close

मोबाइल ब्याट्रीबारे जान्नैपर्ने ६ तथ्य

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ १३:७

मोबाइल ब्याट्रीबारे जान्नैपर्ने ६ तथ्य

काठमाडौं । फोन किन्दा ब्याट्री ब्याकअप सधैं तपाईको चासोको विषय हुन्छ । स्क्रीन साइजपछि हामीले ध्यान दिने कुरा भनेको ब्याट्री लाइफ नै हो । 

अहिले फास्ट चार्जिङ एडप्टर  प्याकेजिङ एउटा ट्रेन्ड जस्तो भइसकेको छ । सामसङ, ह्वावे, गूगल, वान प्लस र एप्पल सबै हाई एण्ड फोनहरुले यही अभ्यास गरिरहेका छन् । 

ब्याट्री लाइफमा सबैको चासो हुने हुँदा अहिले सबै कम्पनीहरुले फास्ट चार्जिङ निर्माण गरिरहेका छन् । यदि ब्याट्री एकदिन पनि टिक्दैन भने तुरुन्तैको रिचार्जिङ एउटा राम्रो उपाय हुनसक्छ । 

अहिले फास्ट चार्जिङ सर्वत्र उपलब्ध छ । यसैबीच सबैको मनमा केही प्रश्न उठ्न सक्छन्, उच्च क्षमताको चार्जरले फोनको ब्याट्रीलाई कस्तो असर पुर्‍याउँछ ? फास्ट चार्जिङले फोनको शक्ति सञ्चित गर्ने क्षमतालाई पछि गएर असर त पार्दैन ?

यससँगै उब्जिने अर्को प्रश्न के कुराले तपाईंको फोनको ब्याट्रीलाई क्षति पुर्‍याउन सक्छ ?  सीनेटले केही ब्याट्री अनुसन्धानकर्ता तथा इन्जिनियरहरुसँग फोनको ब्याट्री लाइफलाई फास्ट चार्जिङले कस्तो असर पार्छ भन्ने विषयमा कुराकानी  गरेको छ । 

१. ब्याट्री प्रविधि चाँडै परिवर्तन हुँदैन 

सबै मोबाइल फोन तथा विद्युतीय सवारीसाधनहरुमा लिथियम आयन रिचार्जेबल ब्याट्री प्रयोग गरिएको हुन्छ । किफायती ब्याट्री बनाउनु एकदमै अप्ठ्यारो काम हो ।

किनभने ब्याट्री प्रविधि दशकाैंसम्म पनि परिवर्तन भएको छैन । ब्याट्रीमा जति पनि पछिल्ला प्रगतिहरु देखिएका छन्, ती सबै पावर सेभिङ फिचरमा भएको अपग्रेडको कारणले मात्रै संभव हो ।

ब्याट्रीको आयू विस्तार गर्ने ध्यान दूर्भाग्यवश अहिलेसम्म मोबाइल फोनमा पर्न सकेको छैन । कार, स्याटेलाइट र घरमा प्रयोग हुने पावर सिस्टममा ब्याट्री लाइफ विस्तार गर्न विभिन्न समयमा नवीन खोज तथा विकासहरु गरिएका छन् । 

हाम्रो ब्याट्री लाइफलाई प्रभावित पार्ने अर्को तत्व त्यसको आकार पनि हो । विद्युतीय कारको ब्याट्रीको आकारको तुलनामा फोनको ब्याट्रीको आकार एकदमै सानो हुन्छ । उदाहरणका लागि टेस्ला थ्रीको रिचार्जेबल ब्याट्रीको क्षमता आईफोन इलाभेन प्रो म्याक्सको तुलनामा चार हजार गुणा ठूलो हुन्छ । 

ब्याट्रीको गणित अलिक जटिल हुन्छ । फोनको ब्याट्री मिलियम प्रति घण्टामा मापन हुन्छ भने विद्युतीय सवारीसाधनहरुको ब्याट्री वाट प्रति घण्टामा गणना हुन्छ । तर यी दुई एकाईबीच समानता ल्याउन सकिन्छ ।

उदाहरणका लागि पिक्सेल फोर स्मार्टफोनमा २८०० एमएएचको ब्याट्री छ । वाटको एकाईमा लैजाँदा त्यो १०.६ वाट हुन्छ । यस्तै आईफोन इलाभेन प्रो म्याक्समा ३,९६९ एमएएचको ब्याट्री रहेको छ ।

जुन वाटमा १५.०४ वाट हुन्छ । अर्को तर्फ सेभी गाडीले १८ हजार ४०० वाटको ब्याट्री प्रयोग गर्छ । मिड रेन्ज टेस्ला मोडल थ्रीले ६२ हजार वाटको ब्याट्री प्रयोग गर्छ ।

