close

करीब ६७ करोडले घट्यो टेलिकमको आम्दानी, यस्तो छ कारण

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ १४:२१

करीब ६७ करोडले घट्यो टेलिकमको आम्दानी, यस्तो छ कारण

काठमाडौं । सरकारी स्वामित्वको दूरुसञ्चार कम्पनी नेपाल टेलिकमको आम्दानीकरीब ६७ करोड रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आम्दानी गत वर्षको तुलनामा ६६ करोड ९४ लाख ३० हजार रुपैयाँले कमी आएको हो ।

गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीले २७ अर्ब ५० करोड ६० लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो । भर्खरै सार्वजनिक तेस्रो त्रैमासिक प्रतिवेदनमा यस वर्षको सोही अवधीमा कम्पनीको कूल सेवा वापतको आम्दानी २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रुपैयाँ मात्र छ ।

कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको साटो डिस्काउण्ट दिन सुरु गरिएको र कोरोना भाइरसको महामारीले गर्दा आम्दानी घटेको बताएको छ । कूल बिक्रीलाई हिसाब गरिसकेपछि कमिसन प्रदान गरिँदै आएकोमा डिस्काउन्ट सुरुमै दिँदा समेत सेवा वापतको आय घटेको उसको जवाफ छ ।

कम्पनीका अनुसार चालु आवको तेस्रो त्रैमासिकसम्म डिस्काउन्ट रकम ५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ । यो रकम समेतको हिसाव गर्दा गत वर्षको तुलनामा आम्दानी १ करोड रुपैयाँले बढी हुने कम्पनीको दाबी छ ।

त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चत ११ देखि घोषणा गरिएको लकडाउनका कारणले समेत कम्पनीको चैत महिनाको राजस्वमा नकारात्मक असर परेको हो ।
टेलिकमले गएको चैतमा मात्रै बोनस र छूट बापत कूल ६६ करोड ९० लाख रुपैयाँ बराबरको उपलब्ध गराएको छ ।

कोरोना भाइरसको महामारीका कारण सुरु भएको लकडाउनमा आफ्ना प्रयोगकर्ताको सहजताका लागि कम्पनीले राहत स्वरुप बोनस र छूट उपलब्ध गराउन थालेको हो । कम्पनीले चैतमसान्त सम्म टपअपमा शत प्रतिशत बोनस स्वरुप ५३ करोड ४० लाख रुपैयाँ बराबर वितरण गरिएको जनाएको छ ।

सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३० लाख रुपैयाँ व्यालेन्स उपलब्ध गराइएको छ । मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छूटको रुपमा ८ करोड २० लाख रुपैयाँको योगदान पुर्‍याएको छ ।

यसबाहेक कम्पनीले कोरोनाभाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान समेत गरेको छ ।

यस बाहेक विदेशी विनिमयदरमा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धिको असर समेत कम्पनीको आम्दानीमा परेको छ ।

यसैगरी नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न जाँदा मुनाफामा असर परेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१