close

अब हातले लेखेका कुरा गूगल लेन्सबाट सोझै कम्प्युटरमा सेभ गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २६, २०७७ ११:३

अब हातले लेखेका कुरा गूगल लेन्सबाट सोझै कम्प्युटरमा सेभ गर्न सकिने

काठमाडौं । मोबाइलमा गूगल लेन्स एप राखेर हिँड्नु खल्तीमा स्क्यानर बोरेर हिँडे जस्तै हो । गूगलले सार्वजनिक गरेको गूगल लेन्सको पछिल्लो अपडेटमार्फत प्रयोगकर्ताले अब कागजका पानामा लेखिएका कुराहरुलाई स्क्यान गरी कम्प्युटरमा उतार्न सक्ने भएका छन् ।

गूगल लेन्सको यस्तो अपडेट बिहीबारमात्रै सार्वजनिक भएको हो । जसले कागजमा लेखिएका कुरालाई मोबाइल तथा कम्प्युटरमा पुनः टाइप गर्नु पर्ने झन्झटको अन्त्य गरिदिएको छ ।

यतिसम्म कि यसले कतिपय संकेत तथा अन्य डकुमेन्टलाई समेत सेभ गरेर राख्न मद्धत गर्ने उल्लेख छ ।

साथै लेन्सले प्रयोगकर्तालाई अक्षर तथा टेक्स्टलाई हाइलाइट गर्न, लेन्सलाई बढाएर एकै पटक धेरै टेक्स्ट कपी गर्न र लेखिएका कुरालाई पढेर सुनाउने (प्रोनाउन्स) सुविधा पनि दिएको छ । यसअघि पनि गूगल लेन्समा टेक्स्ट कपी गर्ने सुविधा उपलब्ध थियो । तर, नयाँ भर्सनमा भने प्रयोगकर्ताले मोबाइलबाट स्क्यान गरी तत्कालै कम्प्युटरमा पेस्ट गर्न सक्नेछन् ।

यसको अर्थ अब प्रयोगकर्ताले स्क्यान गरी कपी टेक्स्टको साटो कपी टु कम्प्युटर गर्न सक्नेछन् । जसलाई लगेर गूगल डक्समा सेभ गर्न सकिने छ । त्यसका लागि कम्प्युटर र मोबाइलमा रहेको क्रोम एउटै ईमेलबाट साइन ईन भएको हुनुपर्ने हुन्छ ।

यसका साथै क्रोमको नयाँ भर्सन प्रयोग गर्न समेत आवश्यक छ । स्क्यान गर्न लागिएको अक्षरहरु सफा र बुझ्ने भने हुनुपर्छ । यो सुविधा एन्ड्रोइडआईओएस दुवैमा उपलब्ध भएको छ । कम्पनीका अनुसार यसमा थप गरिएको प्रोनाउन्स फिचरले प्रयोगकर्तालाई नयाँ भाषा सिक्न समेत मद्दत पुर्‍याउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१