close

लकडाउनमा दैनिक ६ घन्टासम्म इन्टरनेटमा बिताउने नेपाली बढे, अश्लील साइट हेर्ने ४२ प्रतिशत

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १५:२४

लकडाउनमा दैनिक ६ घन्टासम्म इन्टरनेटमा बिताउने नेपाली बढे, अश्लील साइट हेर्ने ४२ प्रतिशत

काठमाडौं । लकडाउनको समयमा घरमा बसिरहँदा नेपालीहरुले दैनिक रुपमा ओषत ६ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । चाइल्ड सेफ नेटले सार्वजनिक गरेको सर्वेक्षण अनुसार यो समयमा इन्टरनेटमा समय बिताउनेको संख्या निकै बढेको छ ।

चाइल्ड सेफ नेटले कोभिड–१९ का कारण लकडाउन सुरु भएपछि परिवर्तित अनलाइन व्यवहारको सर्वेक्षण गरेको थियो । कुल १२ सय २८ जनाले सहभागी समेटिएको सर्वेक्षणबाट ३४.५३ प्रतिशत प्रयोगकर्ताले दैनिक ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्नेको देखिएको छ ।

जब कि लकडाउन अघिको समयमा ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्नेको हिस्सा २६.९५ प्रतिशत रहेको थियो ।

एक घण्टाभन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको हिस्सा यो बेला ७.९८ प्रतिशतबाट घटेर १.३८ प्रतिशतमा झरेको छ ।

त्यसमध्ये ८७.१ प्रतिशतले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ । उनीहरुको पहिलो रोजाइ युट्युव हुने गरेको बताइएको छ ।

सबैभन्दा बढी प्रयोग हुने अनलाइन सामग्रीमा युट्युव पहिलो नम्बरमा छ । त्यसपछि फेसबुक, इन्स्टाग्राम, नेपाली समाचार साइट, टिकटक, ट्वीटर क्रमशः दोश्रो, तेश्रो, चौथो, पाचौँ र छैटौं स्थानमा रहेका छन् ।

सरकारले अश्लील साइटमा प्रतिबन्ध लगाए पनि त्यसको प्रयोग गर्नेको संख्या ४१.७ प्रतिशत रहेको रोचक तथ्य समेत सर्वेक्षणमा देखिएको छ ।

सर्वेक्षण प्रतिवेदनअनुसार यो समयमा बालबालिका सबैभन्दा बढी अनलाइन दुर्व्यवहार वा शोषणको उच्च जोखिममा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३