close

आईसीटी क्षेत्रलाई अत्यावश्यक सेवाको रुपमा सम्बोधन गर्न माग

टेकपाना टेकपाना

बैशाख २७, २०७७ १७:२७

आईसीटी क्षेत्रलाई अत्यावश्यक सेवाको रुपमा सम्बोधन गर्न माग

काठमाण्डौं । सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल फेडेरेसन (क्यान महास‌ंघ) ले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाको रुपमा सम्बोधन गर्न माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव समक्ष ज्ञापन पत्र बुझाउँदै महासंघले यस्तो माग अगाडि सारेको हो ।

विश्वव्यापी महामारीको रुपमा कोरोनाभाइरसको जोखिम फैलिएसँगै सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ । जसले नेपालको अर्थतन्त्रलाई नराम्रोसँग थला पारेको छ । लामो समयदेखि व्यापार व्यावसाय ठप्प हुँदै गर्दा दशौं लाख कर्मचारी तथा मजदूरको रोजगारी प्रभावित भएको छ ।

यसैबीच बिहीबार बसेको मन्त्रिपरीषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने तथा सँगसँगै केही उद्योगधन्दा सुचारु गर्ने निर्णय गरेको छ । तर ३ दर्जनभन्दा बढी किसिमका उद्योग तथा व्यवसाय सुचारु गर्ने सूची प्रस्तुत हुँदा त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र नसमेटिएको भन्दै क्यानले आपत्ति प्रकट गरेको छ ।

लकडाउनको समयमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रले आम जनतालाई निकै नै सहजता दिलाएको छ । टेलिफोन र इण्टरनेट मात्र नभएर समाचार तथा सूचना, अनलाइन बैंकिङ, ईकमर्श, अनलाइन शिक्षा तथा तालिम जस्ता विषय क्षेत्रले लकडाउनको समयमा केही रुपमा भए पनि अर्थतन्त्र र जीवनयापनलाई गति दिने प्रयास गरिरहेका छन् ।

यो अप्ठ्यारो समयमा सूचना तथा सञ्चारको सुविधा विनाको व्यक्तिगत, सामाजिक तथा व्यावसायीक जीवनको परिकल्पना गर्न सकिंदैन । यति महत्वपूर्ण क्षेत्र सरकारको प्राथमिकतामा नपर्नुलाई क्यानले विडम्बनापूर्ण भएको बताएको छ ।

सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा दूरसञ्चार कम्पनी, इण्टरनेट सेवा प्रदायक, सर्भिस प्रदायक, कम्प्युटर तथा मोबाइल मर्मत केन्द्र, हार्डवेयर बिक्रेता र सफ्टवेयर एवम् एप्लिकेशन निर्माता कम्पनीहरुले संकटको समयमा अत्यावश्यक सुविधा उपलब्ध गराउँदै आएका छन् । तर बन्दाबन्दीका कारण उनीहरुलाई आफ्ना कर्मचारी तथा कामदारहरुलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको क्यानको भनाई छ ।

‘सूचना प्रविधिका नयाँ सेवा तथा सामग्रीको आपूर्ति तथा मर्मतमा आम उपभोक्ताले समस्या भोगे पनि सहयोग पाउन सकेका छैनन्,’ सचिव मार्फत अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा समक्ष प्रस्तुत विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यो क्षेत्रको महत्व र संवेदनशीलतालाई मनन गरी तत्काल सहजीकरण गरिदिनु हुन हामी हार्दिक आग्रह गर्न चाहन्छौं ।’

छिमेकी मुलुक भारतमा मे ३ बाटै सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित व्यवसाय आंशिक खुल्ला गराएको छ । अन्तर्राष्टिय स्तरमा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सूचित गरिरहँदा नेपाल सरकारले भने सूचना प्रविधिको महत्व बुझ्न नसकेको प्रति क्यानले गहीरो दुःख व्यक्त गरेको छ । ‘सूचना प्रविधि क्षेत्रको महत्व बुझेर यस क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत समावेस गरिदिनु हुन नेपाल सरकारले समक्ष हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इण्टरनेट सेवा यस अघि नै अत्यावश्यक सेवामा रहेको भएपनि अहिले खुला गरिएका उद्योगधन्दा सञ्चालन गर्न, सूचना प्रविधि अन्तर्गत हार्डवेयर तथा सफ्टवेयर मर्मत तथा सहयोग, बैंक, हस्पिटल तथा खुला गरिएका उद्योगधन्दाहरुमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक तथा उद्योग विभागमा दर्ता भएका सूचना प्रविधि कम्पनिहरुलाई समेत तत्कालै सञ्चालनको वातावरण बनाइदि भन्दै क्यानले सरकार समक्ष अनुरोध गरेको छ ।

‘यो स्वास्थ्य संकटका बेलामा सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारका उपाय तथा सावधानी अपनाउन हामी तयार छौं,’ क्यानले भनेको छ ।

उद्योग सचिव चन्द्रकुमार घिमिरेले भने मन्त्रिपरिषदको निर्णयअनुसार घरेलु तथा साना उद्योगको दायरामा पर्ने आईटी लगायतका सबै उद्योगहरु सञ्चालन गर्न मिल्ने बताएका छन् ।

टेकपानासँगको कुराकानीमा सचिव घिमिरेले १५ करोड रुपैयाँसम्मको लगानी भएका आईटी लगायतका सबै उद्योग सञ्चालन गर्न दिने भनिएको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१