close

पीपीईका लागि महाबिर पुनलाई गुहार्दै देशभरका स्वास्थ्यकर्मी

टेकपाना टेकपाना

बैशाख १७, २०७७ १६:३५

पीपीईका लागि महाबिर पुनलाई गुहार्दै देशभरका स्वास्थ्यकर्मी

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले देशभरका स्वास्थ्यकर्मीले आफूहरुसँग पीपीईको माग गरिरहेको बताएका छन् । सरकारले कोरोनाभाइरसको नियन्त्रण तथा उपचारका लागि आवश्यक मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेपछि स्वास्थ्यकर्मीहरुले त्यसका लागि आविष्कार केन्द्रको मुख ताक्न थालेका हुन् ।

कोरोना भाइरसको महामारी फैलिन सुरु भएसँगै महाबिर पुन स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खट्ने व्यक्तिहरुको सुरक्षाका लागि आवश्यक पीपीई तयार पार्न अग्रसर भएका थिए । उनको अग्रसरतामा आविष्कार केन्द्रले केही मात्रामा पीपीई तयार पारी निःशूल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

तर देशभरको आवश्यकता पूर्ति गर्न सक्ने मात्रामा पीपीई उत्पादनका लागि भने आविष्कार केन्द्रसँग पर्याप्त स्रोत छैन । लकडाउन सुरु भएको एक महिना वितिसक्दा समेत बजारमा आवश्यक मात्रामा स्वास्थ्य सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मी तथा सर्वसाधारणले गुनासो व्यक्त गर्न थालेका छन् ।

कुनै नियम कानूनले स्वास्थ्य सामग्री आपूर्तिमा ढिलाई भएको भए अध्यादेशमार्फत सहजीकरण गर्न पुनले सुरुवाती समयदेखि नै सरकारलाई आग्रह गर्दै आएका छन् । ‘नेपालभरका सरकारी तथा निजी अस्पताल र स्वास्थ्य चौकीहरुका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुले हरेक दिन फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रमा पीपीईको माग गरिरहेका छन्,’ पुनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्, ‘हामीले त सकेसम्म निःशूल्कमा रुपमा बाँडेकै हो ।’

तर आवश्यक मात्रामा पीपीई तयार पार्ने कार्यमा केन्द्रलाई आर्थिक सहयोगको खाँचो छ । त्यसका लागि इच्छुकलाई सहयोग गर्न पुनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सहयोग गर्नेहरुले गरिरहेका पनि छन् ।’

पीपीईको सहयोग आवश्यक भएमा आफूलाई सम्पर्क गर्न भन्दै पुनले सकेसम्म मद्दत गर्ने बताएका छन् । पुनलाई सम्पर्क गर्न चाहनेले उनको मोबाइल नम्बर ९८४१५९२३६१ मा फोन गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३