close

भिडियो कन्फ्रेन्सिङ भाँड्ने प्रवृत्ति बढ्दै, संलग्न हुनेमा भर्खर क्याम्पस पढ्दै गरेका विद्यार्थी

टेकपाना टेकपाना

बैशाख २१, २०७७ २१:२७

भिडियो कन्फ्रेन्सिङ भाँड्ने प्रवृत्ति बढ्दै, संलग्न हुनेमा भर्खर क्याम्पस पढ्दै गरेका विद्यार्थी

काठमाडाैं । लकडाउन बढेसँगै विद्यालय, कलेज र विभिन्न  संघसंस्थाहरुले जूम तथा अन्य विभिन्न भिडियो कन्फ्रेन्सिङ एपबाट अनलाइन सेमिनार अर्थात वेबिनारको आयोजना गरिरहेका छन् । 

तर वेबिनारमा सहभागी हुने बहानामा त्यस्ता कार्यलाई नै भाँड्ने गतिविधि (स्पाम) समेत बढ्न थालेका छन् । गर्ल्स ईन टेक नेपालले जेनेस क्लाउड एकेडेमीसँगको सहकार्यमा प्रत्येक साता तीन वटासम्म अनलाइन सेमिनार आयोजना गर्दै आइरहेको छ ।

तर स्पामरहरुले (स्पाममा सहभागी हुने व्यक्तिहरु)  घुसपैठ गर्न थालेपछि संस्थाले आफ्नो वेबनारलाई स्थगित गर्नु परेको छ । यस्तो स्पामरको हमलाको निशाना गर्ल्स ईन टेक मात्र नभएर रोबोटिक्स एसोसिएसन नेपाल-र्‍यान पनि परेको छ ।

२७ अप्रिलमा र्‍यानको मिस टेक विङले आयोजना गरेको भर्चुअल प्यानल डिस्कसन पनि प्रभावित भएको थियो । उक्त भिडियो कन्फ्रेन्सको लाइभ सेसनको क्रममा केही स्मापरहरुले अश्लील शब्दमा प्रतिक्रियाहरु लेखेर अतिथि तथा सहभागीहरुलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएका थिए । 

यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसको गैर नाफामूलक संस्था नेक्स्टजेनले पनि २७ अप्रिलको आफ्नो अनलाइन कक्षामा यस्तो समस्या व्यहोरेको थियो । संस्थाका अनुसार केही व्यक्तिले फेक ईमेल प्रयोग गरी साइबर सुरक्षा कानूनकै उल्लंघन गरेका थिए । 

तर नेक्स्टजेनले तत्काल उक्त कमजोरीलाई सुधार गरेर कानूनी उपचारको लागि पनि काम गर्न थालेको थियो । यस अलावा नेक्स्टजेनले ती स्पामरहरुको ईमेल ट्रयाक गरी उनीहरुको धेरै जानकारी संकलन गरिसकेको छ । अब उसले चाँडै साइबर अपराधको मुद्दा दर्ता गराउने चेतावनी दिएको छ । 

यस्तै गर्ल्स ईन टेक नेपालको टिमले पनि स्पामरहरुलाई ट्रयाक गर्न सुरु गरेको छ । जेनेस क्लाउड एकेडेमीका सीईओ तथा गर्ल्स ईन टेक नेपालका संस्थापक अञ्जनि फुयाँलले यस्ता अवरोध उत्पन्न भएसँगै आफूहरुले त्यस्ता स्पामरहरुको ईमेलबाट उनीहरुलाई ट्रयाक गरिएको बताए ।

‘हामीले सांगठनिकरुपमै उनीहरुले त्यस्ता गतिविधि गरीरहेको थाहा पायौँ,’ उनले भने, ‘उनीहरुले एउटा प्राइभेट फेसबुक ग्रुप बनाएका रहेछन् । त्यसमा उनीहरुले नेपाल तथा विदेशमा भइरहेका सबै वेबिनारको रेकर्ड राख्दा रहेछन् । जब वेबिनार सुरु हुन्छन्, तब उनीहरुले ती सेसनहरु स्पाम र हाइज्याक गरिदिन्छन् ।’

यस्ता गतिविधिहरु साइबर अपराध भएको बताउँदै उनले सजायको माग गरेका छन् । उनले भने, ‘जब हामीले ट्र्याक गर्‍यौं, उनीहरु त कलेजका कलिला विद्यार्थी रहेछन् । उनीहरुलाई यस्ता गतिविधिको परिणाम थाहा नै छैन ।’

फुयाँलका अनुसार त्यस किसिमको कार्यमा संलग्न व्यक्तिलाई सम्पर्क गरी चेतावनी दिइएको छ । उनीहरुले यस्ता गतिविधि नदाेहोर्‍याउने बाचा गर्दै लिखित रुपमै माफी पनि मागेका छन्,’ उनले भने । रोबोटिक्स एसोसिएसन नेपालकी मिस टेक कोअर्डिनेटर शोभा सेढाईं त्यस्ता गतिविधिलाई रोक्न सचेतना जरुरी रहेको बताउँछिन् ।

* यस समाचारमा यसअघि अञ्जनि फुयाँललाई गरिएको सम्बोधन गलत भएकाले सच्याइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३