close

इजी वानअपको नाममा प्रतिबन्धित नेटवर्किङ धन्दा, पैसा कमाउने प्रलोभनमा ठगिँदै युवा

गोपाल साउद गोपाल साउद

बैशाख २६, २०७७ १७:४४

इजी वानअपको नाममा प्रतिबन्धित नेटवर्किङ धन्दा, पैसा कमाउने प्रलोभनमा ठगिँदै युवा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वभर लकडाउन भएका कारण प्रायः सबैजसो घरमै बस्न बाध्य छन् । व्यापार व्यवसाय लामोसमयदेखि बन्द हुँदा लाखौंको रोजगारी गुमेको छ । यस्तो बेला इन्टरनेटमा सजिलै पैसा कमाउन सकिने भन्दै एउटा विज्ञापन भाइरल भइरहेको छ ।

इजी वान अप नामक अनलाइन मार्केटिङ प्लेटफर्ममा घरमै बसेर मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रलोभन युक्त प्रचारमा बेरोजगार युवाहरु झुक्किरहेका छन् । प्रलोभनमा परेर त्यसमा आवद्ध हुने युवाहरु आफ्नो लगानी फिर्ता लिन वा थप केही रकम आम्दानी गर्न अरुलाई मूर्ख बनाइरहेका छन् ।

नेपालमा गैरकानूनी मानिएको नेटवर्किङ व्यवसायकै अर्को रुपमा यो ठगीको अनन्त श्रीङ्खला केही वर्षयता जारी छ । केही युट्युव च्यानल तथा फेसबुक पेज तथा ग्रुपमार्फत पछिल्लो समय इजी वान अपको खुलेयाम प्रचार भइरहेको छ ।

इजी वानअपमा संलग्न सैलेस राईका अनुसार यो व्यवसाय नेपालमा सुरु भएको पाँच/सात वर्ष भइसकेको छ । ‘छुट्टा छुट्टै टिमले काम गरिरहेका हुन् । नेपालबाट मात्रै नभएर विभिन्न देशमा रहेका नेपालीहरु पनि यसमा जोडिएका छन्,’ उनी भन्छन्, ‘अहिले नेपालबाट यो प्लेटफर्ममा काम गर्ने एक हजार जनाभन्दा बढी पुगिसकेका छन् ।’  

इजी वानअपमा २५ डलरदेखि दुई हजार अमेरिकी डलरसम्मका विभिन्न प्याकेजहरु राखिएको छ । औषत हिसाव निकाल्दा समेत करीब ९ करोड रुपैयाँ उठाइसकेको देखिन्छ ।

यस किसिमको व्यवसाय नेपालमा गैरकानूनी ठहर गरिएको नेटवर्किङ व्यवसायकै अर्को रुप भएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् ।

वाणीज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी समेत इजी वनअपको व्यवसाय नेटवर्किङ व्यवसाय नै भएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘यस्तो किसिमको व्यवसाय नेपालमा प्रतिबन्धित छ । उजुरी प्राप्त भएको खण्डमा संलग्नलाई कानूनी कारबाहीको दायरमा ल्याउँछौँ ।’ 

महानिर्देशक सुवेदीका अनुसार यस्तो कार्यमा संलग्नलाई भ्रमपूर्ण विज्ञापन गरेको तथा अनुमति नलिई व्यवसाय सञ्चालन गरेको र व्यवसायका नाममा ठगी गरेको आरोपमा मुद्दा चलाउन सकिन्छ । यस्तो ठगीमा परेकाहरुले उपभोक्ता अधिकार व्यवस्थापन सूचना प्रणालीमार्फत विभागमा गुनासो तथा उजुरी टिपाउन सक्छन् । 

इजी वान अपमा संलग्नहरुमा आफू ठगिने अनि अरुलाई ठग्ने, आफ्नो पैसा नउठेसम्म ठगिरहने प्रवृत्ति पाइएको छ । ठगीमा पर्नेमा बढीजसो कम उमेरका युवाहरु छन् । यसमा फसिसकेको व्यक्तिले अरुलाई फसाउने कार्य गर्छ ।

यो नितान्त नेटवर्किङ व्यवसायकै नक्कल भएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्याल बताउँछन् । ‘कानूनले नै नेटवर्किङ व्यवसाय गैरकानूनी भनिसकेको छ,’ उनले भने, ‘यो नितान्त ठगीको विषय हो ।’

इजी वानअप व्यवसायमा संलग्न आरेक चौधरी यो स्क्याम अर्थात ठगी नभएर अनलाइन मार्केटिङ भएको दाबी गर्छन् ।

यसरी भइरहेको छ ठगी 

यसमा संलग्नहरुले तपाईंसँग ल्यापटप र इन्टरनेट छ भने हामी सजिलै मासिक रुपमा ५० हजारदेखि एक लाख रुपैयाँ आम्दानी गर्नसक्ने बनाउछौँ भन्दै विभिन्न व्यक्तीहरुलाई म्यासेज पठाउँछन् ।  उनीहरुले लकडाउनको समयमा धेरैजसो मानिसहरु अनलाइनमा भएको मौका छोपिरहेका छन् ।  

