close

स्मार्टफोनका लागि होइन, डिजिटल क्यामेराको लागि जन्मिएको थियो एन्ड्रोइड

टेकपाना टेकपाना

बैशाख २५, २०७७ १४:४

स्मार्टफोनका लागि होइन, डिजिटल क्यामेराको लागि जन्मिएको थियो एन्ड्रोइड

काठमाडौं । एन्ड्रोइड भन्दा झट्ट धेरैले स्मार्टफोन बुझ्छन् । यो विश्वको सबैभन्दा लोकप्रिय मोबाइल अपरेटिङ सिस्टम हो ।

आज करिब दुई अर्ब ५० करोड डिभाइसहरु एन्ड्रोइडको अपरेटिङ सिस्टममा चलिरहेका छन् । तर तपाईंलाई थाहा छ ? वास्तवमा यो प्लेटफर्म फोनको लागि नभएर डिजिटल क्यामेराका लागि बनाइएको थियो ।

सन् २०१३ मा जापानको टोकियोमा आयोजित भएको एउटा आर्थिक सम्मेलनमा एन्ड्रोइडका सहसंस्थापक एन्डि रुबिनले एन्ड्रोइड वास्तवमा डिजिटल क्यामेराहरुका लागि बनाइएको खुलासा गरेका थिए । त्यसताका एन्ड्रोइडले फोटो तथा भिडियोहरुका लागि क्लाउड स्टोरेज उपलब्ध गराउने क्यामेरा प्लेटफर्म निर्माण गर्ने योजना बनाएको थियो ।

कम्पनी मानिसहरुले आफ्नो तस्विरका लागि क्यामेराको अनबोर्ड स्टोरेजमा निर्भर हुन नपर्ने र जुनसुकै डिभाइसबाट आफ्नो फोटोहरुमा सजिलै पहुँच बनाउन मिल्ने सुविधा तयार गर्ने योजनामा थियो । उक्त सम्मलेनमा सहसंस्थापक रुबिनले ती पुराना स्लाइडहरु पनि प्रदर्शन गरेका थिए । जुन उनले २००४ मा लगानीकर्ताहरुलाई देखाउन तयार गरेका थिए ।

The history of Android OS: its name, origin and more
Image: Android Authority

त्यस समय उनको आइडियामा रुची देखाउने मानिसहरु कम थिए । जसका कारण उनको अवधारणामा त्यो समय सम्झौता हुन सकेन । लगानीकर्ताहरुसँग भेटेको पाँच महिनापछि एन्डि रुबिनले आफ्ना टिमका साथीहरुसँगै आफ्नो रणनीति परिवर्तन गर्ने निर्णय लिए ।

उनीहरुले क्यामेराको बजार त्यति ठूलो देखेनन् र स्मार्टफोनको क्षेत्रमा भने नयाँ अवसर देखे ।त्यसपछि उक्त अपरेटिङ सिस्टमको आवधारणामा आवश्यक परिवर्तन गरेपछि अहिले हामी माझ परिचित एन्ड्रोइडको जन्म भयो ।

त्यसबेला उनीहरु सफ्टवेयर प्रयोग गरेबापत कुनै शूल्क लगाउन चाहँदैन थे । किनभने उनीहरुले बजार मूल्यको विषयमा एकदमै संवदेनशील छ भन्ने बुझिसकेका थिए ।

त्यसको साटो उनीहरुले एन्ड्रोइडलाई निःशूल्क र अन्य प्रडक्ट तथा सर्भिसहरु जस्तै एप्स र गेमहरु बिक्री गर्न मिल्ने प्लेटफर्म बनाए । उनीहरुको त्यो बेलाको रणनीतिक वृद्धि र विस्तार थियो ।

यसरी निःशूल्क रुपमा सफ्टवेयर प्रदान गर्ने योजना बनेसँगै अन्य फोन निर्माताहरुसँग डिल बढ्ने सम्भावना जन्मिन थाल्यो । तर यो योजनालाई वास्तविकतामा परिणत गर्न ठूलो बजार भएको साझेदारको खाँचो थियो ।

