शिक्षा प्रणालीसँगै गुणस्तर सुधार्ने ‘वेद’

काठमाडौं । यो बेला प्रविधिमैत्री शिक्षा चर्चाको विषय छ । अनलाइन कक्षा सञ्चालन कतिसम्म सम्भव भन्ने विषयमा व्यक्ति विशषका आ–आफ्नै धारणा छन् । कोही यसको पक्षमा छन् त कोही सम्भव नभएको तर्क गरिरहेका छन् ।

तर, पनि हामीले स्वीकार गर्नैपर्छ, अबको शिक्षा प्रविधिमैत्री नभई धरै छैन । आजभन्दा पाँच वर्ष अघि नै शिक्षा क्षेत्रमा प्रयोग हुनसक्ने प्रविधिको परिकल्पना तीन जना नेपाली युवाले गरिसकेका थिए ।

यसको अर्थ पाँच वर्ष अघि यो विषयमा चर्चा नै हुँदैनथ्यो भन्ने चाहिँ होइन । यस्तो परिकल्पना नेपाली युवा उनीहरुको नै पहिलो हुन् भन्ने पनि होइन । अरुले एक किसिमको सुरुवात गरिसकेका थिए ।

तर, प्रविधि मैत्री र गुणस्तरीय शिक्षाको कल्पना थोरैले गरेका थिए । त्यसैले उनिहरुले खाइपाइ आएको जागिर लत्याएर आफैं केही गर्ने हठका साथ ‘इन्ग्रेल्स’ नामक कम्पनी सुरु गरे ।

एउटा अँध्यारो कोठाबाट सुरुभएको इन्ग्रेल्सको यात्रामा २५ वर्षे युवाहरु सुजित पाठक, निर्देश दुआ र सञ्जन पियाको जोडिए । त्यही अँध्यारो कोठाबाट सुरु भएको इन्ग्रेल्सबाट आज २५ जना भन्दा बढीले शिक्षा क्षेत्रमा उज्यालो छर्ने काम गरिरहेका छन् ।

छोटो समयमै उनीहरुले लिएको उचाई साच्चिकै लोभलाग्दो छ । इन्ग्रेल्सकै प्रडक्ट ‘वेद’ (विद्यालयका लागि निर्माण गरिएको एप) आज नेपालका सरकारी तथा निजी गरी तीन सयभन्दा बढी विद्यालयको रोजाइको विषय बनिसकेको छ ।

‘अहिले तीन सय भन्दा बढी विद्यालय, तीन लाख अविभावक र २० हजारभन्दा बढी शिक्षक हामीसँग जोडिएका छन्,’ कम्पनीका सह-संस्थापक तथा सीईओ सुजित पाठक सुनाउँछन्, ‘सुरुवातमा हामीसँग योजना र गर्न सकिन्छ भन्ने आत्मविश्वास मात्रै थियो ।

आफ्नै भोगाइले कल्पना गर्न सिकाएको थियो । अमेरिका, हंङकङ, चीन लगायतका देशका कम्पनीको एप बनाउने र उनीहरुलाई बिक्रीपछिको सेवा दिने काम गरिरहेको भए पनि हाम्रा लागि नेपाली परिवेश त्यति सहज भने थिएन ।’

तर, नेपालमा बसेर विदेशी कम्पनीको लागि काम गर्नुमात्रै आफ्नो भविष्य हो त ? यो प्रश्नले तीनै जना सह-संस्थापकहरुलाई घेरिरहने गर्दथ्यो । ‘हामी तीन जनासँगै थियौं । कलेज पनि सकिएको थियो । साथमा केवल ५०–५० हजार रुपैयाँ थियो । यही तीन ५० हजार र अनुभवले हामीलाई हिम्मत दियो । हामीले नेपालको शिक्षा क्षेत्रमा देखिएको सबैभन्दा ठूलो कमजोरी विद्यालय र अभिभावकबीचको दूरीलाई कम गर्ने सोच बनायौं,’ सुजित भन्छन् ।

