close

के साच्चिकै टेलिकमले ग्राहकलाई थाहै नदिई पैसा काटिरहेको छ ?

टेकपाना टेकपाना

बैशाख २४, २०७७ ११:३१

के साच्चिकै टेलिकमले ग्राहकलाई थाहै नदिई पैसा काटिरहेको छ ?

काठमाडौं । मंगलबार सामाजिक सञ्जालमा टेलिकमले अनधिकृत रुपमा प्रयोगकर्ताको पैसा काटिरहेको भन्ने विषय निकै चर्चामा रह्यो । मोबाइल डेटामा ब्यालेन्सबाट पटक पटक ९ पैसा काटिएको स्क्रीनसटहरु एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा आउन थाले ।

नेपाल टेलिकमका जीएसएम र सीडीएमए गरेर कुल २ करोड ३० लाख ६१ हजार प्रयोगकर्ता छन् । यदि साच्चिकै एकजनाबाट पाँच दिनमा १.८ रुपैयाँ काट्दा वर्ष दिनमा टेलिकमले आफ्ना ग्राहकबाट ३ अर्ब ३० करोड २ लाख १५ हजार रुपैयाँ भन्दा बढी पैसा संकलन गरिरहेको हिसाव निस्किन्छ । त्यो पनि अनधिकृत तवरमा ।

के यो यथार्त नै हो त ? यो विषय चर्चामा आएसँगै हामीले टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीसँग बुझ्ने प्रयत्न गर्‍यौँ । अधिकारीले टेकपानालाई दिएको जवाफ जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

‘त्यस्तो केही होइन । डेटा अन गरेपछि स्मार्टफोनले दुई प्रक्रियाबाट काम गर्छ । एउटा नियमित रुपमा ब्याकग्राउण्ड एप चलिरहेको हुन्छ । अर्को डेटा अन गर्ने बित्तिकै उसले सेसन सेटअप गर्न खोज्छ । सेसन सेटअप मोबाइल अनुसार फरक फरक हुन्छ ।

कुनै स्मार्टफोनमा ब्राउज गरेपछिमात्रै सेसन सेटअप सुरु हुन्छ भने कुनैमा डेटा अन गर्ने बित्तिकै आफै सेसन सुरु हुन्छ । त्यसरी सेसन सेटअप हुँदा उसले आवश्यक जानकारी पठाउनु पर्ने हुन्छ । जानकारी पठाउँदा नगन्य मात्रामा डेटा खपत भइरहेको हुन्छ ।’

हाम्रो डेटाको चार्जिङमा कस्तो हुन्छ भने एक सय किलोबाइट बराबर ९ पैसा लाग्छ । जस्तो कलमा १० सेकेण्डलाई एक पल्सको रुपमा लिइन्छ । त्यस्तै डेटामा किलोबाइटलाई आधार मानिन्छ । त्यसैका आधारमा एक किलोबाइट डेटा खपत हुँदा पनि पल्स रेट अनुसार ९ पैसा नै लाग्ने गरी टेलिकमले सेवा उपलब्ध गराउँदै आएको छ । सुरुमा डेटा खोल्दा मात्रै पनि सेसन सेटअप हुदाँ सय किलोबाइट भन्दा कम वा एक किलोबाइट नै किन प्रयोग नहाेस त्यति नै पैसा काटिने हुन्छ ।

यसको उपाय भनेको स्मार्टफोनमा ब्याकग्राउण्ड डेटा अन गरिएको छ कि छैन त्यो हेर्न जरुरी । अर्को तपाईंले कुन एप प्रयोग गुर्नहुन्छ, त्यसमा पनि भर पर्छ । एपलाई डाउनलोड गरी इन्स्टल गर्दा उसले डेटा सर्भरको एक्सेस मागेको छ कि छैन त्यो पनि हेर्न जरुरी हुन्छ । त्यस्ता एप कुन कुन छन्, पत्ता लगाउनु पर्छ । त्यस्ता एपले ब्याकग्राउण्डमै पनि डेटालाई खपत गरिरहेका हुन्छन् । त्यो विषय प्रयोगकर्तालाई थाहा हुँदैन ।

यो विषय पुरानै हो । यस अघि प्रयोगकर्तालाई आफूले प्रयोग गरेको डेटा र कलको बिलिङ सिस्टममा सोझो पहुँच थिएन । हामीले सबै कुरा प्रयोगकर्ताले थाहा पाउनुपर्छ भनेर यसरी जानकारी दिन थालेका हौं ।

यदि टेलिकमलाई ग्राहकबाट अनधिकृत रुपमा पैसा उठाउनु नै थियो भने बिलिङ सिस्टममा पहुँच दिने थिएन होला । त्यसै पनि यो विषयमा थप अध्ययनका लागि प्रक्रिया अगाडि बढाएका छौँ । कुन एप्सले ब्याक ग्राउण्डमा डेटा खपत गर्छ, कसले पैसा काटिरहेको छ । त्यसको अध्ययन गररे हामी छिट्टै सार्वजनिक गर्नेछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१