाई बिर्सिन्न ।

अब सिस्टमले कसरी काम गर्छ त ? जब कुनै पनि व्यक्तिमा कोभिड-१९ को संक्रमण देखिन्छ, यो सिस्टमले उक्त व्यक्तिको सम्पर्क इतिहास सोध्नुको साटो उसको फोनसँग लिंक गराउँछ । अनि संक्रमितको सम्पर्कमा आएका हरेकको क्रियाकलापलाई बिना अनुमति रेकर्ड गर्छ गर्न थाल्छ । 

त्यसपछि सम्पर्कमा आएको व्यक्तिमा संक्रमण देखिएको भन्दै ती अन्य व्यक्तिहरुको फोनमा एउटा अलर्ट जान्छ । नोटिफिकेसनसँगै ती व्यक्तिको फोनमा म्यासेज जान्छ: यो एप डाउनलोड गर्नुहोस् वा स्क्रिनङका लागि यो नम्बरमा सम्पर्क गर्नुहोस् ।

उदाहरणका लागि फलानो नजिकैको परीक्षण केन्द्रमा गएर परीक्षण गराउनुहोस् । प्रविधिको यो सहजता, उपलब्धता र प्रभावकारिताका कारण कसैले पनि यसको प्रयोगलाई नकारेका छैनन् ।

सफलता र सम्भावित चिन्ता 

यो डिजिटल कन्ट्याक्ट ट्र्याकिङ विधि दशाैं लाख प्रयोगकर्ताहरुमा प्रयोग भइसकेको छ । पूर्वी एशियामा यसले राम्रो प्रभाव पनि देखाइरहेको छ । सिंगापुरको सरकारले ट्र्यास टुगेदर एपको प्रचार गर्‍यो ।

How Digital Contact Tracing Slowed Covid-19 in East Asia
HBR Staff/Getty Images

दक्षिण कोरियामा त नागरिकहरुकै सहमतिमा कोरोनासंक्रमण भएको मानिसबारे जानकारी दिने कयौं एपहरु प्रयोग गरिए । ताइवानले पनि आफ्नो केन्द्रीकृत स्वास्थ्य प्रणालीको डेटा प्रयोग गर्‍यो । यस अलावा चीनले मेगा प्लेटफर्म अलि पे र वि च्याटबाट नै यस्तो ट्राकिङको काम गर्‍यो । 

यी प्रविधिहरु अहिले पनि प्रयोगमै रहेका कारण यसको प्रभावकारीताको निश्कर्ष निकाल्नु वुद्धिमत्ता हुन सक्दैन । तर यसले रोगप्रतिको संवेदनशिलता तथा रेस्पोन्सलाई बढाएको छ र भाइरसको फैलावटलाई रोकथाम गरेको छ ।

यसका गोपनीयता, सुरक्षा र अन्य धेरै प्रश्नहरु छन्, जसको उत्तर आउन बाँकी नै छ ।तर यस्ता ट्रयाकिङ सिस्टमलाई प्रयोगमा ल्याउन सरकार र निजी क्षेत्रको आशयमाथि संशय उत्पन्न हुनु जायज छ ।

अहिले अमेरिकामा यसमाथि केही प्रयोग तथा प्रयास भइरहेका छन् । त्यहाँ एप्पल र गूगलजस्ता प्रविधि जायन्ट कम्पनीहरुले कन्ट्याक्ट ट्र्याकिङ विधिको क्रस प्लेटफर्म तयार पार्ने घोषणा गरेका छन् । जसले फोनको अपरेटिङ सिस्टमलाई नै जोड्न सक्छ ।

यो सिस्टमले पनि ब्लुटुथको प्रयोग गर्नेछ । तर यसलाई व्यक्तिगत पहिचानसँग नजोडिने बताइएको छ । फोनको आफ्नै अस्थायी आईडी नम्बर हुन्छ । जसले अन्य उपकरणहरुसँग सम्पर्क स्थापित गर्छ ।

