close

साओमीले प्रयोगकर्ताको तथ्यांक संकलन गरिरहेको आरोप

टेकपाना टेकपाना

बैशाख २१, २०७७ १३:३१

साओमीले प्रयोगकर्ताको तथ्यांक संकलन गरिरहेको आरोप

एजेन्सी । गार्बी किर्लिग नामक एक जना प्रयोगकर्ता साओमीका नयाँ फोनलाई गुप्तचर उपकरण मान्छन् । रेडमी नोट एट स्मार्टफोनले आफूले गरेको अधिकांश गतिविधिको निगरानी राखेको थाहा पाए पछि गाबीले फोब्र्ससँग यस्तो टिप्पणी गरेका हुन् ।

साओमीले संकलन गरेको प्रयोगकर्ताहरुको डेटा अर्को चिनियाँ कम्पनी अलिबाबाले होस्ट गरेको रिमोट सर्भरमा जाने गरेको छ । उक्त सर्भर साओमीले भाडामा लिएको हो । एक साइबर सुरक्षा सम्बन्धी अनुसन्धान अनुसार किर्लिगका अधिकांश स्वभाव तथा गतिविधिहरुलाई साओमी कम्पनीले ट्र्याक गरेको थियो ।

उनको डिभाइसको विभिन्न किसिमका डेटाहरुमा कम्पनीले अनाधिकृतरुपमा पहुँच पाएको थियो । साओमी कम्पनीले किर्लिगले भिजिट गरेको सबै वेबसाइटहरु डिभाइसको डिफल्ट साओमी ब्राउजरले रेकर्ड गर्ने गरेको छ ।

साथै गुगल जस्ता सर्च इंजिन र डकडकगो जस्ता गोपनियता केन्द्रित सर्च ईन्जिन र साओमी सफ्टवेयरको अन्य न्युज फिड फिचरको पनि उसले रेकर्ड राखेको छ । प्राइभेट ‘इनकग्निटो’ मोडमा पनि कम्पनीले फोन ट्रयाक गर्ने गरेको उनले बताएका छन् ।

साओमी फोनले प्रयोगकर्ताले कुन फोल्डर खोल्यो, कुन स्क्रिन स्वाइप गर्यो, स्टाटस बार र सेटिङ पेज सबै गतिविधिहरु रेकर्ड गर्ने गरेको छ । ति सबै डेटाहरु सिंगापुर, रसियामा रहेका रिमोट सर्भरमा पठाइन्छन् । यद्यपि कम्पनीको वेब डोमेन भने बेइजिङमा दर्ता भएको छ ।

यसबीच फोब्र्सको आग्रहमा साइबर सेक्युरिटी रिसर्चर एन्ड्रयु टियरनीले थप अनुसन्धान गरेका छन् । उनले पनि गुगल प्ले स्टोरमा साओमीले राखेको एमआइ ब्राउजर प्रो र मिन्ट ब्राउजरले डेटा संकलन गरेको तथ्य फेला पारेका थिए । तर साओमीले आफ्नो डिभाइसमा त्यस्तो केही समस्या नभएको बताएको छ ।

५० अर्ब डलर पूँजीको साओमी विश्वको शीर्ष चौथो स्थानको स्मारटफोन निर्माणकर्ता कम्पनी हो । बजार शेयरको आधारमा यो कम्पनी एप्पल, सामसङ र हुवावेपछि आउँछ । साओमीले हाइ एण्ड स्मार्टफोनहरुकै गुणस्तर भएका सस्ता डिभाइसहरु बिक्री गर्दै आएको छ ।

साओमी कम्पनीले डेटा सुरक्षामा आफू प्रतिबद्ध रहेको बताए पनि कम्पनीका प्रवक्ताले भने डिभाइसले ब्राउजिङ डेटा भने संकलन गरिरहेको पुष्टि गरेका छन् । तर ती सबै डेटाहरुलाई कुनै पहिचानसँग नजोडिकन प्रयोगकर्ताको गोपनीयतालाई रक्षा गर्दै संकलन गरिरहेको कम्पनीले बताएको छ । साथै, उनले प्रयोगकर्ताहरुले त्यसरी संकलन गर्न अनुमति पनि दिइरहेको बताएको छ ।

साओमीले प्रयोगकर्ताहरुको डेटा संकलन गर्नुको पछाडि अर्को पनि कारण छ । कम्पनीले यो डेटा वास्तवमा प्रयोगकर्ताहरुको बानी व्यहोरा बुझ्नका लागि संकलन गरिरहेको हो । कम्पनीले यसका सेन्सर एनालिटिक्स नामको चिनियाँ स्टार्टअपको बिहेभरल एनालिटिक्सको सेवा प्रयोग गरिरहेको छ ।

साओमीका प्रवक्ताका अनुसार उक्त स्टार्टअपले कम्पनीलाई डेटा एनालिसिस सोल्युसन दिंदै आइरहेको बताएको छ । उनले ती सबै संकलित डेटाहरु कम्पनीको आफ्नै सर्भरमा बस्ने र अन्य कम्पनी वा सेन्सर एनालिटिक्स कोहीसँग पनि शेयर नगरिने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३