close

सरकारले ल्यायो तीन कक्षासम्मका विद्यार्थीलाई रमाइलोसँग पढाउने एप

टेकपाना टेकपाना

बैशाख २९, २०७७ ९:४२

सरकारले ल्यायो तीन कक्षासम्मका विद्यार्थीलाई रमाइलोसँग पढाउने एप

काठमाडौं । लकडाउनले घरभित्रै बस्नु पर्ने बाध्यताले बालबालिकामा पनि उत्तिकै असर परेको छ । घरमै बस्ने र लामो समय टीभी र मोबाइलमा बिताउने बानीले गर्दा पढाईमा ध्यान केन्द्रीत गराउनु अविभावकका लागि चुनौतीको विषय बनेको छ ।

मोबाइल छाड्नै नसक्ने बालबालिकालाई मोबाइलमै अध्ययन गराउन सके त्यो सजिलो उपाय बन्न सक्छ । मोबाइलमै रमाइला अध्ययन सामग्री देखाएर पनि अध्ययनलाई निरन्तरता दिन सकिन्छ ।

त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यूएसएडको सहकार्यमा ‘रमाइलो पढाई’ नामक एप तयार पारिएको हो । जसमा १ देखी ३ कक्षासम्मका विद्यार्थीका लागि आवश्यक अध्ययन सामग्री उपलब्ध छन् ।

साना बालबालिकालाई लक्षित गरेर निर्माण गरिएकाले यो एपमा भिडियो तथा अडियो अध्ययन सामग्री राखिएका छन् । जसमा कथा, कविता, तस्वीर, पीडीएफ फाइल समेत उपलब्ध छन् । सबैभन्दा महत्वपूर्ण कुरा ती अध्ययन सामग्री नेपाली भाषामा उपलब्ध छन् ।

यो एप बालबालिकालाई मात्रै नभएर शिक्षक र अभिभावकलाई पनि सहयोगी हुनेछ । यसमा उपलब्ध रेडियो म्यासेज, रेडियो जिंगल, रेडियो कार्यक्रममार्फत शिक्षक तथा अभिभावकले आफ्ना बालबालिकालाई सहज रुपमा अद्यापन गराउन सक्नेछन् ।

रेडियो कार्यक्रमले शिक्षक र अविभावकलाई साना बालबालिकालाई कसरी पढाउने भनेर समेत सिकाउनेछ । विभिन्न रोचक नाटक र कलाकारसँगको अन्तरवार्ता पनि यसमा समेटिएको छ ।

रेडियो म्यासेज नेपाली, अवधी, भोजपुरी, मैथली, गुरुङ, लोवा, दाङ थारु, राना थारु, बर्दिया–कैलाली थारु, डोटेली र नेवारी भाषामा उपलब्ध छ । एक पटक उक्त एप डाउनलोड गरेसँगै शिक्षक, अविभावक र विद्यार्थीले त्यसमा रहेको सामग्रीमा पहुँच राख्न सक्नेछन् ।

एन्ड्रोइडका लागि रमाइलो पढाई एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१