यी आईडीको सूचीलाई संकलन गरी स्थानीय रुपमा नै स्टोर गरिन्छ । यसलाई क्लाउड वा अरु कुनैसँग पनि सिंक्रोनाइज गरिन्न । यो आईडीलाई पनि लगातार परिवर्तन गरिन्छ । ता कि कोही पनि तपाईंको डिभाइसको र लोकेसनसँग कनेक्ट हुन नसकून् ।

दुबै कम्पनीले गोपनीयता र व्यक्तिको सुरक्षालाई ध्यानमा राखेर कोरोना भाइरसको ट्रयाकिङ प्रविधिमा तयार पार्ने विषयमा केन्द्रीत रहेको बताइरहेका छन् ।

तर ब्लुटुथमा समाविष्ट सीमिततालाई भने दुबै कम्पनीले समाधान गर्न सक्ने छैनन् । यस कारण सिस्टमबाट थर्ड पार्टीले डेटा लिनसक्ने चिन्ता समेत बढ्दै गएको छ । 

यो महामारीलाई रोक्न आफ्नो डेटाको गोपनीयता योगदान स्वरुप दिन चाहने वा डेटा प्राइभेसीको विषयमा खासै वास्ता नगर्नेहरुका लागि यो कुनै ठूलो समस्याको विषय होइन ।

तर अर्को तर्फ मोबाइल कन्ट्याक्ट ट्रेसिङको गोपनीयता र सुरक्षाको प्रोटोकलमा  विश्वास राख्नेहरुलाई भने अब यी उपकरणप्रति विश्वास जगाउन एकदमै ग्राहो हुनेछ ।

एप्पल र गूगलका यी सिस्टम वैश्विक लाभको लागि तयार भए पनि यसभित्र धेरै अनुत्तरित प्रश्न बाँकी नै छन् । वास्तवमा यो सिस्टम एपीआई हो ।

यो सिस्टम प्रयोग गर्ने एप्सलाई यसले केही ब्लुटुथ सम्बन्धी फंसनालिटी अनलक गरिदिन्छ । उदाहरणका लागि ब्याकग्राउण्डमा ब्लुटुथ ट्रेसिङ रन हुने क्षमता पनि यसमा हुन्छ ।

गोपनीयताको कुरा गर्दा एप्पल र गूगलले प्रयोगकर्ताहरुको पहिचानलाई गोप्य राख्न र लोकेसन तथा अन्य डेटाहरुको व्यापक संकलनलाई रोक्न कदमहरु उठाएका छन् । 

जस्तै युनिक ब्लुटुथ आइडेन्टिफायरलाई प्रत्येक १० देखि १५ मिनेटको बीचमा परिवर्तन गर्ने बताइएको छ । यद्यपी यो सिस्टम अझै पनि पूर्णरुपमा गोप्य बन्न सकेको भने छैन । 

उदाहरणका लागि  कोभिड-१९ को परीक्षणमा प्रोजेटिभ नदेखिनेहरुको मात्र प्रोक्सिमिटी आईडेन्टिफायर्स गोप्य राखिनेछ । त्यसपश्चात डिभाइसको आइडेन्टिफायर अरुसँग लिकं हुन्छ । अनि उक्त सिस्टमले आफू नजिक आएका सम्पूर्ण डिभाइसहरुमा क्रिप्टोग्राफिक की कपी पठाउँछ ।

यसलाई खराब नियत भएका व्यक्तिहरुले कसरी दुरुपयोग गर्नसक्छन् भन्ने प्रश्नमा अमेरिकाको संघीय व्यापार आयोगका प्राविधिक अस्कान सोल्तानीले कथित लिंकेज अट्याकको उदाहरण दिए । यसले कोभिड-१९ पोजिटिभहरुको पहिचानलाई सार्वजनिक गर्नसक्छ ।

