close

सगरमाथामा फाइभजी सेवा सञ्चालनमा

टेकपाना टेकपाना

बैशाख १९, २०७७ ९:२१

सगरमाथामा फाइभजी सेवा सञ्चालनमा

काठमाण्डौं । चीनले सर्वोच्च शिखर सगरमाथामा फाइभजी एन्टरनेट पुर्‍याएको छ । चाइना मोबाइल र ह्वावेको संयुक्त प्रयासमा बिहीबार मध्यान्हदेखि सगरमाथा क्षेत्रमा फाइभजी सेवा सञ्चालनमा आएको हो ।

सगरमाथाको ६ हजार ५ सय मिटरको उचाइमा फाइभजी मोबाइल सेवा सुरु भएको समाचार चाइना डेलीमा प्रकाशित छ । तिब्बततर्फको भू-भागबाट गएको चिनियाँ टोलीले फाइभजी नेटवर्क जडान गरेको हो । 

फाइभजीसँगै ६५०० मिटरको उचाईमा गिगाबिट अप्टिकल फाइबर नेटवर्कको प्रयोग समेत सफल भएको छ । विश्व शिखरमा डुअल गिगाबाइट नेटवर्क सञ्चालनमा ल्याउने कार्यमा चाइना मोबाइललाई ह्वावेले सघाएको छ ।

ह्वावेले चाइना मोबाइलको डुअल गिगाबाइट नेटवर्क तयार पार्न आफूले इन्ड टु इन्ड सोलुसन उपलब्ध गराएको जनाएको छ । यसका लागि ५३०० मिटरको उचाइमा रहेको सगरमाथा वेशक्याम्पमा बेस स्टेसन राखिएको छ भने ट्रान्जिसन क्याम्प ५८०० मिटर उचाईमा र फरवार्ढ क्याम्प ६५०० मिटरमा छ ।

बेस स्टेसनमा ह्वावेको फाइभजी एएयू र एसपीएन प्रविधि प्रयोग गरिएको छ । जहाँ नेटवर्क मेन्टिनेन्स र अप्टमाइजेसनका लागि ५३०० मिटरको उचाइमा दर्जनौं नेटवर्क विज्ञले हप्ताको सातै दिन २४ सै घण्टा काम गरेका थिए ।

उक्त कार्यका लागि आवश्यक एन्टेना, टावर, सोलार लगायतका आवश्यक सामान चौरी गाई र चिनियाँ भरियामार्फत ओसारिएको थियो । सगरमाथामा फाइभजी सेवा सुरु भएसँगै त्यसबाट वैज्ञानिक अध्ययन, वातावरणीय रेखदेख र सगरमाथामा हुने गतिविधिको अनुगमनमा सहजता आउने चाइना डेलीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३