close

कोरोनाभाइरसले समेत रोकेन फेसबुकको प्रगति, प्रयोगकर्ताको संख्या ३ अर्ब नजिक

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १८:४३

कोरोनाभाइरसले समेत रोकेन फेसबुकको प्रगति, प्रयोगकर्ताको संख्या ३ अर्ब नजिक

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को अनिश्चितकालीन प्रभाव बीच फेसबुकले आफ्नो आयको प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीको आयमा सुस्तता छाउने प्रक्षेपण गरिएको भएपनि आय र प्रयोगकर्तामा कम्पनीले दोहोरो अंकको वृद्धि हासिल गर्न सफल भएको छ । 

कम्पनीले पहिलो चाैमासिकमा १० करोड ५० लाख मासिक सक्रिय प्रयोगकर्ता थप गरेर दुई अर्ब ६० करोड पुर्‍याएको छ । यो चाैमासिकमा दैनिक सक्रिय प्रयोकर्ताको संख्या सात करोड ७० लाखले बढेको छ । यो सन् २०११ पछिकै सबैभन्दा ठूलो वृद्धि हो । कोभिड-१९ का कारण लागु भएको लकडाउनले फेसबुकको प्रयोगलाई बढाएको हो ।

हाललाई परिणाम राम्रो आए पनि आगामी दिनमा लकडाउनको नियम लचिलो भएपछि यो उत्साहजनक अवस्था नरहने भन्दै फेसबुकले पनि आफ्नो संख्या अब केही समयपछि घट्ने आंकलन गरेको छ ।

क्षेत्रगत प्रवृत्ति हेर्दा एसिया प्रशान्त क्षेत्र फेसबुकको सबैभन्दा ठूलो उदीयमान बजारको रुपमा देखिएको छ । विशेषगरी भारतको बजारमा यो संख्या उल्लेखनीय वृद्धि भएको देखिन्छ । फेसबुकले हालै भारतको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक कम्पनी जियोको शेयर खरिद गरेर भारतीय बजारमा आफ्नो कदम बढाउने अवसरको सुरुवात गरेको छ । 

कम्पनीका एप्स फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्राममध्ये फेसबुकले अहिले सबैभन्दा धेरै बजार लिएको छ । कम्पनी तीन अर्ब प्रयोगकर्ताहरुको अर्को महत्वपूर्ण विन्दुमा पुग्न लागेको छ । 

वास्तवमा यो आँकडा बुझ्न धेरै कठिन छ । विश्वको जनसंख्या ७ अर्ब ८० करोड रहेको छ । जसमा एक अर्ब ४० करोड जनसंख्या भएको मुलुक चीनमा फेसबुक प्रतिबन्धित छ । यस अलावा अन्य मुलुकमा पनि फेसबुक प्रतिबन्धित नै छ । विश्वको आधा जनसंख्यामा मात्र इन्टरनेटको पहुँच छ । फेसबुक आफ्ना विभिन्न एपको माध्यमबाट प्रयोगकर्तामाझ पुगेको छ । 

फेसबुकमा पहुँच पाउनेहरुले मात्र यी एप प्रयोग गरिरहेका छन् । फेसबुक र यसका संस्थापक मार्क जुकरबर्गले विभिन्न जनसम्पर्क सम्बन्धी समस्याहरु झेल्दै आएका छन् । 

कम्पनीले विगतमदेखि नै गोपनीयता सम्बन्धी विभिन्न मुद्दाहरु पनि खेप्दै आएको छ । यसबीच फेसबुकलाई बन्द गरिनुपर्ने व्यापक प्रस्तावहरु पनि उठेका छन् । यसले फेसबुकको अवस्था सबैको सामु स्पष्ट बनाएको छ ।

यद्यपी फेसबुकको पहुँचको यो आकँडा भने उसको अवस्थासँग मेल नखाइरहेको विश्लेषकहरु बताउँछन् । फेसबुकले ठूलो डेटा देखाइरहेको र प्रयोगकर्ताहरु दिनहुँ निरन्तर बढिरहेको दाबी गर्दै आइरहेको छ ।

आयको कुरा गर्दा फेसबुकले पहिलाे चाैमासिकमा १७ अर्ब ७४ करोड डलर आम्दानी गरेको बिट एनालिस्टको आँकडाले देखाउँछ । 

तर कम्पनीले कोभिड-१९ का कारण आफ्नो आय घट्ने प्रक्षेपण गरेको थियो । कम्पनीले भनेको थियो, ‘विज्ञापनको मागमा भारी गिरावट भएको हामीले महसुश गरेका छाैं । साथै हाम्रो विज्ञापनको मूल्यमा पनि गिरावट आएको छ । २०२० को पहिलाे चौमासिकमा पछिल्ला तीन हप्तामा यस्ता परिवर्तनहरु देखिएका हुन् ।’

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१