सोल्तानी भन्छन्, ‘तपाईंको फोनको डिजाइन नै यसरी गरिएको छ कि तपाईंको फोनले ब्लुटुथको माध्यमबाट तपाईको रेन्जभित्र भएका जोकोहीलाई प्रत्येक सेकेण्ड युनिक आइडेन्टिफायर प्रशारण गर्छ ।’

यसको मतलब यो सिस्टमको प्रयोगलाई बन्द गर्नु बाहेक यसबाट बच्ने अरु कुनै उपाय प्रयोगकर्ताहरुसँग छैन । सोल्तानीका अनुसार ब्लुटुथ स्निफर र भिडियो क्यामेरा भएकाहरुले सार्वजनिक स्थलमा पनि फोटो र रोलिङ आईडेन्टिफायरहरु संकलन गर्न सक्छन् ।

यदि कुनै व्यक्ति कोभिड-१९ बाट संक्रमित भएको पाइएमा ती अट्याकहरुले त्यस्ता संक्रमितहरुको फोटो र रोलिङ आइडेन्टिफायरसँग डायग्नोसिस की पेयर गराउन सक्छन् ।

सोल्तानीका अनुसार रिटेल लोकेसन ट्र्याकिङ कम्पनी जस्ता पूर्णरुपमा स्रोत सम्पन्न अट्याकरहरुले यस्तो विधि व्यापक मात्रामा विस्तार गर्नसक्छन् । जसले मानिहरुको व्यापक गतिविधिको प्याटर्नलाई ट्र्याक गर्न सक्छ ।   

यस्तो सिस्टमलाई एडर्भटाइजिङ प्रविधि र रिटेल ट्र्याकिङ कम्पनीहरुले कोभिड-१९ संक्रिमत व्यक्तिहरुलाई पहिचान गर्न प्रयोग गर्न सक्छन् । डिभाइसमा कन्ट्रयाक्स ट्रेसिङ एप इन्सटल भइसकेपछि त्यसमा दैनिक आईडेन्टिफायरहरुको लग आएर बस्छ ।

प्रयोगकर्तामा कोभिड-१९ को पोजिटिभ देखिएपछि उनीहरुको डिभाइस पनि लिंक हुन थाल्छ । व्यक्ति कोरोना संक्रिमत नभएसम्म मात्र यो सिस्टम गोप्य रहनेछ । 

यसमा अर्को महत्वपूर्ण कुरा भनेको गूगल र एप्पलको एपीआई नयाँ प्रविधि होइन । यो डेभलपर्सहरुले प्रयोग गर्ने फ्रमेवर्क हो । यो केसमा सार्वजनिक स्वास्थ्य संगठनहरु डेभलपर्सको रुपमा हुनसक्छन् । 

ब्लुटुथमा समाविष्ट जोखिम र स्वास्थ्य सम्बन्धी डेटा संकलनका अनुत्तरित प्रश्नले मोबाइल कन्ट्रयाक्ट ट्रेसिङको महत्वपूर्ण पाटो स्वीकार्यता तथा आत्मसाथ गर्ने विषयलाई कमजोर बनाउन सक्छ । 

यसप्रकारका कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन व्यापक जनसंख्याले प्रयोग गर्नुपर्ने हुन्छ ।   कोभिड वाच जस्ता कन्ट्याक्ट ट्रेेसिङ रिसर्च ग्रुपले आफ्नो सफलताको दर ६० प्रतिशत रहेको देखाएका छन् ।

अमेरिकन सिभिल लिबर्टीदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले यो सिस्टमाथि आशंका व्यक्त गरिरहेका छन् । यसले गर्दा पर्याप्त संख्यामा प्रयोगकर्ताहरुले यसलाई डाउनलोड गरी आफ्नो डिभाइइसमा इन्स्टल गर्लान् त भन्ने प्रश्नहरु उब्जिएका छन् ।

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४