close

‘अबको शिक्षामा अनलाइन प्रणाली अपरिहार्य’

टेकपाना टेकपाना

बैशाख १८, २०७७ १७:५३

‘अबको शिक्षामा अनलाइन प्रणाली अपरिहार्य’

काठमाडौं । विज्ञहरुले अबको शिक्षामा अपरिहार्य रुपमा अनलाइन प्रणाली समावेश गराउनुपर्ने बताएका छन् । आईटी टिचर्स एसोसियसन नेपालको संयोजनमा बुधबार सम्पन्न अनलाइन सेमिनारमा सहभागी विज्ञहरुले अनलाइन शिक्षामा विशेष जोड दिएका हुन् ।

शिक्षा क्षेत्रमा कोरोना भाइरसले पारेको असर, नेपालको तयारी तथा आगामी दिनमा चाल्नुपर्ने कदम तथा पूर्व तयारी सम्बन्धी विषयमा उक्त कार्यक्रम केन्द्रीत रहेको थियो ।

सेमिनारमा नेपाल खुला विश्वविद्यालयका उप-कुलपति प्राडा लेखनाथ शर्मा,  पुर्व मन्त्री गणेश शाह, पोखरा विश्वविद्यालयका  उप-कूलपति प्राडा इन्द्रप्रसाद तिवारी,  सुदूर पश्चिम विश्वविद्यालयका  उप-कुलपति प्राडा अम्मराज जोशी,  त्रिभुवन विश्वविद्यालयका डेपुटी कन्ट्रोलर डा घनश्याम ठाकुर, र इन्जिनियरिङ संस्थानका प्राध्यापक डा सुवर्ण शाक्यको सहभागीता रहेको थियो ।

यसैगरी, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा मनिष पोख्रेल , पूर्वाञ्चल विश्वविद्यालयक प्राध्यापक डा राजकुमार ठाकुर, त्रिभुवन विश्वविद्यालय कम्प्युटर बिज्ञान विभाग प्रमुख उप प्राध्यापक  नवराज पौडेल , नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल तथा प्राधिकरणकै वरिष्ठ निर्देशक आनन्द राज खनालले आफ्ना धारणा राखेका थिए ।

कोरोना भाइरसका कारण नेपाल खुला विश्वविद्यालय बाहेक अन्य सबै विश्वविद्यालयहरुको पठनपाठन प्रवाभित भएको छ | तर सबै विश्वविधालयहरुले वैकल्पिक तथा सहायक व्यवस्थाको रूपमा आंशिक भएपनि विद्यार्थीहरुलाई अनलाइन शिक्षामा आवद्ध गर्दै रहेका छन् ।

नेपालको ७० प्रतिशत जनतामा इन्टरनेट पहुँच पुगेको दाबी गरिएपनि शैक्षिक गतिविधि सञ्चालन हुन सक्ने गरी पहुँच,  सर्वसुलभ, तथा  गुणस्तरीय सेवा भने उपलब्धत हुन सकेको छैन । विज्ञहरुले नेपाली विद्यार्थी तथा अभिभावकको आर्थिक क्षमता, शिक्षक तथा विद्यार्थीको इलोक्ट्रोनिक तयारी, विश्वविधालय तथा क्याम्पसको आईटी पूर्वाधार, पाठ्य सामग्री व्यवस्थापन प्रणाली, अनलाइन पद्दतिमा गरिने पठनपाठन एवम् मुल्यांकन सम्बन्धी नीतिगत अन्यौल जस्ता अनेक चुनौती औँल्याए ।  

सहर केन्द्रीत केही निजी विद्यालयमा आंशिक कक्षाहरु आनलाइनमा संचालन हुन थालेको भए पनि वर्षभरको सम्पूर्ण शैक्षिक गतिविधि नियमित संचालन गर्न असम्भव जस्तै देखिएको छ । तर चुनौतीकै बीच विद्यमान विज्ञान प्रविधिको उपयोग गरी शिक्षामा एउटा नयाँ युगको शुरुवात गर्न सकिनेमा भने विज्ञहरु एकमत देखिएका छन् |

सरकार आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बनाउने गृहकार्यमा जुटेको छ । शिक्षा क्षेत्रलाई ठोस सहयोग तथा मार्गदर्शन गर्नेगरी कार्यक्रमको खाका ल्याउने कुरामा सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा विभिन्न  विश्वविद्यालय तथा क्याम्पसका पदाधिकारी, प्रोफेसर, दूरसञ्चार क्षेत्रका उच्च अधिकारीहरु, अनुसन्धाता गरी करीब ६० जना विज्ञको सहभागीता रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३