close

के साच्चिकै हाम्रो कीबोर्डले प्रयोगकर्ताको पासवर्ड र व्यक्तिगत विवरण संकलन गरिरहेको छ ?

गोपाल साउद गोपाल साउद

बैशाख २८, २०७७ १५:५२

के साच्चिकै हाम्रो कीबोर्डले प्रयोगकर्ताको पासवर्ड र व्यक्तिगत विवरण संकलन गरिरहेको छ ?

काठमाडौं । मोबाइलमा नेपाली भाषामा टाइप गर्न बनाइएको हाम्रो कीबोर्डले प्रयोगकर्ताले टाइप गरेका पासवर्ड, क्रेडिटकार्ड डिटेल लगायतका व्यक्तिगत जानकारीहरु संकलन गर्ने गरेको आरोप लाग्न थालेको छ । चर्चित नेपाली पात्रो हाम्रो पात्रोको टिमले तयार पारेको यो एपले प्रयोगकर्ताको अनुमतिमै यस्ता जानकारी संकलन गरिरेको धेरैलाई परेको छ ।

तपाईंले हाम्रो कीबोर्ड डाउनलोड पछि इन्स्टल गरेर इनेबल गर्ने बित्तिकै त्यहाँ तपाईंलाई सावधानीको रुपमा एउटा पपअप नोटिफिकेसन देखा पर्छ, ‘हाम्रो कीबोर्डले पासवर्ड, क्रेडिटकार्ड नम्बर जस्ता व्यक्तिगत जानकारीसँगै तपाईंले टाइप गरेका सबै अक्षरको डेटा संकलन गर्न सक्छ ।’

तर यस्तो डेटा संकलन गर्ने भन्दै नोटिफिकेसन आउनेमा हाम्रो कीबोर्ड एक्लो एप मात्रै भने होइन । गूगल जीबोर्ड, गिफ्फी कीबोर्ड, स्वीफ्ट कीबोर्ड लगायतले समेत यसैगरी व्यक्तिगत डेटा संकलन गर्नसक्ने भन्दै अनुमति मागिरहेका हुन्छन् । चार वर्ष अघि बजारमा आएको गूगल जीबोर्डले प्रयोगकर्ताले टाइप गरेका शब्दहरु स्मरण गरिरहेको हुन्छ, जसले सही स्पेलिङ तथा सम्भावित सर्चको अनुमान गर्न सघाउने गर्छ ।

यद्यपी उसले यस्तो डेटा प्रयोगकर्ताको डिभाइसमा मात्रै सेभ हुने र स्वयम् गूगल तथा जीबोर्ड बाहेकका अन्य एपले त्यसमा पहुँच पाउन नसक्ने बताउँदै आएको छ । स्वीफ्ट कीबोर्डले पासवर्ड उल्लेख गरिएको भागमा राखिने पासवर्ड र क्रेडिट कार्ड नम्बर आफूले सम्झिन नसक्ने बताएको छ ।

उसले आफ्नो सपोर्ट सेक्सनमा स्पष्ट रुपमा उल्लेख गरेको छ, ‘यो चेतावनीमूलक म्यासेज गूगलबाट आउने गरेको हो । यो त केवल कुनै थर्डपाटी किबोर्ड इनेबल हुँदाको समयमा एन्ड्रोइड अपरेटिङ सिस्टमले देखाउने विषय हो ।’

Image

हाम्रो कीबोर्ड एप निर्माता हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष देवकोटा समेत आफूहरुले नभएर गूगलले नै बाइ डिफल्ट रुपमा त्यस्तो नोटिफिकेसन पठाउने गरेको बताउँछन् । ‘हाम्रो कीबोर्ड प्रयोग गर्न कुनै किसिमको लगईन तथा आईडी समेत जरुरी पर्दैन,’ उनी भन्छन्, ‘यस्तोमा हामीले प्रयोगकर्ताका नितान्त व्यक्तिगत तथा संवेदनशील डेटा संकलन गर्ने भन्ने प्रश्नै हुँदैन । प्रयोगकर्ताको डेटा सँग हाम्रो कीबोर्डको कुनै सम्बन्ध नै छैन ।’