विद्यालय र अविभावकबीचमा निरन्तर अन्तक्रिया नहुँदा बालबालीकामा पर्ने असरलाई उनीहरु अन्त्य गर्न चाहन्थे । अहिले पनि विद्यालय र अविभावकको भेटघाट वर्षमा केवल दुई दिन हुने गर्छ । एउटा अविभावक दिवसको दिन, अनि अर्को विद्यालयमा विद्यार्थी भर्ना हुँदाको दिन । यसले विद्यार्थीको शिक्षा र वृत्ति विकासमा मद्दत नपुग्नेमा उनीहरु स्पष्ट थिए ।

सुजित भन्छन्, ‘हामीले बजारमा उपलब्ध अन्य एपको अध्ययन गरेका थियौं । त्यसले हामीलाई कहिल्यै सन्तुष्ट बनाएन । हामी विदेशीक‍ा लागि जस्तोसुकै एप बनाउन सक्ने अनी आफ्नै देशमा किन त्यही एपमार्फत सेवा दिन नसक्ने भन्ने पनि भयो । हामी चाहथ्यौं, एउटा अविभावकले आफ्नो बच्चा विद्यालयमा के गर्छ, के गरिरहेको छ, उसको पढाई कस्तो छ भन्ने सबै कुरा दैनिक रुपमा अपडेटमा लिन पाउन् ।’

त्यसैका लागि एउटा सानो परीक्षणको रुपमा वेद एप सुरु भयो । जसमा एउटा नोटिफिकेसन मात्रै पठाउन मिल्थ्यो । त्यसको सुरुवात भने, सेन्टजेभियर्स स्कूलबाट भयो ।

सुरुवात आफूहरुका लागि निकै कठीन भएको सुजित सम्झिन्छन् । उनीहरुले सेवा सुरु गर्दासम्म नेपालमा मोबाइल एप्लिकेशनको खासै क्रेज पनि थिएन । जब उनीहरु सेन्टजेभियर्सका फादर (प्रमुख) लाई भेट्न गए, उनको जवाफ साच्चिकै नमिठो थियो । तर यथार्त त स्वीकार गर्नु नै थियो ।

‘तिमीहरु भर्खरका छौं,’ फादरलाई उद्धृत गर्दै सुजित सुनाउँछन, ‘भोलि तिमीहरु विदेश जान्छौ । अहिले सेवा दिए अनि दुई वर्षपछि तिमीहरु छोडेर हिड्ने निश्चित जस्तै छ । अनी तिमीहरु हिडेपछि हाम्रो सेवा पनि हिँड्छ ।’

यो नेपालको परिवेशमा यथार्त नै थियो । फादरमात्र होइन उनको अनुभव बोलिरहेको थियो त्यसबेला । एप प्रयोग गर्ने विषयमा विद्यालय पूर्णतः नकारात्मक थियो । तर, उनीहरुले विद्यालयलाई घचघच्याउन भने छाडेनन् ।

‘हामीले विदेशीका लागि गरेका कामहरु देखायौं । उहाँहरुलाई दुई महिना निःशूल्क परीक्षण गरिदिने भन्यौं । विस्तारै विद्यालय सकारात्मक हुँदै गयो,’ सुजित सुनाउँछन्, ‘सुरुका दुई तीन महिनामै हामीले विद्यालयको विश्वास जित्न सफल भयौं । जसको प्रतिफल विगत पाँच वर्ष देखि उहाँहरु हाम्रो सेवा प्रयोग गरिरहनु भएको छ । हाम्रो सेवा प्रयोग गर्न सेन्टम्यारिज लगायतका पाँच–सात वटा विद्यालयमा रिफर गर्ने काम पनि सेन्टजेभियरका फादरले गरिदिनु भयो ।’

विद्यालय त जोडिए । अब अविभावकको विषय थियो । अविभावलाई कसरी एप प्रयोग गर्न लगाउने ? वास्तवमा उनीहरुका लागि अविभावक अर्को चुनौतीको विषय थियो ।

त्यसका लागि उनीहरुले अध्ययन गरे । त्यसबाट काठमाडौंमा ९० प्रतिशत हाराहारीमा अविभावकले स्मार्टफोन प्रयोग गर्ने गरेको देखियो । यसको अर्थ त्यसमा ८० प्रतिशतले फेसबुक प्रयोग गर्छन् भन्ने निश्कर्ष निकाल्न सकिन्थ्यो । त्यसैले उनीहरुले प्रयोगको सहजताका लागि फेसबुकको जस्तै टाइमलाइन बनाए ।