आफूलाई ३५ हजार रुपैयाँ तिर्न लगाएर  लगानी नडुब्ने आश्वासनमा पारेको एक पीडितले बताए । ‘मलाई दैनिक २/३ घण्टा समय दिँदा अरु जस्तोसुकै व्यवसायमाभन्दा राम्रो कमाई हुन्छ भनेका थिए,’ उनले भने, ‘उनीहरु दैनिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गरेको स्क्रीन सट पठाउँथे । एडिट गरेर आफैले कमाएको जस्तो देखाएर अरुलाई झुक्याउन फेसबुकमा राख्नुपर्ने रहेछ भन्ने कुरा पछि मात्र थाहा पाएँ ।’

यस्तो कार्यमा संलग्नहरुले फेसबुक पोस्ट र म्यासेजमा पठाउने मात्र होइन विज्ञापन बूस्ट गर्ने कार्य समेत गर्दै आएको पाइएको छ ।  उनीहरु आफूलाई डिजिटल तथा अनलाइन मार्केटर, आन्टरप्रेनर जस्ता स्वघोषित उपाधी दिएर युट्युव भिडियो तथा फेसबुक लाइभमा समेत देखिने गरेका छन् । 

नेपालगञ्जमा रहेर इजी वानअप व्यवसायमा संलग्न दिनेश चलाउने यसमा आवद्ध हुनेले नेपालभित्र ई-सेवा, बैंक ट्रान्सफर लगायतका माध्यमबाट भुक्तानी गर्न सक्ने बताउँछन् । ‘बाँकी इजी वानअपमा एड्मिन फीको भुक्तानी गर्नका लागि भने मास्टर कार्ड आवश्यक हुन्छ,’ उनले भने, ‘प्याकेज लिनेहरुलाई विदेशमा समेत भुक्तानी गर्न मिल्ने गरी हामी आफैले पनि मास्टर कार्ड उपलब्ध गराउँदै आएका छौँ ।’

हाल कतारमा रहेका सञ्जिव थारु आफूले यस्तै स्क्यामरहरुका कारण २०० अमेरिकी डलर गुमाउनुपरेको बताउँछन् । तर कतार सरकारले भने हाल यस किसिमका साइटहरु बन्द गरिसकेको छ । 

इजी वानअपको नक्कल गर्दै पोखरामा अनुजभाइ डटकम नामक स्थानीय एउटा समूह नै क्रियाशिल रहेको पाइएको छ । उक्त समूहका नाइके जितेन राई इजी वान अप अंग्रेजी माषामा मात्र रहेकाले नेपाली भाषामै त्यस्ता सामग्री उत्पादन गर्ने गरी आफूहरुले काम गरिरहेको सगर्व बताउँछन् । 

‘हामीले २५ सय देखि ४० हजार रुपैयाँसम्मका कोर्षहरु तयार पारेका छौँ,’ उनि भन्छन्, ‘त्यस्तो कोर्ष लिएर अरुलाई बिक्री गराउनेहरुलाई ५० देखि ६० प्रतिशतसम्म कमिसन उपलब्ध गराउँदै आएका छौँ । जति धेरैलाई यसमा जोड्न सक्यो, त्यतिधेरै आम्दानी गर्ने अवसर उनीहरुलाई हुन्छ ।’

जितेन राइकै समूहमा मार्केटरको रुपमा काम गर्ने चलाउनेले अनुजभाइ डटकममा ४०० जनाजति आवद्ध भइसकेको बताए । उनका अनुसार ती सबै इजी वानअपमा समेत संलग्न छन् । 

जितेन राई आफूहरुले नेटवर्किङ व्यवसाय नभई एफिलेट मार्केटिङ गरिरहेको दाबी गर्छन् । तर, डिजिटल मार्केटिङका विज्ञ रवि सिंघल भने इजी वानअप एफिलेट मार्केटिङ नभएको बताउँछन् । ‘यो त सोझै स्क्याम हो,’ उनले भने, ‘यसलाई बरु गैरकानूनी नेटवर्क व्यवसायको अनलाइन भर्सन मान्न सकिन्छ ।’

इजी वानअपको वेबसाइटका अनुसार यसका संस्थापक पिटर विगत २६ वर्षदेखि नेटवर्क मार्केटिङमा संलग्न व्यक्ति हुन् । जुन नेपालमा गैरकानूनी मानिँदै आएको छ । मल्टिप्लेक्स सिस्टम्स नामक कम्पनी अन्तर्गतको इजी वानअपमा अहिले विश्वभर ४ लाख भन्दा बढीको संख्यामा आवद्ध भएको उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१