मोबाइल निर्माता तथा अपरेटिङ सिस्टमले नै अन्य कीबोर्डलाई निरुत्साहित गर्ने हिसावले यस्तो कार्य गरिरहेको हुन सक्ने देवकोटाको बुझाई छ । गूगलको जीबोर्ड आएपछि नै यस्तो नोटिफिकेसन पठाउन थालिएको उनले बताए ।

साइबर सुरक्षा विज्ञ नरायण कोइराला भने कीबोर्डले मात्र नभएर हरेक एपले अनावश्यक रुपमा व्यक्तिगत विवरणहरु संकलन गरिरहेको बताउँछन् ।

‘गूगल प्ले स्टोर, आईओएस एप स्टोर जस्ता प्लेटफर्म तथा जीडीपीआर लगायतका निकायहरुले प्रयोगकर्ताको अनुमति बिना व्यक्तिगत डेटा संकलन गर्न नपाइने नियम बनाएका छन्,’ उनी भन्छन्, ‘त्यसलाई अनुमति लिएर जस्तोसुकै व्यक्तिगत डेटा संकलन गर्न सकिने रुपमा एप डेभलपरहरुले प्रयोग गर्ने प्रचलन विश्वव्यापी नै बनिसकेको छ ।,’

सुरुवाती समयमा थाहा नपाउने गरी प्रयोगकर्ताको डेटा संकलन हुँदै आएकोमा पछिल्लो समयमा थाहा दिएरै त्यस्तो विवरण संकलन भइरहेको कोइराला बताउँछन् । उनी अगाडि भन्छन्, ‘आफूलाई आवश्यक नभएको डेटा पनि उनीहरुले संकलन गरिरहेका हुन्छन् । डेटा दिन तयार नहुने हो भने एप नै नचलाउनुको विकल्प छैन ।’

कोइरालाले आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न, एपलाई सकेसम्म कम एक्सेस दिन, अनावश्यक रुपमा एप प्रयोग नगर्न प्रयोगकर्तालाई सुझाव दिएका छन् । ‘म आफैले पनि एकदमै थोरै एप मात्र चलाउने गरेको छु । एपहरुलाई सेटिङमा गएर प्रर्मिसन लिमिट (सीमित अनुमति) गर्न सकिन्छ ।’

साइबर कानूनका जानकार अधिवक्ता सन्तोष सिग्देल एपले त्यसरी व्यक्तिको नितान्त व्यक्तिगत जानकारी संकलन गर्न नपाउने दाबी गर्छन् । ‘फोन नम्बर, ईमेल आईडी जस्ता जानकारी संकलन गरेपनि पासवर्ड जस्ता संवेदनशील जानकारी भने संकलन गर्न पाइँदैन,’

उनी भन्छन्, ‘नेपाली डेभलपरले बनाउने एपमा हामीले आफ्नै मानक बनाउन सिकन्छ । तर व्यक्तिगत डेटा सुरक्षा तथा कस्ता विवरण संकलन गर्न पाउने वा नपाउने भन्ने कुराको निर्धारण गर्नका लागि सरकारी स्तरमा छुट्टै निकाय हुन पनि उत्तिकै जरुरी छ ।’

सूचना प्रविधि विज्ञ राजिव सुब्बा यस्तो विषय निर्धारण गर्ने संयन्त्र नै नहुनु दूर्भाग्य भएको बताउँछन् । उनी भन्छन्, ‘प्राइभेसी पोलिसी र सहमतिको नाममा जस्तोसुकै डेटा संकलन गर्न पाइन्छ भन्ने छूट हुँदैन ।’

साइबर दुनियाँमा व्यक्तिगत गोपनीयतको विषयमा विभिन्न किसिमको मतमतान्तर कायम छन् । अन्तर्राष्ट्रिय रुपमै चर्को बहशको विषयको रुपमा रहेको सन्दर्भमा व्यक्तिगत सूचना तथा जानकारी संकलन गरिरहेका एप तथा सफ्टवेयरले त्यस्ता डेटा सुरक्षा गर्न नसकेको तथा बिक्री गरेको जस्ता विषय दिनहुँ चर्चाका विषय बन्दै आएका छन् । यस्तोमा डेटा सुरक्षा सरोकारको विषयले नेपाली वृत्तमा समेत बहशको अवस्था सिर्जना हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१