ब्याट्रीको आकार जति ठूलो हुन्छ, ब्याट्री सेभ गर्न तरिकामा पनि त्यसमा धेरै हुन्छ । उदाहरणका लागि तपाईं जब ब्याट्री चार्ज गर्नुहुन्छ, तब भोल्टेज बढ्दै जान्छ ।

२० प्रतिशत चार्ज हुन बाँकी रहँदा फोनमा प्रेसर बढ्छ । यो प्रेसरलाई कम गर्न विद्युतीय कार निर्माताहरुले नयाँ ब्याट्री ८० प्रतिशतसम्म मात्रै चार्ज गर्ने गर्छन् ।

ब्याट्रीमा जति कम भोल्टेज प्रेसर भयो ब्याट्री लाइफ त्यति नै धेरै टिक्न सक्छ । अहिले मोबाइल फोन ब्याट्री प्रविधिमा भइरहेको सुधार भनेकै फोनलाई ऊर्जा मितव्ययी बनाइँदैछ ।

२‍. फास्ट चार्जिङले ब्याट्रीमा क्षति पुर्‍याउँदैन 

पुराना चार्जरहरुमा पाँच देखि दश वाटसम्मको आउटपुट हुन्छ । फास्ट चार्जरले त्यसको तुलनामा आठ गुणा छिटो र धेरै काम गर्न सक्छ ।

उदारहणका लागि आईफोन इलाभेन प्रो र प्रो म्याक्समा १८ वाटको फास्ट चार्जर पाउन सकिन्छ । ग्यालेक्सी नोट टेन र  नोट टेन प्लसमा २५ वाटको फास्ट चार्जर प्रयोग गरिएको छ । सामसङले ५० डलरमा अतिरीक्त स्पीड सहित ४५ वाटको चार्जर उपलब्ध गराउँदै आएको छ ।

तपाईंको मोबाइल फोन र चार्जरमा प्राविधिक त्रुटि छैन भने फास्ट चार्जरले तपाईंको फोनको ब्याट्रीलाई कुनै किसिमको दीर्घकालिन असर पुर्‍याउँदैन ।  

फास्ट चार्जिङ ब्याट्रीले दुई चरणमा काम गर्छ । पहिलो चरण भनेको यसले खाली ब्याट्रीमा एकैपटक धेरै ठूलो भोल्ट दिन्छ । दशदेखि ३० मिनेटको समयावधिमा तपाईंको खाली ब्याट्री ५० देखि ७० प्रतिशतसम्म चार्ज हुन्छ ।

पहिलो चरणमा ब्याट्रीले ठूलो मात्रामा भोल्ट ग्रहण गर्नसक्छ । यसकारण चार्ज गर्दा ब्याट्री लाइफमा कुनै किसिमको नकरात्मक असर पर्दैन । 

यस्तै दोस्रो चरणमा भने चार्जिङ स्पीड स्लो डाउन हुनपुग्छ । यस्तो बेलामा मोबाइल निर्माता कम्पनीले चार्जिङ स्पीडलाई कत्तिको होशियारीपूर्वक व्यवस्थापन गरेको छ भन्ने कुरा अर्थपूर्ण हुन्छ । त्यसैले दोस्रो चरणमा फास्ट चार्जरले फोनको ब्याट्रीलाई बिगार्न सक्छ ।

३. फोनको ब्याट्री ओभर चार्ज नगर्नुहोस् 

फोन ओभर चार्ज गर्दा यसले ब्याट्री लाइफमा नकारात्मक असर पार्छ । ब्याट्रीको क्षमताभन्दा धेरै समय चार्ज गरेमा ब्याट्री अस्थिर हुन पुग्छ ।

ब्याट्रीमा आन्तरिक ताप बढ्छ । जसकारण ब्याट्रीमा आगो लाग्न पनि सक्छ । ब्याट्रीको लाइफमा असर पुग्न सक्छ ।

एकजना ब्याट्री विज्ञका अनुसार ब्याट्री म्यानेजमेन्ट सिस्टमलाई यसरी बनाइएको हुन्छ, जब ब्याट्री शत प्रतिशत चार्ज हुन्छ, तब ओभर चार्जबाट बचाउन चार्ज आफै बन्द हुन्छ । 

एप्पलले यो समस्यालाई बुद्धिमत्तापूर्ण किसिमले सम्बोधन गरेको छ । उसको आईफोन आईओएस थर्टिन सफ्टवेयरमा फोनको ब्याट्रीमा कुनै दीर्घकालिन क्षति नपुर्‍याई सय प्रतिशतसम्म चार्ज हुने सुविधा रहेको छ ।