त्यसै आवश्यकतालाई बुझेरै गूगलको उदय भयो । गूगलले जूलाई २००५ मा एन्ड्रोइड खरिद गर्‍यो र एन्डि रुबिनलाई वरिष्ठ उपाध्यक्षको रुपमा चयन गर्‍यो । त्यसपछि कम्पनीले पाँच वर्षमा उत्तरी अमेरिका र युरोपमा ९ प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य लियो ।

तर यो लक्ष्यले यति अभूतपूर्व गति लियो कि २०१० सम्म आइपुग्दा एन्ड्रोइडले उत्तरी अमेरिकामा २४ प्रतिशत बजार हिस्सा ओगटिसकेको थियो । त्यो केवल एउटा सुरुवात थियो । आज विश्वभर प्रयोगमा रहेका स्मार्टफोन मध्ये ८० प्रतिशत एन्ड्रोइडको अपरेटिङ सिस्टमा चलिरहेका छन् ।

वास्तवमा डिजिटल क्यामेराको साटो स्मार्टफोनमा केन्द्रीत रहने एन्ड्रोइड टिमको निर्णय सही थियो । तथ्यांकलाई मात्र हेर्ने हो भने पनि २००७ मा स्मार्टफोनको बिक्री १२ करोड २० लाखले बढेर डेढ अर्ब पुगेको थियो । अर्को तिर २००७ देखि डिजिटल क्यामेराको बिक्री १० करोडले घटेर २०१९ मा आइपुग्दा डेढ करोड पुगेको थियो ।

२०१० मा स्मार्टफोनको बजार उचाईमा पुगेको थियो । त्यस बेला विश्वव्यापी रुपम १२ करोड १० लाख मोबाइल बिक्री भएका थिए । यदि एन्डि रुबिन र उनको टिम आफ्नो पुरानै योजनामा अड्किरहेको भए आज एन्ड्रोइड कुन हालतमा हुने थियो यो कसैलाई थाहा छैन ।

त्यसले राम्रो सफलता पाउन सक्ने थिएन भन्ने कुरा हामी सहजै अनुमान लगाउन सक्छौं । आज हामीले चिनेको एन्ड्रोइड अस्तित्वमा हुने थिएन । अर्को सम्भावना के हुने थियो भने गूगलले बजारमा यसरी रजगज गर्न सक्ने थिएन र माइक्रोसफ्टले विण्डो मोबाइल प्लेटफर्मद्वारा बजार कब्जा गरेको हुने थियो ।

हेक र सिम्बियन जस्ता प्लेटफर्म पनि ओपन ओएसको रुपमा विकास हुने थिए र नोकिया आज पनि स्मार्टफोनको राजाको रुपमा रहने थियो । यी कुराहरुको बारेमा सोच्न रमाइलो हुन्छ, तर वास्तवमा यी सबै केवल अनुमान हुन् ।

तर हामी के भन्न सक्छौं भने आजको एन्ड्रोइड बिना स्मार्टफोन बजार नितान्त फरक हुने थियो । एन्ड्रोइडको कथाले एउटा निर्णयमा हुने एउटा सानो परिवर्तनले विजनेसमा कति ठूलो ब्रेक दिदोँ रहेछ भन्ने कुरा देखाएको छ ।

स्टेफन आर कोभेको बहुचर्चित पुस्तक ‘द सेभेन ह्याबिट्स अफ हाइली इभेक्टिभ पिपुल्स’ मा उल्लेख भए अनुसार सही भित्तामा सिडीँ टेकाइएको छैन भने हरेक पाइला गलत दिशामा छिटो अघि बढ्छ ।

तर रुबिनको सिडीँ सही भित्तामा अडिएको थियो । जसले गर्दा उनको निर्णयले आजको एन्ड्रोइड स्मार्टफोनको जन्म भयो । सुरुवातमा गूगलले एन्ड्रोइडलाई पाँच करोड डलरमा खरिद गरेको थियो । जुन एन्ड्रोइडको आजको सफलताको तुलनामा एकदमै सानो रकम हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१