फेसबुककै शैलीमा जानकारी दिँदा अविभावकलाई सहज हुन्छ भनेर उनीहरुले विद्यार्थीको होमवर्क, हाजिरीका साथै आज स्कूलमा के कार्यक्रम भयो, के हुँदै छ, कहिले, हुँदैछ, बस कहाँ आइपुग्यो, बस विद्यार्थी लिएर विद्यालय पुग्यो कि पुगेन लगायतका सबै जानकारी टाइमलाइमै उपलब्ध हुने बनाए ।

जसले यस्ता जानकारीका लागि अविभावकले छुट्टै सेक्सनमा जानु पर्ने बाध्यता हुँदैनथ्यो । साथै सबैले बुझ्न र प्रयोग गर्न सहज हुने गरी नेपाली भाषा पनि समावेश गरे ।

अब थियो एपलाई थप परिस्कृत गर्ने काम । एप दुई वटा थिए । एउटा विद्यालय र अविभावकको लागि बनाइएकाे ‘वेद’ । जुन इन्ग्रेल्सको मुख्य एप हो । अर्काे शिक्षकका लागि ‘वेद गुरु’ नामक छुट्टै एप छ ।

सुरुमा नोटिफिकेशनमात्रै समावेश दुवै एप विस्तारै परिस्कृत हुँदै गयो । उनीहरुलाई विद्यालयको विषयमा सबै विषय थाहा छ भन्ने लाग्थ्यो । ‘तर त्यो त भ्रम रहेछ । हामी सबै प्राविधिक क्षेत्रका मान्छे । हामीसँग प्रविधिको ज्ञान त थियो । तर, विद्यालयको बुझाई कमी रहेछ,’ सुजित सुनाउँछन्, ‘विद्यालयको आग्रह अनुसार हामीले होमवर्क, रिजल्ट, अकाउण्ट लगायतको सेवा थप गर्दै गयौं ।’

यी सबै विषय विद्यालयबाटै आएका सुझाव अनुसारका सेवा हुन् । विद्यालयबाट आएको सुझावका आधारमा उनीहरुले आफ्नो सेवालाई परिस्कृत गर्दै गएकाले पनि आज स्कूलका लागि पूर्ण समाधान सहितको एप बन्न सफल भएको छ ।

जसरी आज एप शिक्षक, अविभावक र विद्यार्थीका लागि प्रयोगमा सहज भएको छ, त्यो पनि सबै विद्यालयकै सुझावका आधारमा सम्भव भएको हो । सुजित भन्छन्, ‘यतिसम्म कि विद्यालयको अनुरोधमा हामीले अफलाइन होमवर्क राख्न मिल्नेसम्मको सिस्टमा विकाश गरेका छौँ ।

विस्तारै अझ फिचर थपिँदै गएका छन् । हामीले विद्यालयको सहजताका लागि एपबाट शिक्षकको प्रगति विवरण तयार गर्न मिल्नेसम्मको सिस्टम बनायौं । शिक्षकले कसरी पढाइरहेका छन्, विद्यार्थीको गृहकार्य जाँच भयो कि भएन, विद्यार्थीको हाजिरी भयो कि भएन, यस्ता सबै विषयमा विद्यालयले पनि निगरानी गर्न सक्ने सुविधा दिएका छौँ ।’

यदि शिक्षक तथा अविभावकलाई विगत पाँच वर्षको अवधिमा आफ्ना विद्यार्थी तथा बालबालिकाको पढाईमा कस्तो खालको परिवर्तन आइरहेको छ भनेर हेर्न मन लाग्यो भने वेदले त्यो पनि सम्भव बनाएको छ । यतिसम्म कि कुन विद्यार्थीले आजसम्म कति होमवर्क गर्‍यो, नगरेको कति छ, आधामात्रै गरेको कति छ, सहजै थाहा पाउन सकिन्छ । यतिमात्र होइन, कति दिन कक्षामा उपस्थिती जनायो, कुन विषयमा उसको रुची छ, कुन विषयमा राम्रो गरिरहेको छ, कुन विषयमा कमजोरी छ, यस्ता सबै विषय एपबाटै सम्भव भएको छ ।