४. ब्याट्रीको चार्ज शून्यमा पुग्न नदिनुहोस् 

कहिलेकाँही तपाईं यति धेरै लापरवाही गरेर फोनको ब्याट्रीलाई शून्यमा झार्नुहुन्छ । यसरी ब्याट्रीलाई शून्य प्रतिशतमा झार्दा यसले केमिकल रिएक्सन गराउँछ र ब्याट्री लाइफ कम भएर जान्छ ।

ब्याट्री पूर्णरुपमा रित्तिनबाट जोगाउन ब्याट्रीको म्यानेजमेन्ट सिस्टममा एउटा सुरक्षा फिचर छ  । यसले जब फोन रित्तिनुभन्दा केही माथि एनर्जी अर्थात किफायती स्तरमा हुन्छ त्यतिखेर शून्यमा पुग्नबाट बचाउन यसले फोनलाई पावर डाउन गरिदिन्छ ।

यदि फोनको ब्याट्री लाइफलाई बचाउन तपाईं अझ सक्रिय कदम चाल्न चाहनुहुन्छ भने फोनको ब्याट्री  ३० प्रतिशतमा झर्नु अघि नै फोन चार्ज गर्नुहोस् । 

५. उच्च तापमानले पनि ब्याट्रीलाई क्षति पुर्‍याउन सक्छ 

ब्याट्रीको सबैभन्दा ठूलो शत्रु हो तातोपना । उच्च तापमानले ब्याट्री लाइफलाई घटाइदिन्छ । यसकारण आफ्नो फोनलाई सधै तातो घामबाट जोगाउनुहोस् ।

घामको किरण पर्ने झ्यालमा नराख्नुहोस् र गाडीको ड्यासबोर्डमा कहिल्यै पनि फोन नराख्नुहोस् । कतिपय अवस्थामा ब्याट्री धेरै तात्यो भने पड्किन पनि सक्छ ।

 ब्याट्रीको तापमान ८६ डिग्री फरेनहाइट पुग्दा यसको प्रभावकारिता घटाउन सक्छ ।

घाममा हिडेँको समयमा सधैं फोनलाई गोजीमा राख्नुहोस् या त झोला भित्र राख्नुहोस् र सकेसम्म फोनसँगै झोलामा चिसो पानीको बोतल पनि राख्ने गर्नुहोस् ।

६. अरु चार्जर र केबलले ब्याट्रीमा क्षति पुर्‍याउन सक्छ

तपाईंले खराब चार्जर तथा केबलहरु प्रयोग गर्नुभएको छैन भने साइज नमिल्ने केबल वा चार्जरले तपाईंको ब्याट्रीलाई कुनै हानी गर्दैन । तपाईंलाई अरुको चार्जरले आफ्नै फोन किटसँगै प्राप्त चार्जरले जसरी छिटो चार्ज गर्न सक्दैन ।

ह्वावे र वानप्लस जस्ता फोनहरुको आफ्नै चार्जिङ डिजाइन छ । यस्ता चार्जरहरुले छिटो चार्ज गर्न सक्छन् । तर यसमा मिल्ने केबल पाउन कठिन हुन्छ ।

तर एप्पल सामसङ जस्ता कम्पनीहरुले भने फास्ट चार्जिङका लागि इन्डस्ट्री स्ट्याण्डर्डको पालना गरी फास्ट चार्जिङ निर्माण गर्छन् ।

जसमा मिल्ने केबल र चार्जहरु पनि धेरै हुन्छन् । सबैभन्दा सुरक्षित र राम्रो उपाय भनेको आफ्नै फोनमा आएको चार्जर मात्र प्रयोग गर्नु हो ।

७. अन्य उपाय

फोनको ब्याट्रीलाई लामो जीवन दिन धेरै इनर्जी सेभिङका तरिकाहरु छन्, जसले तपाईंको ब्याट्रीको पावरलाई जोगाउन मद्दत गर्छन् ।

जस्तै फोनको डिस्प्लेलाई डिम गर्नुहोस्, वाईफाई र ब्लुटुथ टर्न अफ गर्नुहोस् । सेटिङबाट रेस्ट्रिक्सन डेटा ब्याकग्राउण्ड एक्टिभेट गर्नुहोस् र जीपीएस प्रयोग गर्ने एपहरु पनि टर्न अफ गर्नुहोस् ।

मोबाइलको ब्याट्री जोगाउने टिप्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१