close

रिलायन्स र फेसबुकको सहकार्य ईकमर्शमा पनि, ह्वाट्सएपमा सुरु भयो जियो मार्टको परीक्षण

टेकपाना टेकपाना

बैशाख १५, २०७७ १७:३२

रिलायन्स र फेसबुकको सहकार्य ईकमर्शमा पनि, ह्वाट्सएपमा सुरु भयो जियो मार्टको परीक्षण

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजले आफ्नो नयाँ अनलाइन सपिङ पोर्टलको परीक्षण सुरु गरेको छ । फेसबुकले ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको एकदिनपछि मुकेस अम्बानीको कम्पनी रिलायन्स जियोले भारतमा ईकमर्श पोर्टलको परीक्षण सुरु गरेको हो ।

यो पोर्टल रिलायन्स जियोको इकमर्श भेञ्चर जियो मार्टद्वारा सञ्चालित छ । भारतमा यो सपिङ पोर्टल फेसबुकको ह्वाट्सएप प्लेटफर्ममा उपलब्ध हुनेछ । जियो मार्ट लाइट वेबसाइटका अनुसार परीक्षणको क्रममा रहेको यो पोर्टलमा अहिलेका लागि मुम्बई वरपरका तीन क्षेत्रहरु नाभी मुम्बइ, थाने र कल्यानका वासिन्दाले प्रयोग गर्नसक्ने छन् ।

प्रयोगकर्ताहरुले +९१-८८५०००८००० मा हाई लेखेर अर्डर सुरु गर्न सक्छन् । यति गरेपछि ब्राउजरमा एउटा लिंकबाट मिनी स्टोर खुल्छ । जहाँ सेवाग्राहीले आफूलाई आवश्यक खाद्य सामग्रीहरुको अर्डर गर्न सक्छन् ।

हालसम्म कम्पनीले कुनै पनि डिजिटल पेमेन्ट सेवा समावेश नगरेका कारण अर्डर लिइसकेपछि जियो मार्टले नजिककैको स्टोरलाई हस्तान्तरण गर्छ र ह्वाट्सएपमार्फत रसिद पठाउँछ । हाल जियोमार्टको यो नयाँ कार्यक्रम पाइलट चरणमै छ ।

अहिले यसमा १२ सय ग्रोसरी स्टोरहरु समावेश भइसकेका छन् । भारतकै ठूलो दूरसञ्चार कम्पनी जियो रिलायन्सका ३८ करोड ५० लाख प्रयोगकर्ता रहेका छन् भने भारतमा ह्वाट्सएपका प्रयोगकर्ताको संख्या ४० करोडभन्दा बढी छ ।

यी दुवै माध्ययमलाई समावेश गर्दै आगामी दिनमा रिलायन्स जियोले कसरी अघिबढ्छ भन्ने हेर्न बाँकी भने बाँकी नै छ । गत हप्ता फेसबुकले रिलायन्स जियोमा ५ अर्ब ७ करोड अमेरिकी डलर लगानीको घोषणा गरेर कम्पनीमा ९.९ प्रतिशत शेयर सुरक्षित गरिसकेको छ ।

भारतका लागि फेसबुक कम्पनीका उपाध्यक्ष अजित मोहनले एक मिडिया अन्तरवार्ताका क्रममा दुई कम्पनीले सहकार्यका लागि अन्य बाटाहरु पनि खाेज्ने बताएका छन् ।

उनले यो सेवाका लागि पेमेन्ट सर्भिस बारेमा भारतमा दुई वर्षदेखि परीक्षण भइरहेको बताए ।भारतमा देशव्यापीरुपमा पेमेन्ट रोलआउट गर्न ह्वाट्सएपले नयाँ दिल्लीबाट स्वीकृति लिन बाँकी छ ।

गत वर्ष एउटा स्थानीय मिडिया रिपोर्टले ह्वाट्सएपले विभिन्न चरणमा देशभर भुक्तानीको पहुँच विस्तार गर्न सुरु गरेको बताएको थियो । अजित मोहनका अनुसार गत हप्ता मात्र भारतका १० लाख प्रयोगकर्ताहरुले ह्वाट्सएपकको मोबाइल पेमेन्ट सर्भिसमा पहुँच बनाएका थिए ।

फेसबुकसँगको सहकार्यले अमेजन डट कम, वालमार्ट कर्पोरसनको फ्लिपकार्ट अनलाइन सर्भिस जस्ता इकमर्सको बजार हत्याउने अम्बानीको सपनालाई पुरा गर्न ठूलो सहायता मिलेको छ ।

केपीएमजीले अमेजन र फ्लिपकार्ट जस्ता ई-कमर्सहरुको बजार २०२७ सम्ममा २ खर्ब डलरसम्म पुग्ने अनुमान गरेका छ । फेसबुकले पनि जियोमार्टसँग सहकार्य गरेर ह्वाट्सएलाई साना व्यवसायमार्फत सेवाग्राहीसँग जोडिन मद्दत गर्ने अपेक्षा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३