यसरी सबै सुविधा थप्दै जाने कुरा सहज भने थिएन । बीचमा अनेक समस्या पनि देखिए । शिक्षकलाई कसरी विद्यार्थीको हाजिर रेकर्ड राख्ने, कसरी होमवर्क दिने भन्ने जस्ता प्राविधिक सीप सिकाउनुपर्ने चुनौती थियो ।

ढड्डा बोकेर हाजिरी गर्ने बानी परिरहेका शिक्षकमा सुरुमा आफूलाई काम थपिएको हो कि, आफूले प्रयोग गर्न नजान्ने हो कि भन्ने खालको बोझ महशुस नगरेका पनि होइनन् । तर, त्यस्ता समस्या पछिल्लो समय त्यति नदेखिएको सुजितको अनुभव छ ।

उनी भन्छन्, ‘हामीले तालिम दियौं, उहाँहरुको सहजताका लागि भाइबर ग्रुप बनाएर त्यहीँबाट प्रश्न सोधेको भरमा समस्याको हल गर्न सकिने व्यवस्था मिलायौं । अहिले त शिक्षकहरु नै यो सेवाले आफ्ना विद्यार्थी बुझ्नका लागि सहयोग पुर्‍याइरहेको बताउन थालेका छन् । कुन विद्यार्थी कुन विषयमा कस्तो छ भन्ने आधारमा शिक्षकलाई व्यवहार बनाउन सहज बनाइरहेको हुन्छ ।’

वेदको यो सेवा प्रयोग गर्नेमा निजी विद्यालय मात्रै नभएर सरकारी पनि छन् । हालसम्म १२ वटा सरकारी वेदसँग जोडिएका छन् । सरकारी विद्यालय र निजी विद्यालयमा उनीहरुले केवल प्रशासनिक भिन्नता मात्रै पाएका छन् ।

सुजित भन्छन, ‘प्रयोगको हिसाबले त्यति खासै फरक परेको छैन । हो निजी क्षेत्रको तुलनामा सरकारी विद्यालयका अविभावक र शिक्षकले एपको प्रयोग कम गरिरहेका छन् । तर, प्रशासनिक रुपमा भने राम्रैसँग प्रयोग भइरहेको छ ।’

नेपालमा बिक्री पछिको सेवामा त्यति गतिलो काम भएको छैन । सस्तोमा एप बनाउने अनी स्कूललाई बेच्ने र त्यसपछि आवश्यक सेवा उपलब्ध नगराउने खालका समस्या विद्यमान रहेकोमा सुजितको टिम जानकार नै थियो ।

यदि प्रयोकर्तामैत्री प्रडक्ट र सेवा दिन सकेको खण्डमा आफूहरु सफल हुन सक्नेमा उनीहरु ढुक्क थिए । त्यसैले बिक्रीपछिको सेवालाई सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा लिँदै अगाडि बढिरहेका छन् ।

त्यसैको परिणाम मान्नुपर्छ, एप सुरु भएको पहिलो वर्ष २० वटा विद्यालय वेदसँग जोडिएका थिए । दोस्रो वर्ष ५० पुग्यो । यसरी बढ्दै जाँदा हाल काठमाडौं, इटहरी पोखरा, विराटनगर, हेटौँडा, नेपालगञ्ज लगायत स्थानका विद्यालय, कलेज, मन्टेस्वरी वेदमा आवद्ध भएका छन् ।

