close

लकडाउनभर इन्टरनेटको म्याद थप्ने घोषणाबाट किन पछि हट्यो टेलिकम ?

टेकपाना टेकपाना

बैशाख १२, २०७७ १३:५२

लकडाउनभर इन्टरनेटको म्याद थप्ने घोषणाबाट किन पछि हट्यो टेलिकम ?

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम लकडाउनको समयमा राहत उपलब्ध गराउने आफ्नै घोषणाबाट पछि हटेको  छ । लकडाउनको बेला समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णयबाट कम्पनी अघोषित रुपबाटै पछि हटेको हो । 

टेलिकमले गत १९ चैतमा विज्ञप्तिमार्फत आफ्ना एडीएसएल, एफटीटीएच तथा वाइम्याक्स सेवाको निरन्तरताका लागि लकडाउन अवधिभरका लागि म्याद थप गर्ने निर्णय सार्वजनिक गरेको थियो । उक्त निर्णयबाट कम्पनी पछि हटेको जानकारी हालसम्म सार्वजनिक भने भएको छैन । 

लकडाउनको अवधिमा समयावधि सकिएका लाइनको म्याद थप गर्ने भन्दै टेलिकमले जारी गरेको विज्ञप्ति

तर कम्पनीले लकडाउन नसकिँदै सेवाग्राहीको लाइन काट्न थालेको छ । टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारी पहिलो चरणको लकडाउनको सन्दर्भमा मात्रै त्यस्तो निर्णय गरिएको बताउँछन् ।  ‘कम्पनीको उक्त निर्णय २५ सम्मका लागि मात्रै थियो,’ तर पनि हामीले पीएसटीएन तथा ल्याण्डलाइन भने काटेका छैनौँ । समयमै शूल्क बुझाउन नसक्ने ग्राहकहरुबाट बिलम्ब शूल्क नलिने व्यवस्था पनि कायमै छ ।’

चैत २५ यता म्याद सकिएका एडीएसएल तथा एफटीटीएच लाइन भने काट्न थालिएको सहप्रवक्ता भण्डारीले जनाए । उनले भने, ‘तर रिचार्ज नपाएर सेवा अवरुद्ध भएको भन्ने त्यस्तो धेरै गुनासो भने आएको छैन ।’

त्यसो त टेलिकमले राहत घोषणा गरेको १२ दिनपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समेत सेवाप्रदायकहरुलाई इन्टरनेट सेवा सुचारु राख्न सार्वजनिक सूचना जारी गरेको थियो । तर निजी सेवाप्रदायकले भने आफूहरु त्यसका निम्ति असमर्थ रहेको बरु लकडाउनका कारण सेवा शूल्क समेत उठ्न नसकेको भन्दै सरकारसँग राहतको मागिरहेका छन् । 

एकाएक इन्टरनेटको लाइन काटिन थालेपछि सेवााग्राहीहरु अन्यौलमा परेका छन् । समयावधि सकिएका कारण लाइन काटिएको विषयमा टेलिकमले एसएमएस मार्फत आफ्ना ग्राहकलाई जानकारी समेत दिएको छैन ।  

ग्राहक सेवाकेन्द्र (१९८) मा सम्पर्क हुन नसकिरहेको गुनासो उपभोक्ताबााट सुनिन थालेको छ । त्यसो त कम्पनीले करोडौं रुपैयाँ खर्च गरेर वेबसाइट र मोबाइल एप समेत बनाएको छ । त्यसमा खाता खोलेर लगईन गर्न सकिने व्यवस्था पनि छ । तर मोबाइल बाहेकका सेवाको लग–ईनको सुविधा भने त्यसमा छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३