close

ठगी धन्दा गुम्ने चिन्तामा इजी वानअपका सीईओ, नेपालीका लागि भन्दै जारी गरे भिडियो सन्देश

टेकपाना टेकपाना

बैशाख २७, २०७७ १०:१०

ठगी धन्दा गुम्ने चिन्तामा इजी वानअपका सीईओ, नेपालीका लागि भन्दै जारी गरे भिडियो सन्देश

काठमाडौं । पछिल्लो समय इजी वानअप अनलाइन मार्केटिङको नाममा नेपाली युवाहरु ठगिने क्रम जारी छ । यसै सन्दर्भमा टेकपानाले शुक्रबार इजी वानअपको नाममा प्रतिबन्धित नेटवर्किङ धन्दा, पैसा कमाउने प्रलोभनमा ठगिँदै युवा शिर्षकमा एउटा खोजमूलक समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएसँगै अनलाइनमा सजिलै मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रलोभन खडा गरेर ठगी धन्दामा सक्रिय समूहमा खैलाबैला मच्चिएको छ । केही व्यक्तिहरुले प्रहरीको कारबाहीमा परिने डरमा आफूहरुले इजी वनअप छोडेको घोषणा गरेका छन् । केही भने एफिलिएट मार्केटिङ तथा प्रविधि सदुपयोगको नाममा यसको बचाउमा लागिपरेका छन् ।

टेकपानामा प्रकाशित समाचार इजी वानअपका सीईओ पिटर वल्फिङ समक्ष समेत पुगेको थाहा हुन आएको छ । उनले इजी वनअपको व्यवसाय स्क्याम (ठगी) नभएको जिकीर गर्दै इमान्दार भएर काममा लाग्न नेपाल स्थित आफ्ना सदस्यहरुलाई आग्रह गरेका छन् ।

पिटरले शुक्रबार बेलुकी वेलकम भिडियो टु नेपाल इजी अप मेम्बर्स भन्दै एउटा सन्देश जारी गरेका छन् । ‘तपाईं चिन्ता नलिनुहोस्,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘यदि तपाईंले २५ डलर खर्च गर्नुभयो भने त्यतिमै बिक्री गर्न सक्नुभयो भने त्यो पैसा फिर्ता पाउनुहुन्छ, यस्तो अवस्थामा तपाईं यसलाई कसरी ठगी भन्न सक्नुहुन्छ ? यो त एउटा व्यवसाय हो ।’

कम्पनी न्युयोर्क सिटीमा २३ वर्षदेखि सञ्चालनमा रहेको भन्दै उनले नेपालमा मात्र नभएर विश्वभर आफ्ना सदस्य रहेको बताएका छन् । ‘यस अवधिमा हामीसँग २० लाख मानिसहरु जोडिएका छन्,’ उनीहरुले ‘६ सय अर्ब डलर आम्दानी गर्न सफल भएका छन् ।

म नेपालमा रहेका हाम्रा सदस्यलाई भन्न चाहन्छु, तपाईंहरुले राम्रो काम गर्नुभएको छ । यथार्त कुरा तपाईंले जे गरिरहनुभएको छ, त्यो भनिदिनुहोस् ।’

पीटरले आफ्ना सदस्यले कम्पनी छोड्नसक्ने चिन्ता गर्दै वनअपको व्यवसायलाई केवल ईकमर्श भएको दाबी गरेका छन् । तर, यो व्यवसाय नेपालमा बिना दर्ता सञ्चालनमा रहेको मात्र होइन प्रतिबन्धित नेटवर्किङ व्यवसायको अनलाइन संस्करणको रुपमा देखा परेको छ ।

हेर्नुहोस् इजी वानअपका सीईओ पिटर वल्फिङले आफ्ना नेपाली सदस्यहरुका लागि भन्दै जारी गरेको भिडियो सन्देश

Welcome video to Nepal Easy1Up Members from Peter Wolfing on Vimeo.

पिटरले दाबी गरे झैं यो नितान्त ई-कमर्श भने होइन । डिजिटल मार्केटिङका जानकारहरुले यसलाई नेटवर्किङ व्यवसायको अनलाइन स्वरुपको रुपमा अर्थ्याएका छन् । नेपालमा प्रतिबन्धित यस किसिमको व्यवसायमा संलग्न रहेको भन्दै हर्बो, युनिटी लगायतका कयौं प्रकरणमा प्रहरीले कारबाही गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१