छोटो समयमा पाएको उल्लेख्य सफलताको रहश्य सुनाउँदै सुजित भन्छन्, ‘हामी आफै सेल्सम्यान, आफै डेभलपर, आफै मार्केटिङ भएर काम गर्‍यौं । हामीले अफिस टाइम १० देखि ५ बजेसम्म कहिलै भनेका छैनौं । कुनै पनि समयमा कुनै पनि विद्यालयले हामीले दिएको सेवामा समस्या भोग्नु नपरोस् भन्ने हामी चाहन्छौँ। जस्तो अहिले कोरोनको समयमा विद्यालयलाई रिजल्ट प्रकाशित गर्नु पर्‍यो । त्यसका लागि हामी सहयोग गर्न हामी सबै विद्यालयमा पुगेका छौं । अब अनलाइन कक्षा सुरु गर्नुपर्ने भएको छ । हामी त्यसका लागि पनि तयार भएका छौँ ।’

अहिले वेद एपमै जूमलाई इन्ट्रिगेट गरी विद्यालयलाई अनलाइन कक्षाको सुविधा उपलब्ध गराउने काम भइरहेको छ । अनलाइनबाटै होमवर्क दिन मिल्ने, विद्यार्थीले गरेका हाेमवर्क अनलाइनबाटै जाँच गर्न सकिने र सल्लाह दिन मिल्ने सुविधा पनि थप भएको छ । कहिँ कतै समस्या आयो भने त्यसको समाधानका लागि विभिन्न किसिमका भिडियो ट्युटोरियल बनाएर विद्यालयलाई उपलब्ध गराइएको छ ।

यसैले त इन्ग्रेल्सको टिमले आजसम्म पछाडि फर्किएर हेर्नु परेको छैन । अब उनीहरु भारतीय बजारमा समेत आफ्नो सेवा विस्तार गर्ने तयारीमा छन् । केहो विद्यालयसँग त्यसका लागि कुराकानी भइरहेको सुजितले बताए ।

‘अमेरिकामा पनि सय वटा विद्यालय जोडिएको तल्सा अर्गनाइजेसन हामीसँग नियमित छलफलमा बसिरहेको छ । कानूनी प्रक्रिया पुरा भएको खण्डमा त्यहाँ पनि हाम्रो सेवा उपलब्ध गराउने तयारी गरिरहेका छौं,’ सुजितले भने ।

यो एप अविभावकले आफ्ना बालबालिकाको पढाई कस्तो छ, शिक्षकलाई कुन विद्यार्थीलाई कस्तो गाइडेन्सको जरुरी छ, अनी विद्यालयलाई कुन विद्यार्थीले कसरी प्रगति गरिरहेको छ भनेर हेर्नेकै लागि मात्रै सीमित नरहोस् भन्नेमा वेद सञ्चालकहरु लागिपरेका छन् । सुजित भन्छन्, ‘हामी यो एपमार्फत एउटा बालकले कसरी सोच्छ, उसमा मानसिक रुपमा कस्तो खालको प्रभाव परिरहेको छ, उसको मूड कस्तो छ, त्यो सबै ट्र्याक गर्न मिल्ने गरी यसलाई विकास गरिरहेका छौं ।’

यदि सुजितले भनेकै जस्तो सेवा विकास गर्न सके भने त्यसबाट शिक्षकले विद्यार्थीको मनस्थितिअनुसार पढाउन सक्छन् । अविभावकले पनि आफ्नो बच्चाको मूड आज कस्तो छ, उसँग कस्तो खालको व्यवहार गर्ने भनेर बुझ्न सहयोग पुगोस भन्ने हिसावले अहिले एपको विकासको योजना बनिरहेको छ ।

यो अमेरिका लगायतका देशमा लागु भइसकेको विधि हो । एपमै विद्यालयको अध्ययन गर्नुपर्ने विषयवस्तु, शिक्षकको च्याट रुम समेत विकास गर्ने काम भइरहेको सुजितले बताए ।

‘अहिलेको जारी विकासको काम सम्पन्न भएपछि शिक्षकले कुन विषयमा कसरी पढाउने, पढाउन कुन विधि प्रयोग गर्दा राम्रो हुन्छ भनेर अरु शिक्षकसँग छलफल गर्ने वातावरण सिर्जना गरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनी भन्छन्, ‘यो प्रक्रिया निरन्तर रुपमा अगाडि बढिरहेको छ । हामी शिक्षालाई डिजिटाइज गर्नेमात्र नभएर कसरी शिक्षाको गुणस्तरलाई नै उकास्न सकिन्छ भनेर लागिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team