close

के साच्चिकै टेलिकमको पोस्टपेडमै समस्या छ ?

टेकपाना टेकपाना

बैशाख ९, २०७७ १२:१०

के साच्चिकै टेलिकमको पोस्टपेडमै समस्या छ ?

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुबै बिलिङ सिस्टममा मोबाइल सेवा उपलब्ध गराउँदै आइरहेको छ । तर पोस्टपेड मोबाइलको बिलिङ प्रणालीको विषयमा बेलाबखत प्रयोगकर्तामा केही अन्यौलता र दुविधा पैदा हुने गरेको छ ।

जसलाई उनीहरुले समस्या र आशंकाको रुपमा बुझिरहेका हुन्छन् । महंगो मूल्यमा किनेको सीमका लागि मासिक न्युनतम शूल्क मात्रै नभएर प्रिपेड जस्तै रिचार्ज तिर्दै आएका प्रयोगर्ताका लागि त्यसमा खास के छ ?

यस विषयमा पनि कतिपयमा प्रस्ट जानकारी रहेको पाइँदैन । त्यसैले यसका केही नियम र प्राविधिक विषयमा जानकारी थाहा पाइराख्न एकदमै जरुरी छ ।

पोस्टपेडको बिलिङ कसरी हुन्छ ?

पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्यमा (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मात्र बिल तयार गरिन्छ ।

बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ । उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल १४२५ रुपैयाँ छ भन्नुको अर्थ ग्राहकले मार्च १४ सम्मको बिलमध्ये सो बराबरको भुक्तानी गर्न बाँकी रहेको भन्ने बुझ्नुपर्ने हुन्छ ।

अनबिल्ड अमाउन्ट

पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपश्चात् उक्त कलवापत लाग्ने रकमको हिसाब भने गरिरहेको हुन्छ ।

यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग वापतको रकमलाई अनबिल्ड अमाउन्ट भनिन्छ ।

उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट २४८ छ भनिएको छ भने मार्च १५ सम्मको बिल तयार भए पश्चात् भन्दा पछि अर्थात मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम २४८ रहेको भन्ने बुझाउँछ ।

यसरी महिनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल १५) बिल तयार हुन्छ ।

ड्यू अमाउन्ट

सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम नै ड्यु अमाउन्ट हो । जसमा अनपेड बिल र अनबिल्ड अमाउन्ट जोडिएको हुन्छ । उदाहरणको लागि अघिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ मा अनपेड १४२५‍‍‍ तथा अनबिल्ड अमाउन्ट २४८ गरी कूल ड्यु अमाउन्ट १६७३ रुपैयाँ हुन्छ ।

तपाईंले *400# डायल गरेर आफ्ने बिलिङ रकमको विषयमा जानकारी लिन पनि सक्नुहुन्छ । यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाहिँ ग्राहकले प्रयोग गर्न पाउने रकम हो ।

क्रेडिट लिमिट

अहिलेको समयमा पोस्टपेड नम्बर लिँदा स्वामित्व करवापतको ५०० रुपैयाँ, भ्याटवापत ६५ रुपैयाँ र क्रेडिट लिमिट वापत ३८० गरी जम्मा ९४५ लाग्छ । स्वामित्व कर तथा भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने ३८० रुपैयाँ ग्राहकले विभिन्न सेवामा प्रयोग गर्न पाउँछन् ।

यो रकम नै ग्राहकको क्रेडिट लिमिट हो । नयाँ पोस्टपेड मोबाइल लिँदा लाग्ने शूल्कमा परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ ।

रेन्टल चार्ज

टेलिकमले पोष्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल चार्ज तय गरेको छ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि ३८३.०७ रुपैयाँ तिर्नै पर्ने हुन्छ ।

यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक पर्न सक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था सुरुदेखि नै कायम छ ।

मासिक रुपमा त्यसभन्दा धेरै रकम प्रयोग गर्नेहरुले रिचार्ज गरेर क्रेडिट लिमिट बढाउनु उपयुक्त हुन्छ । यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ ।

तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ । तपाईंले *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्नुहुन्छ ।

संचित रकम सकिएर कल गर्न ब्यारियर तथा एकतर्फी भएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ ।

सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि मात्र बाँकी रहेको प्याक पुनः प्रयोग गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेका छन् । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि । रेन्टल चार्ज वापत ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ ।

मानौ कुनै ग्राहकले महिनामा १०० रुपैयाँ मात्र प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ नै काटिने हुन्छ । यस्तो अवस्थामा आफ्नो २८३.०७ कता गयो भन्ने कुरा कतिपयलाई हुनसक्छ ।

बिल कसरी थाहा पाउने ?

*400# डायल गरेर पोस्टपेड मोबाइल बिलको जानकारी लिन सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत तथा कम्पनीको एपबाट समेत बिल हेर्न सकिन्छ । एपमा पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड समेत हेर्न सकिने सुविधा पनि छ ।

पोस्टपेड किन चलाउने ?

नेपाल टेलिकमले एकीकृत बिलिङ प्रणाली अपनाउन थालेपछि धेरै प्रयोगकर्ताले प्रिपेड मोबाइलभन्दा यो फरक नभएको अनुभव गरिरहेका छन् । तर पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो छ ।

प्याकेज लगायतका विभिन्न सुविधाका साथै प्रयोग गर्ने व्यक्तिको व्यक्तित्व बढाउनमा समेत भूमिका निभाउने विश्वासका आधारमा प्रयोगकर्ताहरुले सकेसम्म पोस्टपेड नम्बर प्रयोग गर्न चाहिरहेका हुन्छन् ।

http://45.32.118.189/2020/13809/
यो पनि पढ्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४